काठमाडौं।उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित सत्य, अहिंसा, समानता, शिक्षा, श्रम, मितव्ययिता र सदाचारका सिद्धान्तले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको बताएका छन्। उपराष्ट्रपति यादवले आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै किराँत धर्म, दर्शन, संस्कृति तथा सामाजिक सुधारको एक महत्वपूर्ण ऐतिहासिक दस्तावेजका रूपमा परिचित रहेको बताएका छन्। “दाइजो प्रथा, फजुल खर्च, अन्धविश्वास, विभेद तथा सामाजिक विकृतिका विरुद्ध उहाँले चलाउनु भएको चेतनामूलक अभियानले नेपाली समाजमा सुधार, आत्मसम्मान र नैतिक जीवनको संस्कार विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको थियो। समाजलाई सरल, सभ्य र अनुशासित बनाउन उहाँका विचारहरू आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन्”, उपराष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ। उनले नेपाली समाजका युगद्रष्टा व्यक्तित्व महागुरु फाल्गुनन्दले धर्मलाई आस्थाको विषयमा मात्र सीमित नराखी समाज सुधार, नैतिक अनुशासन, मानवता र लोक कल्याणसँग जोडेको स्मरण गरेका छन्। फाल्गुनन्दले आफ्नो मौलिक सांस्कृतिक पहिचानको संरक्षण गरी अन्य समुदायप्रति सम्मान, सहअस्तित्व र सद्भावको सन्देश दिएको उल्लेख गर्दै उपराष्ट्रपतिले उनका विचारले विविधताभित्रको एकता, पारस्परिक सम्मान र राष्ट्रिय सहकार्यको भावनालाई सुदृढ बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। “आजको परिवर्तनशील विश्वमा आफ्नो भाषा, संस्कृति, सभ्यता र मौलिक परम्पराको संरक्षण गर्दै आधुनिकता र प्रगतिलाई आत्मसात् गर्नु हाम्रो साझा जिम्मेवारी हो। फाल्गुनन्द जयन्तीले युवा पुस्तालाई नैतिक चरित्र निर्माण, सामाजिक उत्तरदायित्व, सकारात्मक सोच, सामुदायिक नेतृत्व र राष्ट्रसेवाको मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गरोस्”, उपराष्ट्रपतिले सन्देशमा भनेका छन्। उपराष्ट्रपतिले फाल्गुनन्दको सत्य, सेवा र सदाचारको मार्गले सबैलाई मानव मर्यादा, सामाजिक न्याय तथा राष्ट्रिय कर्तव्यप्रति थप प्रतिबद्ध बन्न प्रेरित गरोस् भनी कामना गरेका छन्। उनले राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा लोकतान्त्रिक मूल्यप्रतिको हाम्रो प्रतिबद्धता अझ सुदृढ हुँदै समुन्नत, समावेशी र समृद्ध नेपालको निर्माणमा सबैलाई प्रेरणा र ऊर्जा प्राप्त होस् भन्ने शुभेच्छा प्रकट गरेका छन्।
फाल्गुनन्दका विचार आज पनि सान्दर्भिक : उपराष्ट्रपति यादव

Read Complete Original Article
Published originally on नेपालन्युज






