प्राचीन कला र सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले लगानी गर्छ : मुख्यमन्त्री थापा मगर

भक्तपुर, कात्तिक ३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भक्तपुरको नंखेल क्षेत्रको ऐतिहासिक सम्पदा, मौलिकता र प्राचीनताको संरक्षण गर्दै पर्यटकीय नगरीका रूपमा विकास गर्न प्रदेश सरकारले बजेट लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले नंखेलको पुरानो बस्ती, परम्परागत घर, कला, संस्कार र संस्कृतिको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको हो।उहाँले नंखेललाई ऐतिहासिक सम्पदाका रूपमा विकास गर्दै स्थानीय उत्पादन र मौलिक संस्कृतिसँग जोडेर पर्यटकीय गन्तव्य बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। ‘नंखेल आफैँमा लिच्छविकालीन समयभन्दा पुरानो ऐतिहासिक धरोहर तथा प्राचीनता बोकेको नगरी हो, जहाँ हरेक स्थानमा उत्खनन गर्दा हाम्रो पुरातात्त्विक सम्पदा पाउन सक्छौँ,’ मुख्यमन्त्री थापाले भन्नुभयो। उहाँले नंखेलको प्राचीनता र मौलिकता जोगाउँदै उचित स्याहार, संरक्षण तथा संवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल घुम्न आउने विदेशी पर्यटक र ऐतिहासिक महत्त्व बुझ्न चाहने आन्तरिक पर्यटकका लागि नंखेललाई आकर्षक गन्तव्य बनाउन सकिने उहाँको भनाइ छ। ‘हामीले आफ्नो कला, संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्छ, हाम्रो कला र संस्कृतिलाई जगेर्ना गर्न सक्यौँ भने आन्तरिक र बाह्य पर्यटनको विकास गर्न सक्छौँ,’ मुख्यमन्त्री थापाले भन्नुभयो। उहाँले नंखेलका पुराना घर तथा बस्तीलाई मौलिक स्वरूपमै संरक्षण र विकास गर्न सके स्थानीय पहिचान जोगिने बताउनुभयो। पुराना संरचनालाई सम्पदाका रूपमा विकास गर्दै नेवारी परिकारलाई प्रवर्द्धन गर्न सके पर्यटनसँगै स्थानीय रोजगारीका अवसरसमेत सिर्जना हुने उहाँको धारणा छ। ‘नंखेलमाथि पुरानो बस्ती छ, त्यो बस्तीका अहिले पनि धेरै पुराना घर संरक्षित छन्, त्यो ठाउँलाई हामीले सम्पदाका रूपमा विकास गर्न सक्छौँ, हाम्रा पुराना घरलाई मौलिक रूपमा विकास गर्न सक्यौँ भने हाम्रो पहिचान जोगिन्छ,’ उहाँले भन्नुभयो। मुख्यमन्त्री थापाले स्थानीय मौलिक परिकार, कला, संस्कृति र अर्ग्यानिक उत्पादनलाई पर्यटनसँग जोडेर नंखेललाई विशेष पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। यसबाट स्थानीय युवाले आफ्नै क्षेत्रमा रोजगारी पाउने वातावरण निर्माण गर्न सकिने उहाँको भनाइ छ। ‘नेवारी परिकार हामीले त्यहीँबाट सुरु गर्नुपर्छ, हाम्रा युवाले त्यहीँ रोजगारी पाउनुहुनेछ,’ मुख्यमन्त्री थापाले भन्नुभयो। उहाँले नंखेलको संरक्षण र प्रवर्द्धनका लागि स्थानीयवासीलाई आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गर्दै प्रदेश सरकार सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो। ‘तपाईँहरूले निवेदन दिनुस्, त्यो ठाउँको संरक्षण र प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले लगानी गर्छ,’ मुख्यमन्त्री थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो। नंखेलको ऐतिहासिक सम्पदा संरक्षण, परम्परागत वास्तुकलाको जगेर्ना, स्थानीय परिकारको प्रवर्द्धन र अर्ग्यानिक उत्पादनको बजारीकरणलाई एकीकृत रूपमा अघि बढाउन सके यस क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको धारणा छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो खड्ग जात्रा
महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ । आसुरी प्रवृत्तिको प्रतीकमाथि सत्यको विजय भएको सम्झनामा प्रत्येक वर्ष महानवमीको दिन यो जात्रा मनाउने परम्परा रहिआएको छ । मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार नवमीको दिन बिहान ५ः०० बजे पाटन मङ्गलबजारको मूलचोकबाट खड्ग लिएर महालक्ष्मी मन्दिरमा आएर पूजा सुरु भएको थियो । ‘पाटन दरबार ...

विजयादशमीकाे टिकाकाे उत्तम साइत बुधबार बिहान १०:२६ बजे
काठमाडौं, कात्तिक ३ । बडादशैँको मुख्य दिन बुधबार विजयादशमी पर्व मनाइँदै छ। साे अवसरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ। नवरात्रका नौ दिनसम्म दशैँघर तथा शक्तिपीठमा पूजा–आराधना गरिएकी नवदुर्गाको विधिपूर्वक विसर्जन गरी आज मान्यजनबाट टीका र जमरा थाप्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बुधबार बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन र बिहान १० ...

द्रव्य शाहको यात्रा : विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म
विजयादशमी पर्वसँग जोडिएको गोरखाको लिगलिगकोटको दौड परम्परा नेपालको इतिहासमा चर्चित छ । प्रचलित जनश्रुतिअनुसार दसैँका बेला आयोजना हुने दौडमा प्रथम हुने व्यक्ति राजा बन्ने परम्परा थियो । यही ऐतिहासिक प्रसङ्गसँग जोडिएका लमजुङका राजकुमार द्रव्य शाहले पछि गोरखामा छुट्टै राज्य स्थापना गरेका थिए । द्रव्य शाहको यात्रा दौड जितेर राजा बनेको कथामा मात्र सीमित छैन । लमजुङको राजपरिवारमा जन्मिएका उनी राइनासकोटमा पूर्वी ...


