काठमाडौं । मधेश प्रदेशमा राजनीतिक समीकरण फेरिएसँगै सरोजकुमार यादवले पुनः प्रदेश सरकारको नेतृत्व सम्हाल्ने भएका छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादव संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएसँगै मधेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। नवनियुक्त मुख्यमन्त्री यादवले आज (आइतबार) बिहान पद तथा गोपनीयताको शपथ लिँदैछन्। प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले उनलाई शपथ गराउने कार्यक्रम तय भएको छ। मुख्यमन्त्री नियुक्त भएलगत्तै यादवले प्रदेशसभाबाट विश्वासको मत लिने प्रक्रिया अघि बढाउने बताएका छन्। उनले एक साताभित्रै विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका छन्। तर संविधानले भने मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था गरेको छ। यादवको नियुक्ति सामान्य सत्ता हस्तान्तरण मात्रै होइन, मधेश प्रदेशमा दलहरूबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको अवस्थाको संवैधानिक निकास पनि हो। गत शुक्रबार अपराह्न ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए। तर, तोकिएको समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले बहुमतसहितको दाबी पेस गर्न सकेनन्। त्यसपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। मधेश प्रदेशसभामा कुल १०७ सदस्य छन्। सरकारलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी, जनमत पार्टीसहित अन्य साना दलको प्रतिनिधित्व छ। कुनै पनि दलसँग एकल बहुमत नभएकाले यादवका लागि अन्य दलको समर्थन जुटाउनु अनिवार्य हुनेछ। यसअघि कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमाले र नेपाली कम्युनिस्ट पार्टीका मन्त्रीहरूले समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री कृष्णप्रसाद यादव राजनीतिक संकटमा परेका थिए। विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि उनले गत कात्तिक २८ गते प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो। सरोजकुमार यादव यसअघि पनि मधेश प्रदेशको मुख्यमन्त्री भइसकेका नेता हुन्। २०७९ पुस २७ गते उनी पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसअघि उनले मधेश प्रदेशसभाको पहिलो कार्यकालमा पाँच वर्ष सभामुखको जिम्मेवारी सम्हालेका थिए।
मधेशमा फेरि सरोज यादवको नेतृत्व, आज शपथ; सात दिनमै विश्वासको मत लिने तयारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





