पोखरा । नेपाली महिलाले न्याय, मुक्ति र समानताका लागि विभिन्न कालखण्डमा गरेका संघर्ष र योगदानलाई समेटेर पोखरामा तस्वीर प्रदर्शनी सुरु भएको छ । फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीले लेकसाइडस्थित बाराहीघाटमा आयोजना गरेको ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पुर्याएका महिलाका चार सयभन्दा बढी तस्वीर राखिएका छन् । प्रदर्शनी संयोजक सम्झना नेपालीका अनुसार महिलाको इतिहास, संघर्ष र योगदानलाई सार्वजनिक स्मृतिमा स्थापित गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । नेपाल पिक्चर लाइब्रेरीले अभिलेख गरेका तस्वीरमध्ये महिला आन्दोलन र सशक्तीकरणसँग सम्बन्धित तस्वीर छनोट गरी प्रदर्शनमा राखिएको उहाँले बताउनुभयो । प्रदर्शनीमा राणा शासनकालमा महिलाले गरेका संघर्षदेखि माओवादी सशस्त्र द्वन्द्वमा महिलाले गरेको योगदान र बलिदानसम्मका कथा समेटिएका छन् । तस्वीरलाई विभिन्न खण्डमा विभाजन गरी तिनको ऐतिहासिक सन्दर्भ र पृष्ठभूमिसमेत प्रस्तुत गरिएको छ । शनिबारसम्म सञ्चालन हुने प्रदर्शनी यसअघि वीरगञ्ज, जनकपुर, नेपालगञ्ज र सुर्खेतलगायत सहरमा आयोजना गरिएको थियो ।
महिलाका संघर्ष र योगदान समेटिएको तस्वीर प्रदर्शनी

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






