काठमाडौं, कात्तिक १८ । नेपाल प्रहरीका नवनियुक्त ३४ औँ प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुदन गुरुङले नै दर्ज्यानी चिह्न लगाइदिनुभएको छ । यससँगै नेपाल प्रहरीमा लामो समयदेखि कायम रहँदै आएको गृहसचिवले नयाँ आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिने अभ्यासमा परिवर्तन आएको छ । यसअघि प्रहरी महानिरीक्षक नियुक्त भएपछि गृहसचिवबाट दर्ज्यानी चिह्न ग्रहण गर्ने परम्परा रहँदै आएको थियो । तर, यसपटक गृहमन्त्री गुरुङ आफैँले केसीलाई दर्ज्यानी चिह्न लगाइदिनुभएको हो । आज भएकाे नयाँ आईजीपीको पदबहाली तथा दर्ज्यानी चिह्न सुशोभन समारोहमा निवर्तमान आईजीपी दानबहादुर कार्की भने उपस्थित हुनुभएन । कार्यक्रममा सञ्चालकले गृहमन्त्रीकै अग्रसरतामा नयाँ प्रहरी प्रमुखलाई दर्ज्यानी चिह्न लगाइदिने व्यवस्था गरिएको जानकारी गराउनुभएको थियो । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै डा. केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिने निर्णय गरेको थियो । सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । नेपाल प्रहरीमा विगतमा अवकाशमा जान लागेका महानिरीक्षकले नयाँ आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिने अभ्यास थियो । यसलाई संगठनभित्रको परम्परा र नेतृत्व हस्तान्तरणको प्रतीकका रूपमा लिने गरिएको थियो । तर, २०४९ सालमा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाको कार्यकालमा मोतीलाल बोहरा आईजीपी नियुक्त हुँदा उक्त अभ्यास तोडिएको थियो । त्यस्तै, २०५३ सालमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले अच्युतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई आईजीपी नियुक्त गर्दा पनि दर्ज्यानी चिह्न लगाउने विषय विवादमा परेको थियो । त्यतिबेला निवर्तमान आईजीपीबाट नयाँ प्रहरी प्रमुखलाई दर्ज्यानी चिह्न लगाइदिने परम्पराको सट्टा गृहमन्त्रीले नै उक्त जिम्मेवारी निर्वाह गर्नुभएको थियो । २०६३ सालमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको कार्यकालमा आईजीपीलाई गृहसचिवमार्फत दर्ज्यानी चिह्न लगाइदिने अभ्यास सुरु भएको थियो । त्यसपछि लामो समयसम्म गृहसचिवले नै नयाँ प्रहरी प्रमुखलाई दर्ज्यानी चिह्न लगाइदिने परम्परा कायम रह्यो । खरेलपछि आईजीपी बन्नुभएका प्रदीपसमशेर जबरा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह रानामगर, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री, धीरजप्रताप सिंह, बसन्तबहादुर कुँवर, दीपक थापा, चन्द्रकुवेर खापुङ र दानबहादुर कार्कीले आ–आफ्नो कार्यकालमा गृहसचिवबाट दर्ज्यानी चिह्न ग्रहण गर्नुभएको थियो । २०८२ कात्तिकमा कार्की आईजीपी नियुक्त हुँदा तत्कालीन गृहसचिव रामेश्वर दंगालले उहाँलाई दर्ज्यानी चिह्न लगाइदिनुभएको थियो । आईजीपीलाई कसले दर्ज्यानी चिह्न लगाइदिने भन्ने विषय कानुनमा स्पष्ट रूपमा तोकिएको व्यवस्था नभई मुख्यतः परम्परासँग जोडिएको विषय हो । त्यसैले यसपटक गृहमन्त्रीबाट दर्ज्यानी चिह्न प्रदान गरिनुलाई कानुनी परिवर्तनभन्दा पनि स्थापित अभ्यासमा आएको परिवर्तनका रूपमा हेरिएको छ । यसैबीच, नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्दै गृहमन्त्री गुरुङले नेपाल प्रहरीलाई नागरिकमैत्री बनाउन र प्रहरी तथा नागरिकबीचको दूरी घटाउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा बोल्दै उहाँले प्रहरी र नागरिकबीच विगतदेखि नै केही दूरी रहेको आफूले महसुस गरेको बताउनुभयो । उक्त दूरी अन्त्य गर्दै नागरिकसँग सम्मानजनक व्यवहार गर्ने वातावरण निर्माण गर्न नयाँ प्रहरी नेतृत्वले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । ‘नागरिकसँग कसरी नजिक हुनुपर्छ र कसरी हामीले उहाँहरूप्रति एकदमै सम्मानजनक व्यवहार गर्न सक्छौँ, त्यसमा आईजीपी साबको नेतृत्वमा काम होस् भन्ने म चाहन्छु,’ गृहमन्त्री गुरुङले भन्नुभयो । प्रहरी र नागरिकबीचको सम्बन्धमा रहेको दूरी अबका दिनमा अन्त्य हुनुपर्नेमा जोड दिँदै उहाँले पछिल्लो समय यस्तो दूरी कम हुँदै गएको अनुभूति भएको पनि बताउनुभयो । यसका लागि प्रहरी कर्मचारीहरूले गरेको प्रयासको प्रशंसा गर्दै उहाँले धन्यवादसमेत व्यक्त गर्नुभयो । गृहमन्त्री गुरुङले शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, विपद् व्यवस्थापन गर्ने र नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्ने विषयलाई प्राथमिकतामा राखेर काम गर्न आईजीपी केसीलाई निर्देशन दिनुभयो । प्रहरी संगठनलाई थप बलियो बनाउन विशेषगरी फिल्डमा खटिने प्रहरी जवानहरूको मनोबल उच्च राख्नुपर्ने उहाँको भनाइ थियो । ‘संगठनलाई अझै बलियो बनाउन विशेषगरी फिल्डमा खटिने हाम्रा जवानहरूको मनोबल उच्च राख्नका लागि म हजुरलाई निर्देशन दिन चाहन्छु,’ उहाँले भन्नुभयो । प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन गृह मन्त्रालय र नेपाल सरकार तयार रहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले कार्यसम्पादनका क्रममा आइपर्ने समस्याको समाधानमा मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘तपाईंहरूलाई जस्तोसुकै स्रोतसाधन चाहिन्छ, हामी दिन तयार छौँ, नेपाल सरकार दिन तयार छ । कुनै काममा गाह्रो–अप्ठ्यारो छ भने त्यसलाई सम्बोधन गर्न गृह मन्त्रालय सदैव तयार छ,’ उहाँले भन्नुभयो । यता, नवनियुक्त आईजीपी डा. केसीले नागरिकले प्रहरीलाई देख्दा डर होइन, भरोसा महसुस गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दर्ज्यानी चिह्न सुशोभन समारोहमा बोल्दै उहाँले आफ्नो कार्यकालको मूल्यांकन आफूले के पाएँ भन्ने आधारमा नभई नेपाली जनतालाई के दिन सकेँ भन्ने आधारमा हुनुपर्ने बताउनुभयो । दर्ज्यानी चिह्नलाई काँधमा थपिएको अलंकारका रूपमा मात्र नभई राज्य, जनता र सात दशक लामो इतिहास बोकेको प्रहरी संगठनको भरोसाका रूपमा लिएको उहाँको भनाइ थियो । प्रहरी संगठनभित्रका आन्तरिक चुनौती र समस्यालाई नजिकबाट नियालेको उल्लेख गर्दै आईजीपी केसीले तल्लो तहका प्रहरी कर्मचारी, विशेषगरी जवान र हवल्दारका गुनासा सुन्न तत्काल छुट्टै संयन्त्र निर्माण गर्ने घोषणा गर्नुभयो । ‘आधारभूत तहलगायत सम्पूर्ण प्रहरी कर्मचारीको गुनासो सुन्ने एउटा संयन्त्र सचिवालयमै प्राथमिकताका साथ सञ्चालन गर्नेछौँ,’ उहाँले भन्नुभयो । प्रहरी कर्मचारीको लामो कार्यघण्टा, स्रोतसाधन तथा भौतिक पूर्वाधारको अभाव, सरुवा–बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्यजस्ता विषयलाई प्राथमिकतामा राखेर प्रणालीगत सुधार गर्दै लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । प्रहरी संगठनको एकल प्रयासले मात्र पूर्ण शान्ति सुरक्षा कायम गर्न सम्भव नहुने उल्लेख गर्दै आईजीपी केसीले सरकार, राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजको सहयोग आवश्यक रहेको बताउनुभयो । आधुनिक प्रहरी संगठनको सबैभन्दा ठूलो पुँजी जनतासँगको सम्बन्ध भएको उहाँको भनाइ थियो । प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्न राजनीतिक दलहरूसँग आग्रह गर्दै उहाँले नेपाल सरकारसँग आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तताको अपेक्षा गर्नुभयो । ‘म नेपाल सरकारसँग आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तता अनि राजनीतिक दलहरूसँग प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्न सहयोगको विनम्र आग्रह गर्दछु,’ उहाँले भन्नुभयो । त्यसैगरी, सञ्चार जगतलाई प्रहरी संगठनका कमजोरीसँगै सकारात्मक कामलाई पनि उचित स्थान दिन आईजीपी केसीले आग्रह गर्नुभयाे ।
प्रहरीमा लामो परम्परा तोड्दै गृहमन्त्रीले लगाइदिए नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न, जनतासँग सम्बन्ध सुधार गर्न दिए निर्देशन

Read Complete Original Article
Published originally on जनताटाइम्स






