म्याग्दी। टिप्ने बेला भएको सुन्तला हावाहुरीले झारिदिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, ३ र ४ का किसान चिन्तित भएका छन्। भुरुङ्ग–तातोपानी, दाना र नारच्याङ क्षेत्रमा मंगलबार आएको हावाहुरीले बगानका सुन्तला झार्नुका साथै घर, विद्यालय र अन्य संरचनामा समेत क्षति पुर्याएको छ। भुरुङ्ग–तातोपानीको चिसापानी, दाना, फगाम, घराप, गाडपार र ठाडास्वाँराका बगानमा हावाहुरीले सुन्तला झारेपछि किसानको वर्षभरको मेहनत खेर गएको छ। बोटबाट झरेका धेरैजसो सुन्तला फुटेकाले बिक्री गर्न नसकिने अवस्थामा पुगेका छन्। फगामका कृषक दुर्गादत्त सुवेदीका अनुसार उनको टोलबाट गत वर्ष २५ लाख रुपैयाँको सुन्तला बिक्री भएको थियो। यस वर्ष उत्पादन राम्रो हुने अनुमान गरिएकोमा हावाहुरीले झारेपछि एक लाख रुपैयाँको पनि सुन्तला बिक्री गर्न नसकिने अवस्था आएको उनले बताए। “यसपालि दाना राम्रो लागेकाले उत्पादन र आम्दानी बढ्ने अनुमान गर्दै उत्साहित भएका थियौँ,” सुवेदीले भने, “हावाहुरीले बोटबाट दाना झार्नुका साथै हाँगा पनि चुडाएको छ। भुइँमा झरेका दाना सबै फुटेका छन्।” अन्नपूर्ण गाउँपालिकाका कृषि शाखाका अधिकृत योजना अधिकारीले हावाहुरीले सुन्तला खेतीमा पुर्याएको क्षतिको विवरण सङ्कलन भइरहेको बताए। गत वर्ष करिब चार करोड रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री भएको गाउँपालिकामा यस वर्ष तीनवटा वडामा पुगेको क्षतिका कारण उत्पादन घट्ने देखिएको छ। घर, विद्यालय र विद्युत् संरचनामा पनि क्षति जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म प्रतिसेकेन्ड अधिकतम ४.१ मिटरको गतिमा हावा मापन गरिएको थियो। हावाहुरीले अन्नपूर्ण गाउँपालिका–३ अन्तर्गत काभ्रे, दाना र फगाम क्षेत्रमा करिब २० वटा घरका छाना उडाएको वडाध्यक्ष रमेश पुर्जाले बताए। गोठका छाना उडाएर ठूलो क्षति पुर्याएको उनले जानकारी दिए। दानास्थित ज्ञानप्रकाश माध्यमिक विद्यालयको झ्याल र स्वास्थ्य चौकीको भवनको छाना पनि हावाहुरीले उडाएको छ। अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार भालेबासस्थित कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचनामा क्षति पुगेको छ। स्थानीयका घर र विद्यालयका छाना पनि उडाएको छ। भालेबासस्थित धवलागिरी आधारभूत विद्यालय र सुरक्षा बेसक्याम्पका साथै सुकबहादुर रोका, रनबहादुर रोका, देउबहादुर खड्का, रविन्द्र खड्का, तुलाराम बुढा र कुमार खड्काका घरमा क्षति पुगेको छ। नारच्याङमा महलबहादुर गर्बुजाको घरको छाना पनि उडाएको छ। अन्नपूर्ण आधार शिविर र भुसकेट मेलामा पर्यटकको बसोबासका लागि राखिएका १२ वटा टेन्टसमेत हावाहुरीले उडाएको छ।
म्याग्दीमा हावाहुरीले सुन्तला झार्दा किसानको मेहनत खेर

Read Complete Original Article
Published originally on नेपालन्युज






