महालक्ष्मीको पूजा आराधना गर्दै कोजाग्रत पूर्णिमा मनाइयो, दशैँ विधिवत् समापन

काठमाडौं – धनधान्य र ऐश्वर्यकी देवी महालक्ष्मीको पूजा आराधना गर्दै आइतबार कोजाग्रत पूर्णिमा मनाइएको छ । बडादशैँको अन्तिम दिनका रूपमा मनाइने यस पर्वसँगै विजयादशमीमा सुरु भएको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त भएको छ । कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पक्ष अर्थात् बडादशैँ कोजाग्रत पूर्णिमासँगै समापन भएको हो । नवरात्र विजयादशमीका दिन समाप्त भए पनि समग्र दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमासम्म कायम रहने धार्मिक मान्यता छ । यस दिन शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्यसमेत सम्पन्न भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कोजाग्रत पूर्णिमाको रात जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा रहिआएको समितिका अध्यक्ष प्रा। पुरुषोत्तम भट्टराईले बताए । दशैँका अवसरमा घरघरमा राखिएका जमरा आइतबार नदी, तलाउ, पोखरीलगायत पवित्र तीर्थस्थलमा लगेर विसर्जन गरिएको छ । अखिल बलिपूर्तिसँगै नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने तथा मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त भएको हो। नेपालीले आ–आफ्नो परम्परा, संस्कृति र गच्छेअनुसार मनाएको बडादशैँ यससँगै विधिवत् रूपमा टुङ्गिएको छ । माता दुर्गाका तीन प्रमुख स्वरूपमध्ये एक महालक्ष्मीको पूजा गरी दुर्गा पक्षलाई बिदा गर्ने परम्परा छ । लक्ष्मीपूजाभन्दा १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले पनि कोजाग्रत पूर्णिमाको विशेष धार्मिक महत्त्व रहेको मानिन्छ । यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको समेत पूजा गर्ने चलन छ। पूजा आराधना सम्पन्न गरेपछि रातभर जाग्राम बस्ने र जुवा खेल्ने परम्परासमेत रहेको अध्यक्ष भट्टराईले बताए। धन, ऐश्वर्य र समृद्धिको कामनासँग जोडिएको यो पर्वले बडादशैँको समापनसँगै नेपालीको प्रमुख धार्मिक तथा सांस्कृतिक उत्सवको एक चरण पूरा भएको सङ्केत गर्छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

एनपीएल उद्घाटन गर्न प्रधानमन्त्री शाह कीर्तिपुर जाने
उद्घाटनअघि शुभकामना दिँदै प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता र भव्य उत्सवका रूपमा प्रशंसा गरेका छन् । ...

एनपीएलको तेस्रो संस्करण आजदेखि
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुदैछ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपरान्ह ५ बजेदेखि सुरु हुनेछ। लुम्बिनी रोहित पौडेल र सुदुरपश्चिम दिपेन्द्रसिंह ऐरिको कप्तानीमा मैदानमा उत्रनेछ। एनपीएलका लागि सम्पूर्ण ... ...

एनपीएललाई प्रधानमन्त्री शाहको शुभकामना
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सुरु हुनु केही घण्टाअघि शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री शाहले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको र केही वर्षकै छोटो अवधिमा यसले एउटा भव्य खेलकुद उत्सवको रूप लिन सफल भएको बताएका छन् । प्रधानमन्त्रीको स्टाटसमा लेखिएको छ– ‘लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई हार्दिक ...



