बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ। गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेपछि बजारमा पानीको आपूर्ति घटेको हो। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि हाल प्रतिसेकेन्ड आठ लिटरका दरले मात्र पानी आपूर्ति भइरहेको छ। संस्थामार्फत बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण हुँदै आएको छ। बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने डाँडाखर्क र रिठाखर्कका मुहानबाट बेनीमा पानी ल्याउने १४ किलोमिटर लामो पाइपलाइन क्षतिग्रस्त भएको छ। बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पाइपलाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्न थालिएको छ। “कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट तीन दशमलव चार लिटर र राहुपारेबाट चार लिटर पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिरहेका छौँ। तर, सुक्खायाम सुरु भएसँगै वैकल्पिक मुहान सुक्न थालेकाले रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी आपूर्ति गराउने तयारीमा जुटेका छौँ”, अध्यक्ष गिरीले भने, “राहुपारेसम्म पानी सञ्चालन भइरहेको पाइपलाइनको राहुपारे–गलेश्वर खण्ड पुनर्निर्माण गर्ने र बेनी बजार क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्ने काम भइरहेको छ।” प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइपलाइन एक महिनादेखि बन्द छ। मागअनुसार पानी आपूर्ति हुन नसकेपछि बेनीको रेडक्रस मार्गका बासिन्दाले निजी मुहानबाट पानी ल्याएर उपभोग गर्न थालेका छन्। स्थानीयवासी दिनेश जिसीले आलोपालो प्रणालीबाट वितरण गरिएको पानीले नपुगेपछि निजी मुहानबाट पानी ल्याउनुपरेको बताए। खानेपानीको अभावले बजारवासीका साथै विद्यार्थी, पेसाकर्मी र व्यवसायीसमेत प्रभावित भएका छन्। यसअघि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ, बौद्ध युवा क्लबलगायतका सङ्घसंस्थाले ट्याङ्कर र ड्रममा पानी बोकेर बजारमा वितरण गरेका थिए। अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइन विस्तार गरी तिहारअघि राहुपारेबाट बेनीमा पानी ल्याउने तयारी गरिएको अध्यक्ष गिरीले बताए। अल्पकालीन विकल्पका रूपमा रिठाखर्क मुहानको पानी आपूर्ति गर्ने तथा मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा लिफ्ट प्रविधिबाट पानी तानेर वितरण गर्ने वैकल्पिक स्रोत सञ्चालनका लागि पनि पहल भइरहेको उनले जानकारी दिए। अध्यक्ष गिरीका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि रु १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि रु ७० करोड आवश्यक पर्ने लागत अनुमान तयार पारिएको छ। गत साता बेनी आएका नेपाल सरकारका पूर्वाधारमन्त्री सुनिल लम्सालसमक्ष संस्थाका पदाधिकारीले खानेपानी आयोजना पुनर्निर्माण तथा सुधारका लागि बजेट व्यवस्था गर्न प्रस्ताव पेस गरेका थिए। मन्त्री लम्सालले तत्काल बजेट व्यवस्था गरी ठेक्कामार्फत बेनी खानेपानी योजनाको पुनर्निर्माण गरिने प्रतिबद्धता जनाएका थिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
• मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। • मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको छ। • दुवै कम्पनीले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएका छन्। ...

दसैँअघि सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका २ जनाको शव भेटियो
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा टाटासुमो गाडी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ। उनीहरूको आफन्तले शव सनाखत गरेका प्रहरीले जनाएको छ। गत कात्तिक १ गते काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत नागथानबाट करिब २ सय मिटर तल सुनकोसी नदीमा खसेको थियो। दुर्घटनामा तीन जना... ...

कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते
काठमाडौं । चितवनको कुरिनटारमा बस, ट्रक र माइक्रो बस आपसमा ठोकिँदा ११ जना घाइते भएका छन्। मंगलबार बिहान पौने ९ बजेतिर चितवनको इच्छाकामना- ४ धारापानीस्थित पृथ्वी राजमार्ग तीनवटा सवारी साधन एकैठाउँमा ठोक्किएका हुन्। सर्लाही बाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बाग्मती ...

बिनासूचना गैरहाजिर रहेका ११ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, नभए सेवाबाट हटाइने
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। नक्सालस्थित... ...


