बाँदरको आतंकबाट कृषि क्षेत्रमा भइरहेको क्षति न्यूनीकरण गर्न सरकारले नयाँ उपाय, अनुसन्धान तथा प्रविधि विकासका लागि प्रस्ताव माग गरेको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले बाँदर नियन्त्रणसम्बन्धी नवीन प्रविधिको विकास र परीक्षण गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो। मन्त्रालयले हालै एक सूचना प्रकाशित गरी बाँदरबाट प्रभावित कृषकको समस्या दीर्घकालीन रूपमा समाधान गर्न वैज्ञानिक अध्ययन, अनुसन्धान र नवीन प्रविधिको विकास आवश्यक रहेको जनाएको छ। यसअघि नै बाँदर नियन्त्रणसम्बन्धी अनुसन्धान तथा प्रविधि विकास गरिसकेका वा नयाँ काम गर्न इच्छुक व्यक्ति, कम्पनी तथा निकायले आफूले विकास गरेको प्रविधिलाई थप परिष्कृत गरी कार्यान्वयन गर्न सकिने अवधारणा र विस्तृत प्रस्ताव पेस गर्नुपर्नेछ। इच्छुकले सूचना प्रकाशित भएको सात दिनभित्र मन्त्रालयमा उपस्थित भएर प्रस्तावको प्रस्तुतीकरण गर्न वा मन्त्रालयको इमेल ठेगाना info@mosti.gov.np मा प्रस्ताव पठाउन सक्नेछन्। मन्त्रालयका अनुसार छनोट भएका उत्कृष्ट अनुसन्धान प्रस्तावलाई थप अध्ययन, अनुसन्धान तथा विकासका लागि आवश्यक आर्थिक अनुदानसमेत उपलब्ध गराइनेछ। त्यसरी विकास तथा परीक्षण गरिएका प्रविधि र उपकरण सफल भएमा कृषि तथा वन मन्त्रालयमार्फत कृषकसम्म पुर्याइनेछ। त्यसपछि तिनको थप अनुसन्धान, परीक्षण, परिमार्जन तथा उपयोग गरिने मन्त्रालयले जनाएको छ। The post बाँदर आतंक नियन्त्रणका लागि प्रविधि विकास गर्न सरकारद्वारा प्रस्ताव आह्वान appeared first on Technology Khabar.
बाँदर आतंक नियन्त्रणका लागि प्रविधि विकास गर्न सरकारद्वारा प्रस्ताव आह्वान

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






