Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’
Photo / Coverage: नेपालन्युज

ललितपुर।रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी–त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ। तरङ्ग नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरिएको हो। कार्यक्रममा विपद् व्यवस्थापन, इन्जिनियरिङ, अनुसन्धान तथा विकास क्षेत्रका विज्ञ, विभिन्न संघसंस्थाका प्रतिनिधि, लेखक तथा सम्पादकको उपस्थिति थियो। डा. ईश्वर थापा र इन्जिनियर राजन थापाले लेखेको उक्त पुस्तकमा सात जना सहसम्पादकसहित इन्जिनियर, अनुसन्धानकर्ता, प्राविधिक तथा अन्य विज्ञले सहकार्य गरेका छन्। पुस्तकमा बाढीको उत्पत्ति र प्रभाव, मानवीय क्षति, उद्धार तथा खोजीका अनुभव, प्रभावित समुदायको अवस्था र भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरणका उपाय समेटिएका छन्। पुस्तकको नाम ‘द सनसाइन फ्लड’ अर्थात् ‘आकाशमा बादल नहुँदै आएको बाढी’ नाम दिइएको छ। पुस्तकमा गत भदौ १० गते (अगस्ट २६) मा हिमाली क्षेत्रमा हिउँ र चट्टान खस्दा ल्हेन्दे नदी हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीको घटनाक्रम प्रस्तुत गरिएको छ। सामान्यतया बाढी आउनुअघि देखिने वर्षा, बादल वा नदीको सतह बढ्ने संकेत बिनै आएको उक्त बाढीले रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रका बस्ती, पूर्वाधार र जनजीवनमा ठूलो क्षति पुर्‍याएको थियो। ‘द डे द माउन्टेन फेल विदाउट अ क्लाउड इन द स्काई’ (आकाशमा बादल नभएको बेला हिमाल अचानक ढलेको दिन) उपशीर्षक रहेको पुस्तकमा हिमपहिरो र चट्टान खस्दा कसरी बाढी उत्पन्न भयो ? भन्ने घटनालाई प्रत्यक्षदर्शीका अनुभव, पीडितका भनाइ, अभिलेख र वैज्ञानिक अध्ययनका आधारमा प्रस्तुत गरिएको छ। पुस्तकका अनुसार हिउँ र चट्टान खसेर ल्हेन्दे उपत्यकामा पुगेपछि केही मिनेटमै पानी, हिलो र ठूला ढुङ्गासहितको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेंसी हुँदै त्रिशूली नदी क्षेत्रमा फैलिएको थियो। वर्षा र पूर्व चेतावनी बिनै आएको बाढीले स्थानीय बस्ती, विद्यालय, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याउनुका साथै जनजीवन प्रभावित बनाएको थियो। ‘न्यारेटिभ नन–फिक्सन’ (कथात्मक गैरआख्यान) विधामा तयार गरिएको पुस्तकमा विपद्का बेला उद्धारमा खटिएका व्यक्ति, खोजी तथा सहयोगमा जुटेका समुदाय र प्रभावित परिवारका अनुभव समेटिएका छन्। विपद्का बेला देखिएका चुनौती र आगामी दिनमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक परिवर्तनबारे पनि पुस्तकमा विश्लेषण गरिएको लेखक डा. ईश्वरले जानकारी दिए। उनका अनुसार पुस्तकमा नेपालले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरेका राहत, पुनःस्थापना तथा सामुदायिक सहयोगका गतिविधि समेटिएका छन्। पीस विन्ड्स जापान र मर्सी मलेसियाको सहयोगमा संस्थाले प्राविधिक टोली परिचालन गरी क्षतिको मूल्याङ्कन, प्रभावित परिवारको आवश्यकता पहिचान र राहत वितरण गरेको विवरण पुस्तकमा छ। पुस्तकमा उल्लेख भएअनुसार संस्थाले विभिन्न कार्यक्रममार्फत एक हजार ४४८ परिवारलाई राहत तथा सहयोग उपलब्ध गराएको थियो। त्यस्तै, ३०६ शिक्षक तथा विद्यार्थी, दुई स्वास्थ्य संस्था र एउटा वडा कार्यालयलाई पनि सहयोग गरिएको थियो। राहत वितरणअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–५ का ५०१ घरपरिवारलाई जाडोयाममा प्रयोग हुने विद्युतीय हिटर, इलेक्ट्रिक केतली र थर्मस वितरण गरिएको थियो। नुवाकोटको विदुर नगरपालिका–१ का १९५, वडा नं ७ का ५० र वडा नं १० का २५२ घरपरिवारलाई घरायसी तथा पुनर्निर्माणका लागि आवश्यक औजार उपलब्ध गराइएको पुस्तकमा उल्लेख छ। त्यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ का ३५० घरपरिवारलाई इन्डक्सन चुल्होसहित भान्साका सामग्री र नुवाकोटको विदुर नगरपालिका–१० का १०० घरपरिवारलाई ग्यास सिलिन्डरसहित भान्साका सामग्री वितरण गरिएको थियो। स्वास्थ्य सेवा निरन्तर राख्न विदुर नगरपालिका–५ स्थित आयुर्वेदिक अस्पताल र वडा नं १० स्थित सहरी स्वास्थ्य केन्द्रलाई औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरिएको थियो । विदुर नगरपालिका–१० को वडा कार्यालयमा सौर्य ऊर्जा र इन्भटर प्रणाली जडान गरी वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको थियो। विदुर नगरपालिका–२, बट्टारस्थित भीमसेन माध्यमिक विद्यालयका ३०६ शिक्षक तथा विद्यार्थीलाई पनि सहयोग गरिएको विवरण पुस्तकमा समेटिएको छ। पुस्तकले राहत वितरणलाई सामग्री हस्तान्तरणमा मात्र सीमित नराखी प्रभावित परिवारको आवश्यकता पहिचान, स्थलगत अध्ययन, स्थानीय तहसँगको समन्वय, सामग्रीको अभिलेखीकरण, वितरणमा पारदर्शिता र समुदायको पुनःस्थापनालाई प्राथमिकता दिएको छ। विपद्पछिको पुनर्निर्माणसँगै भविष्यमा हुनसक्ने क्षति न्यूनीकरणका उपायलाई पनि पुस्तकले महत्व दिएको छ। नदीले बगाएर ल्याएको गेग्रान तथा ढुङ्गामाटोको पुनः प्रयोग, नदी किनारका भवनको सुरक्षा, भोटेकोशी–त्रिशूली करिडोरमा पूर्व चेतावनी प्रणालीको विकास र रसुवाको खाद्य सुरक्षालाई आगामी दिनका प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ। विशेष गरी बाढी प्रभावित क्षेत्रमा एउटा मात्र भवन सुरक्षित रहनुका कारण, नदीको बहाव तथा गेग्रान व्यवस्थापन र जोखिमयुक्त क्षेत्रमा पूर्वाधार निर्माण गर्दा अपनाउनु पर्ने सावधानीबारे पुस्तकमा चर्चा गरिएको छ। पुस्तकमा प्रभावित क्षेत्रका बासिन्दाका अनुभवलाई प्राथमिकता दिइएको छ। लेखकका अनुसार स्थलगत अध्ययन, प्रत्यक्ष अनुभव र घटनाक्रमको संकलनबाट पुस्तक तयार पारिएको हो। वरिष्ठ भूगर्भविद् इन्जिनियर सन्मुखेश चन्द्र अमात्यले पुस्तकले विपद्को कथा र समुदायको सहनशीलतालाई अभिलेखीकरण गरेको बताए। उनका अनुसार पुस्तकले बाढीबाट भएको विनाशको विवरण मात्र प्रस्तुत नगरी समुदाय, स्वयंसेवक, प्राविधिक जनशक्ति, स्थानीय सरकार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगी संस्थाबीचको सहकार्यले पुनः स्थापनामा पुर्‍याउन सक्ने योगदानलाई पनि उजागर गरेको छ। रसुवा र त्रिशूली उपत्यकाका बासिन्दालाई समर्पित पुस्तकले प्राकृतिक विपद्को इतिहास अभिलेखीकरण गर्नुका साथै जोखिम न्यूनीकरण, पूर्वतयारी र मानवीय सहायताका क्षेत्रमा काम गर्ने निकाय तथा सरोकारवालालाई महत्वपूर्ण सन्दर्भ सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको उनले बताए। कार्यक्रममा तरङ्ग नेपालका कार्यकारी निर्देशक अमितप्रसाद तिमल्सेनाले ‘पर्दापछाडिका कुरा’ शीर्षकमा प्रस्तुति दिँदै विपद्पछिको स्थलगत अध्ययन, मानवीय सहायता र प्रभावित समुदायसँगको अन्तरक्रियाले पुस्तक तयार पार्न सहयोग पुगेको अनुभव सुनाए। बाढीको खबर प्राप्त हुनासाथ तरङ्ग नेपालले प्रभावित क्षेत्रका स्थानीय सम्पर्क व्यक्ति, जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक तथा अन्य सरोकारवालासँग समन्वय सुरु गरेको थियो। उद्धार तथा खोजीमा प्रत्यक्ष संलग्न हुन कठिन परिस्थिति रहेकाले संस्थाले राहत तथा पुनर्लाभका गतिविधिमार्फत सहयोग गर्ने निर्णय गरेको उनले जानकारी दिए। इन्जिनियरिङ, अनुसन्धान, सामाजिक सेवा र स्वयंसेवाका क्षेत्रमा कार्यरत जनशक्तिलाई एकीकृत गर्दै संस्थाले प्राविधिक ज्ञान, मानवीय सहायता तथा ज्ञान विकासमार्फत जोखिममा रहेका समुदायलाई सहयोग गर्दै आएको छ। ६ भाग र ३१ अध्यायमा विभाजित पुस्तकमा बाढीअघिको भोटेकोशी नदी करिडोरको अवस्था, विपद्को दिनका घटनाक्रम, उद्धार तथा जीवनरक्षाका अनुभव, मानवीय क्षति र शोक, आर्थिक तथा वातावरणीय प्रभाव एवं भविष्यका लागि आवश्यक पाठ समेटिएका छन्। त्यसैगरी, हिमाली विपद्को जोखिम मूल्याङ्कन, पूर्व सूचना प्रणालीको सुदृढीकरण, बाढीबाट थुप्रिएको गेग्रानलाई पुनर्निर्माण सामग्रीका रूपमा उपयोग गर्ने सम्भावना, जलविद्युत् आयोजनाको सुरक्षा र जलवायुजन्य जोखिमका कारण रसुवाको खाद्य सुरक्षामा पर्नसक्ने प्रभावबारे अनुसन्धान तथा नीतिगत दृष्टिकोणबाट विश्लेषण गरिएको छ। प्रभावित समुदायका अनुभव र वैज्ञानिक तथा दस्तावेजीकृत तथ्यलाई एकै ठाउँमा प्रस्तुत गर्नु पुस्तकको विशेषता रहेको छ। पुस्तकमा तथ्याङ्क तथा घटनासम्बन्धी विवरणका लागि आधिकारिक प्रतिवेदन, प्रकाशित अनुसन्धान र पत्रकारितामा आधारित सामग्री प्रयोग गरिएको छ। प्रमाणित तथ्य, व्यक्तिगत अनुभव, विश्लेषण र अझै स्पष्ट हुन नसकेका विषयबीच पनि भिन्नता कायम गरिएको लेखकहरूले जनाएका छन्। पुस्तकले माथिल्लो भोटेकोशी क्षेत्रमा पूर्व सूचना प्रणाली पुनः स्थापना तथा सुदृढीकरण, सीमापार सूचना आदानप्रदान, पुनर्निर्माणअघि जोखिम मूल्याङ्कन, जलविद्युत् पूर्वाधारको सुरक्षा र बेपत्ता व्यक्तिको पहिचान प्रक्रियालाई तीव्रता दिनुपर्ने सुझाव दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहार बिदामा मुस्ताङमा पर्यटकको घुइँचो
Latest NewsJust now

तिहार बिदामा मुस्ताङमा पर्यटकको घुइँचो

मुस्ताङ।तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको संख्या वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको संख्या बढेका हुन्। यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र पछि मुस्ताङमा अपेक्षा गरेअनुरुप पर्यटक भित्रिन सकेका थिएनन्। भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीलगायत प्राकृतिक जोखिमको प्रक्षेपण गरिएकाले मुस्ताङमा विगतका वर्षभन्दा यस वर्ष पर्यटक सोचेअनुसार आउन सकेका थिएनन्। ...

नेपालन्युज
बिक्रीबाट ३८ करोड ६७ लाखभन्दा बढी रकम भित्रियो
Latest NewsJust now

बिक्रीबाट ३८ करोड ६७ लाखभन्दा बढी रकम भित्रियो

मुस्ताङ (मुक्तिनाथ), कात्तिक २२ गते । दसैं–तिहारमा मुस्ताङबाट १५ हजारभन्दा बढी भेडा–च्याङ्ग्रा बाहिरिएका छन् । जिल्लाको पाँचवटै स्थानीय तह, चीनको तिब्वत तथा कर्णाली प्रदेशको डोल्पा... ...

गोरखापत्र
आज विद्युत् माग १७ सय मेगावाट पुग्ने अनुमान, आपूर्तिमा समस्या आउँदैन : प्राधिकरण
Latest NewsJust now

आज विद्युत् माग १७ सय मेगावाट पुग्ने अनुमान, आपूर्तिमा समस्या आउँदैन : प्राधिकरण

अघिल्ला वर्षहरूको तुलनामा तिहारमा विद्युत् खपत निरन्तर बढ्दै गएको छ । गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्‌को उच्च माग १६५० मेगावाट पुगेको थियो । ...

कान्तिपुर
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
Latest NewsJust now

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

तेहरान । स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल ट्याङ्करमा आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जनाएको छ । सरकारी समाचार संस्था आईआरएनएका अनुसार, आइतबार आईआरजीसीले ती ट्याङ्करहरू अनधिकृत जलमार्ग प्रयोग गरी अघि बढ्ने क्रममा बारुदी सुरुङमा ठोक्किएको जनाएको हो । आईआरजीसीको विज्ञप्तिमा भनिएको छ, “नियम उल्लङ्घन गर्ने दुई तेल ट्याङ्करमध्ये एउटा स्ट्रेट अफ होर्मुजको पूर्वी भागमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play