Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/यी हुन् आज दिनभरका प्रमुख २० समाचार

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
यी हुन् आज दिनभरका प्रमुख २० समाचार

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधनका लागि आन्दोलनरत विभिन्न पक्षसँग आफूले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, शिक्षा तथा खेलकुद मन्त्री, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहित बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वयका साथ समयमै टुङ्ग्याउने निर्णय गरेको हो । साथै, बैठकमा हालसम्म कार्यान्वयनमा आएका सहमतिबारे समीक्षासमेत गरिएको थियो । वर्तमान सरकारले विगतमा विभिन्न पक्षसँग भएका सहमतिहरुको नियमित समीक्षा गर्ने योजना बमोजिम यो बैठक आयोजना गरिएको हो । २- स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा बुधबार दुई तीव्रगतिको रेल ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४ पुगेको छ । स्पेनको कास्टिला–ला मन्चा क्षेत्रीय सरकारले रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको पुष्टि गरेको हो । स्पेनको सार्वजनिक प्रसारण संस्था आरटीभीईका अनुसार उर्दा नजिकै निजी रेल कम्पनी इर्योको रेलका दुई डिब्बा लिकबाट खसेर रेलमार्गको भिरबाट तल खसेका थिए । अर्को रेल सरकारी स्वामित्वको रेन्फे कम्पनीको रहेको थियो । दुर्घटनापछि म्याड्रिड र दक्षिणी अन्डालुसिया क्षेत्रबीच दुवैतर्फको रेल सेवा स्थगित गरिएको रेल पूर्वाधार सञ्चालक एडिफले जनाएको छ । ३- उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गरेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा निर्वाचन आयोग पुगेको टोलीले प्रमुख निर्वाचन आयुक्तसमक्ष दुई विषय समेटिएको ज्ञापनपत्र बुझाएको हो । पार्टीले स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र राजनीतिक भागबन्डाको केन्द्र नभई जनसेवा, सुशासन र स्थानीय विकासको माध्यम बनाउनुपर्ने जनाएको छ । स्थानीय तहको नेतृत्व चयन गर्दा दलीय आबद्धताभन्दा उम्मेदवारको योग्यता, इमानदारी, क्षमता, कार्ययोजना र जनताप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने उसको धारणा छ । त्यस्तै, रोजगारी, अध्ययन तथा व्यवसायका कारण विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न पार्टीले माग गरेको छ । विदेशमा रहेका नेपालीलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउन सरल, सुरक्षित र कम खर्चिलो मतदान प्रणाली आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले विदेशमा रहेका नेपालीको मतदान अधिकार कार्यान्वयनका लागि उपयुक्त मतदान प्रणालीबारे आयोगले अध्ययन गरिरहेको जानकारी दिएको घिसिङले बताएका छन् । निर्वाचन सुधारका लागि सरकार, निर्वाचन आयोग र राजनीतिक दलबीच व्यापक छलफल, सहमति र समन्वय आवश्यक रहेको धारणा पनि आयोगका तर्फबाट व्यक्त गरिएको उनले उल्लेख गरेका छन् । ४- राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी निकायका वेबसाइट सुरक्षित बनाउन वैध एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको केन्द्रले बुधबार संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश मन्त्रालय तथा स्थानीय तहलाई पत्राचार गर्दै वेबसाइटको सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको हो । केन्द्रका अनुसार सरकारी वेबसाइटमा प्रयोगकर्ताको विवरण सुरक्षित राख्न, गोपनीयता कायम गर्न र तथ्याङ्क आदानप्रदानलाई सुरक्षित बनाउन वैध एसएसएल/टीएलएस प्रमाणपत्र आवश्यक छ। वेबसाइटमा टीएलएस १.२ वा टीएलएस १.३ प्रोटोकल प्रयोग गरी सुरक्षित माध्यमबाट मात्रै सञ्चालन हुने व्यवस्था मिलाउन भनिएको छ । निर्देशनमा सबै वेबसाइटमा प्रयोग भइरहेका एसएसएल/टीएलएस प्रमाणपत्रको वैधता तत्काल जाँच गर्न र प्रमाणपत्र नभएका वा म्याद सकिएका वेबसाइटमा आधिकारिक तथा विश्वसनीय निकायबाट जारी प्रमाणपत्र जडान गर्न भनिएको छ । साथै, पुराना तथा असुरक्षित एसएसएल र टीएलएस १.० तथा १.१ प्रोटोकल पूर्ण रूपमा बन्द गर्न आग्रह गरिएको छ । केन्द्रले प्रमाणपत्रको म्याद सकिनुअघि नियमित नवीकरण गर्ने व्यवस्था मिलाउन र वेबसाइटको सुरक्षा कमजोरीबाट हुन सक्ने साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्न अन्य सुरक्षा मापदण्डसमेत उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ । ५- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका,गर्भवती तथा सुत्केरी महिला,मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ । विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता,उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो। विभागले इनर्जी ड्रिंक्स सेवन गर्न मिल्ने व्यक्तिलाई समेत एक दिनमा दुई क्यानभन्दा बढी सेवन नगर्न सुझाव दिएको छ । विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन् । उत्पादनको लेबल विवरण र प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार प्रतिक्यान १०० मिलिग्राम क्याफिन प्रयोग गरिएको पाइएको छ । युरोपेली खाद्य सुरक्षा प्राधिकरण (ईएफएसए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (यूएसएफडीए) लगायतका संस्थाले स्वस्थ वयस्कका लागि सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने कुल क्याफिनको मात्रा दैनिक ४०० मिलिग्रामभन्दा बढी नहुने गरी सेवन गर्न सकिने वैज्ञानिक आधार प्रस्तुत गरेका छन् । विभागले नेपालमा उत्पादित इनर्जी ड्रिंक्समा प्रयोग गरिएको क्याफिनको मात्रा उक्त दैनिक सीमाको २५ प्रतिशतभन्दा कम रहेको जनाएको छ । विभागले इनर्जी ड्रिंक्सलाई पानी,जुस,दूध,मोहीलगायतका पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि अनुरोध गरेको छ ।त्यस्तै,उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न र उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी सन्देश तथा सुरक्षित उपभोगसम्बन्धी जानकारी स्पष्ट रूपमा सम्प्रेषण गर्न आग्रह गरिएको छ । खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने कार्यलाई प्राथमिकतामा राख्दै विभागले वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा खाद्य पदार्थको गुणस्तरसम्बन्धी विषयमा जानकारी सम्प्रेषण गर्न सरोकारवालालाई अनुरोध गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ । ६- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको विकल्प नरहेको बताएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले आन्दोलनका लागि मानसिक रूपमा तयार रहन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् । उनले भने- यो अवस्थाबाट देशलाई पार लगाउन आन्दोलन गर्नुपर्ने अवस्था छ । आन्दोलनले नै शक्ति आर्जन गर्छ । यति अप्ठ्यारो असहज अवस्था छ, त्यसमा आन्दोलन बाहेक अर्को कुराबाट अगाडी जान खोज्यौं भने आन्दोलन गर्ने आँट गरेनौं भने हामी सफल हुन सक्दैनौं । आन्दोलनले टिकाउने हो, आन्दोलनले अगाडी बढाउने हो, आन्दोलनले जिताउने हो ।’ ओलीले सरकारले देशमा आतंक फैलाउने र विनाबर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने जस्ता अराजक काम गरिरहेको आरोप लगाए । साथै उनले मोबाइल फार्मिंगबाट सरकार चलिरहेको आरोप लगाउदै विदेशी शक्तिबाट सरकार परिचालित भएको बताए । उनले पार्टीभित्र देखिने विकृत प्रवृत्ति, अराजकता र अनुशासनहीनता सह्य नहुने उल्लेख गर्दै यसको अन्त्य हुनुपर्ने र पार्टी भित्र अब गुटगत कुरा स्वीकार्य नहुने बताए । ७- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेको छ । भन्सार विभागको साउन, भदौ र असोज महिनाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवै बढेका छन् । तर निर्यातको तुलनामा आयातको आकार ठूलो रहेकाले व्यापार घाटासमेत बढेको छ । विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको आयात भएको थियो । यससँगै आयात ३८.१८ प्रतिशतले बढेको छ । यस अवधिमा निर्यात ५७.०३ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा ७२ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको थियो । आयातभन्दा निर्यातको वृद्धिदर उच्च देखिए पनि कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १५.०२ प्रतिशत मात्रै रहेको छ । आयात र निर्यातबीचको अन्तर अर्थात् व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ थियो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८४.९८ प्रतिशत रहेको छ भने आयात–निर्यात अनुपात ६.४३ बाट घटेर ५.६६ मा झरेको छ । यसले निर्यातको वृद्धिदर बढे पनि नेपालको वैदेशिक व्यापारमा आयातको प्रभुत्व कायम रहेको देखाउछ । ८- इजरायलमा निर्वाचनको अन्तिम नतिजामा दोहोरो खाममा खसालिएका मतले महत्त्वपूर्ण प्रभाव पार्न सक्ने देखिएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार करिब ६ लाख यस्ता मतपत्र रहेको अनुमान छ, जुन सन् २०२२ को निर्वाचनको तुलनामा उल्लेख्य बढी हो । यी मतको गणना शुक्रबारसम्म पूरा हुन सक्ने बताइएको छ । इजरायलको संसद्को प्रत्येक सिटका लागि करिब ४० हजार मत आवश्यक पर्ने अनुमान गरिएकाले अनुपस्थित मतदाताका मतले दलहरूको सिट सङ्ख्यामा परिवर्तन ल्याउन सक्छन् । यस्ता मतमध्ये अधिकांश इजरायली रक्षा बलमा कार्यरत सैनिकका हुन् । यसबाहेक कैदी, स्वास्थ्यकर्मी, स्वास्थ्य समस्याका कारण मतदान केन्द्र पुग्न नसक्ने व्यक्ति र विदेशस्थित इजरायली प्रतिनिधिहरूका मत पनि यसमा समावेश छन् । परम्परागत रूपमा दोहोरो खाममा खसालिएका मत अरब र हरेदी दलको पक्षमा कम पर्ने गरेका छन् । यसपटक ठूलो सङ्ख्यामा रिजर्भ सैनिक परिचालन भएकाले उनीहरूको राजनीतिक झुकावका आधारमा अन्तिम नतिजाको अनुमान गर्न कठिन भएको छ । केही सञ्चारमाध्यमले अन्तिम मतगणनापछि अरब दलको सिट सङ्ख्या घट्न सक्ने आकलन गरेका छन् । उच्च मतदानका कारण अपेक्षा गरिएभन्दा बढी अनुपस्थित मतपत्र हुन सक्ने कार्यवाहक केन्द्रीय निर्वाचन समिति निर्देशक डिन लिभ्नेले बताएका छन् । यसले मतगणना सम्पन्न हुन ढिलाइ हुन सक्ने जनाइएको छ । दोहोरो खामको व्यवस्था आफ्नो नाम दर्ता भएको मतदान केन्द्रमा पुग्न नसक्ने नागरिकलाई मतदानको अवसर दिन बनाइएको हो । यसले दोहोरो मतदान रोक्नुका साथै मतदाताको गोपनीयता कायम राख्छ । यस प्रणालीमा मतदाताले मतपत्रलाई सामान्य खाममा राख्छन् र उक्त खामलाई आफ्नो व्यक्तिगत विवरण उल्लेख गरिएको अर्को खामभित्र राखेर पठाइन्छ । केन्द्रीय निर्वाचन समितिले मतदाताले आफ्नो नियमित मतदान केन्द्रमा पनि मत खसालेको छ वा छैन भनेर जाँच गर्छ । प्रमाणीकरण पूरा भएपछि व्यक्तिगत विवरण भएको बाहिरी खामबाट मतपत्रको खाम अलग गरिन्छ र गणनाका लागि पठाइन्छ । सैनिक तथा रिजर्भ सैनिकबाहेक अस्पतालमा उपचाररत बिरामी, कैदी, प्रहरी, विदेशस्थित इजरायली प्रतिनिधि र कानुनी मापदण्ड पूरा गरेका अपाङ्गता भएका व्यक्तिले पनि यो प्रणालीबाट मतदान गर्न सक्ने व्यवस्था गरिएको छ । ९- नेप्सेमा आज वृद्धि भएको छ । आज बुधबार नेप्से ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बुटवल पावरको शेयर १०.६० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी प्राइम डिभेन्चरको शेयर २.९६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी लिबर्टी इनर्जीको ३२ करोड ५० लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २८ करोड २६ लाख बराबरको कारोबार भएको छ । १०- सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ । कात्तिक १३ गतेसम्म सञ्चालन हुने बैठकमा सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र दुई देशका सुरक्षा निकायबीच समन्वय तथा सहकार्य अभिवृद्धिका विषयमा छलफल हुनेछ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व एसएसबीका महानिर्देशक सञ्जय सिंघलले गरेका छन् । दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित विभागका प्रतिनिधिहरू सहभागी छन् । बैठकमा मानव तस्करी, लागूऔषध तथा अवैध हातहतियारको ओसारपसार नियन्त्रण, दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण तथा मर्मतसम्भार र सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने विषयमा छलफल हुनेछ । त्यस्तै, खुला सीमाबाट तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराधबारे सूचना आदानप्रदान, आधुनिक प्रविधिको प्रयोग तथा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यमा संयुक्त सहकार्य बढाउने विषय पनि बैठकको कार्यसूचीमा छन् । सीमावर्ती नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने, यात्रु सहायता कक्ष थप गर्ने तथा दुवै सुरक्षा निकायबीच क्षमता अभिवृद्धि र संस्थागत सहयोग बढाउने विषयमा समेत छलफल हुने जनाइएको छ । बैठकले नेपाल–भारत सीमामा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न दुई देशका सुरक्षा निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । ११- मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १३ वटा खानेपानी योजनाको डीपीआर निर्माणका लागि खरिद कानुनविपरीत प्याकेज बनाइएको, नक्कली मूल्याङ्कन समिति र प्रतिवेदन तयार गरिएको तथा झुट्टा बिलका आधारमा भुक्तानी दिइएको अनुसन्धानबाट खुलेको छ । मुद्दामा कार्यालयका तत्कालीन प्रमुख राजीव रिमाल, तत्कालीन लेखापाल रूनबहादुर सेजुवाल र एलाइड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढालाई प्रतिवादी बनाइएको छ । आयोगले उनीहरूबाट ३९ लाख ४० हजार ३०९ रुपैयाँ बिगो कायम गरी बिगोबराबर जरिवाना, कैद र बिगो असुलउपर गर्न मागदाबी गरेको छ । साथै, परामर्शदाता कम्पनीलाई समेत कानुनअनुसार सजाय गर्न माग गरिएको छ । १२- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको सरकारको आगामी राजनीतिक शक्ति र नीतिगत प्रभाव कस्तो रहने भन्ने निर्धारण गर्ने मध्यावधि निर्वाचनको तयारी पूरा भएको छ । नोभेम्बर ३ मा हुने निर्वाचनमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच प्रतिस्पर्धा हुँदैछ । यस निर्वाचनले राष्ट्रपति ट्रम्पको पदलाई प्रत्यक्ष असर नगरे पनि उनको बाँकी दुई वर्षको कार्यकालमा संसद्बाट नीति, कानुन र बजेट पारित गराउने क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्नेछ । अमेरिकामा राष्ट्रपतिको निर्वाचन प्रत्येक चार वर्षमा हुन्छ भने राष्ट्रपतिको कार्यकालको मध्यबिन्दुमा हुने निर्वाचनलाई मध्यावधि निर्वाचन भनिन्छ । यसमा संसद्का दुवै सदन प्रतिनिधिसभा र सिनेटको नियन्त्रणका लागि प्रतिस्पर्धा हुन्छ । प्रतिनिधिसभाका सबै ४३५ सदस्यका लागि निर्वाचन हुन्छ भने १०० सदस्यीय सिनेटका करिब एकतिहाइ अर्थात् ३५ सिटमा मतदान हुन्छ । यसबाहेक अमेरिकाका ५० राज्यमध्ये ३६ राज्यमा गभर्नर, राज्यका विधायिका तथा स्थानीय पदाधिकारी चयनका लागि पनि निर्वाचन हुँदैछ । यस निर्वाचनमा करिब २१ करोड मतदाता सहभागी हुने अपेक्षा गरिएको छ । दुई वर्षअघि राष्ट्रपतीय निर्वाचन जितेसँगै रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा पनि सामान्य बहुमत प्राप्त गरेको थियो । त्यसैले ट्रम्प प्रशासनलाई आफ्ना नीतिगत योजना अघि बढाउन सहज भएको थियो । तर, मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एक सदनको बहुमत गुमाएमा ट्रम्पका आर्थिक नीति, बजेट प्रस्ताव र घरेलु कार्यक्रम प्रभावित हुन सक्छन् । विपक्षी दलको नियन्त्रणमा संसद् पुगेमा सरकारी निर्णयमाथि छानबिन बढ्नुका साथै विधेयक पारित गर्न राजनीतिक सहमति जुटाउनुपर्ने अवस्था आउन सक्छ । डेमोक्रेटिक पार्टीका लागि भने संसद्का कम्तीमा एक सदनमा बहुमत हासिल गर्नु प्रमुख लक्ष्य बनेको छ । प्रतिनिधिसभामा बहुमत प्राप्त गरेमा उसले ट्रम्प प्रशासनका निर्णय, सरकारी खर्च र भ्रष्टाचारका आरोपबारे संसदीय छानबिन अघि बढाउन सक्छ । प्रतिनिधिसभालाई राष्ट्रपतिविरुद्ध महाभियोग प्रक्रिया सुरु गर्ने अधिकार छ । तर, राष्ट्रपतिलाई पदबाट हटाउन सिनेटमा दुईतिहाइ बहुमत आवश्यक पर्छ । सिनेटमा नियन्त्रण प्राप्त गरेमा डेमोक्रेटिक पार्टीले राष्ट्रपतिबाट प्रस्तावित न्यायाधीश, मन्त्री तथा अन्य उच्च अधिकारीको नियुक्तिमा समेत प्रभाव पार्न सक्छ । मध्यावधि निर्वाचनको परिणामले अमेरिकी सरकारका विभिन्न निकायबीचको शक्ति सन्तुलनमा परिवर्तन ल्याउन सक्छ । संसद् र राष्ट्रपति फरक दलको नियन्त्रणमा पुगेमा बजेट तथा सरकारी खर्चसम्बन्धी विषयमा विवाद बढेर सरकारी कामकाजसमेत प्रभावित हुन सक्छ । यद्यपि, संसद्ले पारित गरेका विधेयकमा राष्ट्रपतिसँग निषेधाधिकार प्रयोग गर्ने अधिकार कायम रहन्छ । त्यसैले निर्वाचनले ट्रम्पको राष्ट्रपतीय पदलाई प्रत्यक्ष चुनौती नदिए पनि उनको बाँकी कार्यकालमा नीतिगत निर्णय कार्यान्वयन गर्ने स्वतन्त्रता, संसदीय निगरानी र राजनीतिक प्रभावको दिशा निर्धारण गर्नेछ । १३- पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ । प्रतिकूल मौसमका कारण पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले विभागले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र त्यहाँ पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेरेर मात्र यात्रा योजना बनाउन आग्रह गरिएको छ । यसैबीच, खुम्बु, मनाङलगायतका हिमाली क्षेत्र तथा काठमाडौँ र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या (एक्युट माउन्टेन सिकनेस) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन पर्यटन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ। प्रतिकूल मौसममा यात्रुको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनसमेत विभागले आग्रह गरेको छ । १४- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध किर्ते मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्न प्रयोग गरिएका विवादित पत्र र कागजातमा किर्ते तथा जालसाजी गरिएको दाबी गर्दै मंगलबार जिल्ला अदालत दाङमा मुद्दा दायर गरेकी हुन् । सांसद काफ्लेले जिल्ला अदालत दाङमा दायर गरेको फिराद पत्रमा सभामुख घर्ती मगरसहित प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका प्रदेशसभा सदस्य भनिएका सन्तोष पाण्डेय र पार्टीको लेटरहेड प्रयोग गरी विवादित पत्राचार गरेको आरोप लागेका अजयकुमार झालाई विपक्षी बनाइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा दलको निर्देशन उल्लङ्घन गरेको आरोपमा यसअघि काफ्लेमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको थियो । जसपा नेपाल संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयको सिफारिसका आधारमा प्रदेशसभा सचिवालयले उनको पद रिक्त भएको सूचना जारी गरेको थियो । यद्यपि, पदमुक्त गर्ने सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी काफ्लेको पक्षमा अदालतले २०८३ असोज ६ गते उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । जसपा नेपालको नाम, लेटरहेड, छाप तथा पदाधिकारीको अख्तियारी प्रयोग गरी गत २२ भदौमा प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइएको थियो, र त्यसकै आधारमा २४ भदौमा काफ्लेलाई पदमुक्त गरिएको सूचना जारी गरिएको थियो । १५- नेपालका विभिन्न हिमाल आरोहणका लागि यस बर्षको शरद ऋतुमा १४१० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबाट ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ राजस्व सङ्कलन भएको छ । विभागको प्रतिवेदनअनुसार आरोहण अनुमति लिनेमा १ हजार ६९ जना पुरुष र ३४१ जना महिला रहेका छन् । कुल १६१ आरोहण समूहले ४४ वटा हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । प्रतिवेदनअनुसार सबैभन्दा धेरै आरोही मनास्लु हिमालका लागि अनुमति लिएका छन् । आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ समूहका ५०० जनाले अनुमति लिएका छन् । तीमध्ये ३७३ पुरुष र १२७ महिला छन् । मनास्लु आरोहण अनुमतिबाट १४ लाख ८५ हजार ८१६ अमेरिकी डलर अर्थात् २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । यसैगरी, छ हजार ८१४ मिटर अग्लो आमादब्लम हिमाल आरोहणका लागि ३२ समूहका ३८६ जनाले अनुमति लिएका छन् । तीमध्ये २९० पुरुष र ९६ महिला छन्। यस हिमालबाट ३ लाख ७८ हजार अमेरिकी डलर अर्थात् ५ करोड ७६ लाख ९९ हजार ६५० रुपैयाँ राजस्व सङ्कलन भएको छ । सात हजार १२६ मिटर अग्लो हिमलुङ हिमाल आरोहणका लागि १२ समूहका १२१ जनाले अनुमति लिएका छन्। यसबाट ४८ हजार ४०० अमेरिकी डलर अर्थात् ७४ लाख २७ हजार ७२० रुपैयाँ राजस्व प्राप्त भएको विभागले जनाएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि शरद ऋतुमा चार जनाले अनुमति लिएका छन् । आठ हजार ८४८.८६ मिटर अग्लो सगरमाथाका लागि एक समूहका तीन पुरुष र एक महिलाले अनुमति लिएका हुन् । यसबाट २० हजार अमेरिकी डलर अर्थात् ३० लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यसैगरी, आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालका लागि ३७ जनाले अनुमति लिएका छन् भने सात हजार १२९ मिटर अग्लो बरुणत्से हिमालका लागि ६५ जनाले अनुमति लिएका छन्। सात हजार ७५५ मिटर अग्लो गङ्गापूर्ण पश्चिम हिमालका लागि ६ जनाले अनुमति लिएको विवरणमा उल्लेख छ। विभागका अनुसार नेपालसहित ७६ देशका नागरिकले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । सबैभन्दा धेरै चीनका १४१ जना, फ्रान्सका १३० जना, संयुक्त राज्य अमेरिकाका ११९ जना, रुसका १०८ जना, जर्मनीका ९७ जना र बेलायतका ९६ जना रहेका छन् । अस्ट्रेलियाका ४२, क्यानडाका ३७, जापानका ३५ र नेपालका ३३ जनाले अनुमति लिएका छन्। इटालीका ४७, स्विट्जरल्यान्डका ४७, दक्षिण कोरियाका १० र भारतका ४० जनाले पनि आरोहण अनुमति लिएको विभागले जानकारी दिएको छ । १६- चक्रवात ‘अर्नब’ मङ्गलबार राति साढे ३ बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको छ । चक्रवातका कारण प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावाहुरी चलेको छ भने विशाखापट्टनम, अनकापल्ली, काकिनाडा र कोनसीमा क्षेत्रमा भारी वर्षा भइरहेको छ । तटीय तथा तल्लो क्षेत्रमा बाढीको जोखिम बढेपछि हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रवातका कारण रेल र हवाई यातायात प्रभावित भएको छ । भारतमा ५० वटा रेल र विजयवाडा तथा विशाखापट्टनम विमानस्थलबाट हुने २१ उडान रद्द गरिएका छन्। आन्ध्र प्रदेश र ओडिशामा गरी चार हजार चक्रवात आश्रयस्थल तयार गरिएको छ। ओडिशामा भारी वर्षाका कारण १६ जिल्लाका विद्यालय बन्द गरिएका छन् भने ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । भारतीय मौसम विभागले चक्रवातको प्रभाव तमिलनाडु, आन्ध्र प्रदेश, केरल, कर्नाटक, तेलङ्गाना, ओडिशा, पश्चिम बङ्गाल, बिहार, झारखण्ड, उत्तर प्रदेश, मध्य प्रदेश, छत्तीसगढ र महाराष्ट्रसहित १३ राज्यमा पर्ने चेतावनी दिएको छ । आन्ध्र प्रदेशको मौसम विभाग प्रमुख के. नागरत्नाका अनुसार चक्रवातको तटीय क्षेत्रमा प्रवेश गर्ने प्रक्रिया अझै एकदेखि दुई घण्टासम्म जारी रहन सक्नेछ। त्यसपछि हावाको गति क्रमशः प्रतिघण्टा ९० देखि १२० किलोमिटर हुँदै ६० देखि ७० किलोमिटरमा झर्ने अनुमान गरिएको छ । चक्रवातको प्रभावले सडकमा पानी जम्नुका साथै विद्युत्, खानेपानी र सञ्चार सेवा प्रभावित हुन सक्ने चेतावनी दिइएको छ । माछा मार्ने काममा संलग्न व्यक्तिलाई समुद्रमा नजान आग्रह गरिएको छ । १७- राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि ब्राजिलका दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारो अमेरिका पुगेका छन् । मिडिया रिपोर्टमा उनी अमेरिका पुगिसकेका छन् । फ्लाभियो उनकी पत्नी र दुई छोरीसमेत अमेरिका पुगेको बताइएको छ । उनले अमेरिकामा राजनीतिक शरण माग्न सक्ने सम्भावना रहेको बताइएको छ । अमेरिकाले पनि फ्लाभियोलाई भिसा दिने घोषणा गरेको छ । आइतबार सम्पन्न निर्वाचनमा फ्लाभियो वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएका थिए । निर्वाचनको दोस्रो चरणमा लुलाले ५२ प्रतिशत मत प्राप्त गर्दा फ्लाभियोले ४८ प्रतिशत मत पाएका थिए । पराजयपछि उनले निर्वाचनको नतिजा स्वीकार गरेका थिएनन् । यसैबीच, ब्राजिलको सर्वोच्च अदालतले सोमबार २४ घण्टाभित्र राहदानी बुझाउन आदेश दिएको थियो । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीसम्बन्धी आरोपमा अनुसन्धान भइरहेका बेला देश छाड्न सक्ने आशंकामा प्रहरीले उनको खोजी गरेको थियो । राहदानी नबुझाएपछि अधिकारीहरूले उनका राहदानी रद्द गरेका छन् । फ्लाभियो अमेरिका जानुअघि अर्जेन्टिना पुगेको हुन सक्ने चर्चा पनि चलेको थियो । ब्राजिल र अर्जेन्टिनाको सीमाक्षेत्र नजिकै रहेको इगुआजु विमानस्थलमा निजी विमान अवतरण भएपछि अधिकारीहरूले विमान र चालकदलको जाँच गरेका थिए । तर, उडानसम्बन्धी कागजातमा बोल्सोनारो परिवारका सदस्यको नाम फेला परेको थिएन । अर्जेन्टिना सरकारले पनि फ्लाभियो देशमा आएको अभिलेख नरहेको जनाएको छ । ब्राजिल प्रहरीले भने उनी आधिकारिक सीमा जाँच चौकीबाट देश बाहिरिएको नदेखिएको बताएको थियो । फ्लाभियोका पिता तथा ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो पनि सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि अमेरिका गएका थिए । पछि ब्राजिल फर्किएपछि उनलाई सत्ता पलटको षड्यन्त्र गरेको आरोपमा पक्राउ गरिएको थियो र २७ वर्षको जेल सजाय सुनाइएको थियो । फ्लाभियोविरुद्ध पनि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीसम्बन्धी अनुसन्धान भइरहेको छ । उनले पूर्वबैंकर डानियल भोर्कारोसँग आफ्ना पिताको जीवनमा आधारित चलचित्र निर्माणका लागि करिब एक करोड २० लाख अमेरिकी डलर जुटाउने प्रयास गरेको स्वीकार गरेका छन्, तर कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ब्राजिलको निर्वाचनमा धाँधली भएको दाबी गरेका थिए, यद्यपि त्यसको प्रमाण प्रस्तुत गरेका थिएनन् । १८- बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि यसको प्रभाव पर्ने सम्भावना देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम पूर्वानुमानका आधारमा असोज १३ देखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज भारतमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवातको प्रभाव नेपालमा अक्टोबर २९ को रातिदेखि सुरु हुने जनाइएको छ । प्राधिकरणका अनुसार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा अक्टोबर ३० र ३१ मा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्नेछ । केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । प्राधिकरणले पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भावित बाढीबाट प्रभावित हुन सक्ने नदी किनार तथा जोखिमयुक्त स्थानमा नबस्न अनुरोध गरेको छ । मौसम पूर्वानुमान तथा पूर्वसूचनालाई नियमित रूपमा पछ्याउन पनि आग्रह गरिएको छ । मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्का बेला सहयोगका लागि १२३४, नेपाल प्रहरीका लागि १००, सशस्त्र प्रहरीका लागि १११४ र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ । १९- नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र प्रदान गरेको छ । यससँगै विद्युत् उत्पादनमा सक्रिय निजी क्षेत्रलाई विद्युत् व्यापारमा समेत सहभागी गराउने दिशामा महत्वपूर्ण कदम अघि बढेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले स्वदेशी तथा विदेशी विद्युत् बजारको अध्ययन, सम्भावित खरिदकर्ता तथा व्यापारिक साझेदारको पहिचान, प्राविधिक तथा वित्तीय सम्भाव्यता अध्ययन र आवश्यक व्यावसायिक तयारी गर्न सक्नेछन् । नेपालको जलविद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको सन्दर्भमा उत्पादित विद्युत्को दिगो बजार सुनिश्चित गर्नु, विद्युत् व्यापारका नयाँ अवसर पहिचान गर्नु र निजी लगानीको सम्भावना विस्तार गर्नु यस व्यवस्थाका प्रमुख उद्देश्य हुन् । यसले निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै व्यापार तथा बजार विकासका क्षेत्रमा समेत आफ्नो भूमिका विस्तार गर्ने आधार प्रदान गर्ने अपेक्षा गरिएको छ । नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहँदै आएको छ। अब विद्युत् व्यापारको तयारीमा समेत निजी क्षेत्रलाई सहभागी गराउने व्यवस्थाले क्षेत्रीय ऊर्जा सहकार्य, सीमापार विद्युत् कारोबारको सम्भावना र लगानीका नयाँ अवसर पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । आशयपत्र प्राप्त हुँदैमा सम्बन्धित कम्पनीले तत्काल विद्युत् खरिद–बिक्री गर्न पाउने छैनन् । वास्तविक विद्युत् व्यापार सञ्चालन गर्न प्रचलित कानुनअनुसार आवश्यक कानुनी व्यवस्था, अनुमतिपत्र, सम्बन्धित निकायको स्वीकृति तथा प्रसारण प्रणालीमा पहुँचसम्बन्धी प्रावधान पूरा गर्नुपर्ने उर्जा मन्त्रालयले जनाएको छ । सरकारको यस कदमले नेपालको विद्युत् क्षेत्रलाई उत्पादन, बजार विकास र क्षेत्रीय व्यापारबीच थप समन्वय स्थापित गर्ने दिशामा अघि बढाउन सहयोग गर्ने अपेक्षा गरिएको मन्त्रालयले उल्लेख गरेको छ । २०- म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माइकल क्यारिकले यसै साता चेल्सीविरुद्ध हुने खेलमा पनि टोलीको जिम्मेवारी सम्हाल्ने भएका छन् । खराब नतिजाका कारण उनको भविष्यबारे प्रश्न उठे पनि क्लब व्यवस्थापनले उनलाई टोलीको प्रदर्शन सुधार्ने अवसर दिने भएको हो । बर्नमाउथसँग घरेलु मैदानमा ३–० ले पराजित भएपछि युनाइटेडको लगातार आठ खेलमा जितविहीन यात्रा लम्बिएको थियो । जारी सिजन प्रिमियर लिगका आठ खेलमा टोलीले एक खेल मात्रै जितेको छ र रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको छ । क्यारिकले गत जनवरीमा रुबेन आमोरिमको बिदाइपछि अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका थिए। च्याम्पियन्स लिगमा छनोट गराउँदै टोलीलाई तेस्रो स्थानमा पुर्‍याएपछि उनलाई मे महिनामा स्थायी प्रशिक्षक बनाइएको थियो । युनाइटेडले क्यारिकको विकल्पका रूपमा न्युक्यासलका पूर्वप्रशिक्षक एडी हाउ र जर्मनीका पूर्वप्रशिक्षक जुलियन नागेल्समनबारे पनि छलफल गरेको बताइएको छ । एस्टन भिल्लाका प्रशिक्षक उनाइ एमरीप्रति पनि क्लबको चासो रहेको जनाइएको छ । युनाइटेडले शनिबार स्टामफोर्ड ब्रिजमा चेल्सीको सामना गर्नेछ । क्यारिकका लागि उक्त खेल टोलीको खस्किएको प्रदर्शन सुधार्ने महत्त्वपूर्ण अवसर हुनेछ । The post यी हुन् आज दिनभरका प्रमुख २० समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

श्रीलंकाली अलराउण्डर थरिन्दु सुदूरपश्चिममा अनुबन्ध
ताजा खबरJust now

श्रीलंकाली अलराउण्डर थरिन्दु सुदूरपश्चिममा अनुबन्ध

काठमाडौं । श्रीलंकाली अलराउण्डर थरिन्दु रथ्नायकेले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने हुनुभएको छ । ३० वर्षीय रथ्नायके बायाँ हाते ब्याटर हुनुहुन्छ । उहाँ दायाँ हाते अफ स्पिन र बायाँ हाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्नुहुन्छ । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उहाँ फरक शैलीका बलरका रूपमा परिचित हुनुहुन्छ । रथ्नायकेले श्रीलंकाका लागि चार ...

हिमालय टाइम्स
सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनरमा प्राइम कमर्सियल बैंक
ताजा खबरJust now

सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनरमा प्राइम कमर्सियल बैंक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले प्राइम कमर्सियल बैंकलाई आधिकारिक बैंकिङ पार्टनरका रूपमा आबद्ध गरेको छ । यस सहकार्यसँगै प्राइम कमर्सियल बैंक एनपिएलमा सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनर बनेको छ । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बैंकसँगको सहकार्यले टोलीको व्यावसायिक साझेदारीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । प्राइम कमर्सियल बैंकसँग सहकार्य गर्न पाउँदा ...

हिमालय टाइम्स
अभिषेकको कीर्तिमानी ब्याटिङ, न्युजिल्याण्डविरुद्धको शृंखलामा भारतको कब्जा
ताजा खबरJust now

अभिषेकको कीर्तिमानी ब्याटिङ, न्युजिल्याण्डविरुद्धको शृंखलामा भारतको कब्जा

नयाँदिल्ली । भारतले न्युजिल्याण्डविरुद्धको पाँच खेलको शृंखला जितेको छ । तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्दै भारतले शृंखलामा ३-० को अग्रता बनाएको हो । भारतीय टोलीको जितमा ओपनर अभिषेक शर्माले विष्फोटक ब्याटिङ गर्दै मात्र ३५ बलमा शतक प्रहार गर्नुभयो । उहाँको आक्रामक प्रदर्शनसँगै भारतले खेलमा जितमात्र निकालेन, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका थुप्रै कीर्तिमानसमेत आफ्नो नाममा लेखाएको छ । न्युजिल्याण्डले ...

हिमालय टाइम्स
माओको मीमले एम्बाप्पेलाई धक्का
ताजा खबरJust now

माओको मीमले एम्बाप्पेलाई धक्का

एजेन्सी । फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका संस्थापक नेता माओत्से तुङलाई ‘तानाशाह’ भनेको बुझिने टिप्पणीमा माफी माग्नुभएको छ । उहाँको टिप्पणीलाई लिएर चीनमा आलोचना बढेपछि तीन चिनियाँ कम्पनीले उहाँसँगको व्यावसायिक सम्झौता अन्त्य गरेका छन् । एम्बाप्पेले मंगलबार वक्तव्य जारी गर्दै आफ्नो टिप्पणी गलत आँकलनमा आधारित रहेको स्वीकार गर्नुभएको हो । ‘मेरो टिप्पणी उचित थिएन । यसले चीन र विश्वभरका ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play