बेपत्ता बालबालिकाको खोजीमा एआई

काठमाडौं । मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ। लामो समयदेखि बेपत्ता आफन्तको खोजीमा भौँतारिएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दुईवटा एआई उपकरण विकास भइरहेका छन्। तीमध्ये एउटा उपकरणले बेपत्ता हुँदा बाल्यावस्थामा रहेका व्यक्तिको अहिलेको सम्भावित अनुहार तयार गर्न सघाउनेछ। मेक्सिकोमा आपराधिक समूहबिको हिंसात्मक द्वन्द्वका कारण हजारौँ मानिस बेपत्ता भएका छन् । आफन्तको खोजीमा रहेका परिवारले वर्षौंदेखि सरकारी निकायबाट प्रभावकारी अनुसन्धान नभएको गुनासो गर्दै आएका छन्। भेरोनिका रोसास पनि त्यस्तै एक आमा हुन्। उनका छोरा डिएगो सन् २०१५ को सेप्टेम्बरमा साथीहरूलाई भेट्न घरबाट निस्किएपछि मध्य मेक्सिकोको इकोटेपेक सहरबाट बेपत्ता भएका थिए । त्यसबेला उनी १६ वर्षको थिए । राज्यको अभियोजन कार्यालयले डिएगोलाई आपराधिक समूहले अपहरण गरेको जनाएको भए पनि कुन समूहले, किन अपहरण ग¥यो वा उनी जीवित छन् कि छैनन् भन्ने विषय अझै स्पष्ट भएको छैन । “११ वर्ष बितिसक्यो, तर डिएगो कहाँ छ भन्ने मलाई अझै थाहा छैन । मेरो छोरालाई के भयो भन्ने पत्ता लगाउन मद्दत गर्ने कुनै अनुसन्धानको बाटो देखिएको छैन”, ५२ वर्षीया रोसासले मेक्सिको सिटीमा न्यायको माग गर्दै आयोजित प्रदर्शनका क्रममा भने। यस्तै घटनाले मेक्सिकोका दुई विश्वविद्यालयलाई बेपत्ता व्यक्तिको खोजीमा सहयोग गर्ने एआई उपकरण विकास गर्न प्रेरित गरेको छ। मेक्सिकोको प्रमुख सार्वजनिक विश्वविद्यालय राष्ट्रिय स्वायत्त विश्वविद्यालय (युएनएएम) ले ‘रेग्रेसा’ अर्थात् ‘फर्क’ नामक उपकरण विकास गरेको छ । यसले मानव शरीरको मापनसम्बन्धी विज्ञानको प्रयोग गरी बेपत्ता हुँदा बालबालिका रहेका व्यक्तिको उमेर बढ्दै जाँदा अनुहार कस्तो देखिन सक्छ भन्ने अनुमानित तस्बिर तयार गर्छ। अनुसन्धान वर्षौंसम्म लम्बिने गरेका कारण बेपत्ता व्यक्तिको अहिलेको उमेरअनुसारको तस्बिर उपलब्ध गराउन परिवारले लामो समयदेखि माग गर्दै आएका छन्। अमेरिका, भारत र चीनलगायत देशमा अपहरणमा परेका बालबालिका खोज्न अनुहार पहिचान र उमेरअनुसार अनुहार परिवर्तन हुने अनुमान गर्ने सफ्टवेयर प्रयोग भइसकेको छ। मेक्सिकोका केही अभियोजन कार्यालयले पनि यस्ता प्रविधि प्रयोग गर्छन् । तर, अधिकांश सफ्टवेयर खुला स्रोतका तस्बिर सङ्ग्रहमा निर्भर छन्, जसले मेक्सिकन नागरिकका सामान्य शारीरिक विशेषतालाई पर्याप्त रूपमा समेट्न नसक्ने समस्या छ। रेग्रेसाका विकासकर्ताले भने सयौँ तस्बिर र ७५ जना मेक्सिकन स्वयंसेवकबाट प्राप्त तथ्याङ्क प्रयोग गरी आफ्नै तस्बिर सङ्ग्रह बनाएका छन् । यसबाट मेक्सिकन नागरिकका अनुहारका विशेषता झल्किने तस्बिर तयार गर्न सहज हुने उनीहरूको अपेक्षा छ। परियोजनाकी संस्थापक मानवशास्त्री आना जुआरेजका अनुसार यो उपकरणले अनुहारको बाहिरी आकारमा परिवर्तन गर्ने वा चाउरी थप्ने सामान्य विधिभन्दा वैज्ञानिक दृष्टिकोण अपनाएको छ । यसले मानिसको खप्पर र अनुहारको संरचना उमेरसँगै कसरी विकास हुन्छ भन्ने आधारमा सम्भावित तस्बिर तयार गर्ने प्रयास गर्छ। यसैबीच, सरकारी अनुसन्धानको प्रभावकारितामा प्रश्न उठाउँदै आएका परिवारलाई सहयोग गर्न निजी इबेरो–अमेरिकी विश्वविद्यालयका मानवशास्त्री एमिलियानो जोला पनि एआईको प्रयोग गरिरहेका छन् । उनले बेपत्ता व्यक्तिको लिङ्ग, उमेर र बेपत्ता हुँदाको परिस्थितिसम्बन्धी तथ्याङ्कको नक्साङ्कन गरिरहहेका छन्। यसबाट परिवारले खोजीलाई थप केन्द्रित गर्न सक्ने उनको अपेक्षा छ । मेक्सिकोको सबैभन्दा बढी जनसङ्ख्या भएको मेक्सिको राज्यका तथ्याङ्क अध्ययन गर्दा विद्यालय वा कामबाट घर फर्कने क्रममा बेपत्ता हुने युवतीको सङ्ख्या उल्लेख्य रहेको उनले पत्ता लगाए। रेग्रेसाबारे एएफपीबाट जानकारी पाएपछि रोसासले एआईको प्रयोगले बेपत्ता व्यक्तिको खोजीमा ठूलो परिवर्तन ल्याउन सक्ने बताए। “यो पहल निकै महत्त्वपूर्ण छ, किनभने बेपत्ता हुँदा बालबालिका रहेका उनीहरू अहिले त्यही उमेरमा छैनन्”, उनले भने। रोसासले छोरा डिएगोको १६ वर्षको उमेरको तस्बिर राखेर मेक्सिको सिटीको प्रमुख सडकमा अस्थायी सन्देश बाकससमेत स्थापना गरेका छन्। छोराको जन्मदिनका अवसरमा उहाँको अवस्थाबारे जानकारी वा शुभकामना सन्देशमार्फत कुनै सुराक प्राप्त हुने आशा उनकाे छ। कार्ला लेचुगाले पनि सन् २०२५ मा आफ्ना १९ वर्षीय छोरा जेसुआ सिस्नेरोस बेपत्ता भएपछि खोजी समूह स्थापना गरेका थिए। उनीजस्ता परिवारले देशभरका चर्चमा दर्जनौँ ‘शान्ति बाकस’ राखेका छन् । ती बाकसमा बेपत्ता व्यक्तिबारे जानकारी सङ्कलन गरिन्छ । परिवारले सार्वजनिक स्थानमा आफन्तका तस्बिर टाँस्दै आपराधिक समूहलाई गोप्य रूपमा सूचना दिनसमेत आग्रह गर्दै आएका छन्। “हामीले केही मानिसलाई जीवितै फेला पारेका छौँ, तर दुर्भाग्यवश अरूलाई फेला पार्न सकेका छैनौँ”, लेचुगाले भने।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

ब्राइटनको फराकिलो जित, क्रिस्टल प्यालेस ५-० गोलले पराजित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा ब्राइटनले क्रिस्टल प्यालेसमाथि ५-० गोलको फराकिलो र सानदार जित निकालेको छ । एकपक्षीय बनेको खेलमा ब्राइटनले खेलको सुरुवाती १० मिनेटभित्रै तीन गोल गर्दै... ...

बाढीमा बेपत्ता रामेश्वरको परिवारलाई सहपाठीले जुटाए १ लाख ७५ हजार रुपैयाँ
रसुवाको भोटेकोसीमा आएको बाढीमा परी बेपत्ता भएका मकवानपुरको थाहा नगरपालिका–४ का रामेश्वर लामाको परिवारलाई उनका सहपाठीहरूले आर्थिक सहयोग गरेका छन्। थाहामै रहेको जनकल्याण माध्यमिक विद्यालयबाट २०५९ सालमा एसएलसी परीक्षामा सहभागी भएका साथीहरूले स्वतःस्फूर्त रूपमा रकम संकलन गरी १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेका हुन्। गत भदौ १० गते भोटेकोशीमा आए... ...

लिड्स र म्यानचेस्टर युनाइटेडले १-१ गोलको बराबरी खेले
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा लिड्स र म्यानचेस्टर युनाइटेड १–१ गोलको बराबरीमा रोकिएका छन्। दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता म्यानचेस्टर... ...
सिँगारिए गाउँका घर [तस्बिरहरू]
रातोमाटो, कमेरो माटो र चुनाले घरका भित्ता पोतेर चिटिक्क पारिँदै छ। ...


