दोहा । राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान-ए ले चिरप्रतिद्वन्द्वी भारत-ए लाई ४८ रनले पराजित गरेको छ । दोहामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.२ ओभरमा ३१३ रन बनाएर अलआउट भएको थियो । जवाफमा उत्रिएको भारतीय टोलीले ४९.१ ओभरमा २६५ रनमात्र बनाउन सक्यो । जितसँगै पाकिस्तानले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ७९, माज सदाकतले ५९ र फरहान युसुफले ५६ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै टिमलाई बलियो स्थितिमा पुर्याउनुभएको थियो । एक समय ३५० रनभन्दा बढीको योगफल बनाउने देखाइरहेको पाकिस्तानलाई भारतीय बलरहरूले केही दबाबमा ल्याए पनि उनीहरू ३१३ रन बनाउन सफल भए । भारतका लागि हर्षित राणा, विप्रज निगम, प्रिंस यादव र सूर्यांश शेडगेले समान दुई-दुई विकेट हात पार्नुभयो । ३१४ रनको लक्ष्य पछ्याउनेक्रममा भारतीय कप्तान तिलक बर्माले १४९ बलमा १०० रनको शतकीय पारी खेले पनि टिमलाई जिताउन सक्नुभएन । यसैगरी अभिषेक शर्माले ७० र शाहबाज अहमदले ५६ रन बनाए पनि अन्य बलरहरूको खराब प्रदर्शनका कारण भारत लक्ष्यसम्म पुग्न असफल भयो । वैभव सूर्यवंशी (११), रिंकु सिंह (६) र कुमार कुशाग्र (२) सस्तैमा आउट हुँदा आयुष बदोनीले खाता खोल्नै सक्नुभएन । पाकिस्तानका हसन नवाज र अली रजाले तीन-तीन विकेट लिँदै भारतीय ब्याटिङ लाइनअपलाई ध्वस्त पार्नुभयो । जितसँगै पाकिस्तान समूह-बीको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपाललाई ३०६ रनले हराएर सानदार सुरुवात गरेको भारत पाकिस्तानसँग पराजित हुँदा ठूलो झड्का लागेको छ । नेपालले भने पहिलो खेलमा भारतसँग लज्जास्पद हार बेहोरे पनि त्यसपछिको खेलमा युएईलाई ६ विकेटले हराउँदै प्रतियोगितामा पुनरागमन गरिसकेको छ । एजेन्सी
राइजिङ स्टार्स एसिया कप क्रिकेट

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






