काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से), नेपाल बीमा प्राधिकरण र निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्वमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी, नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा र निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले तीनै जनालाई नियुक्त गरेको हो। नवनियुक्त पदाधिकारीहरूलाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराएका छन्। सो अवसरमा अर्थमन्त्री वाग्लेले तीनै संस्थाको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिएका छन्। उनले बीमा क्षेत्रको विकास, विस्तार र विश्वसनीयता अभिवृद्धिमा ध्यान दिन प्राधिकरणका नवनियुक्त अध्यक्ष थापालाई निर्देशन दिएका छन्। त्यसैगरी कोषको संस्थागत गरिमा कायम राख्दै नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्न भण्डारीलाई आग्रह गरेका छन्। नवनियुक्त नेप्सेका प्रमुख कार्यकारी अधिकृत सुवेदीसँग बैंकिङ तथा वित्तीय व्यवस्थापन क्षेत्रमा लामो अनुभव छ। उनले कृषि विकास बैंकमा निमित्त प्रमुख कार्यकारी अधिकृत, प्रमुख सञ्चालन अधिकृत, प्रमुख कर्जा अधिकृत तथा मानव संसाधन तथा सेवा विभागको उपमहाप्रबन्धकलगायत जिम्मेवारी सम्हालेका थिए। बैंकिङ क्षेत्रमा कर्जा व्यवस्थापन, निक्षेप परिचालन, डिजिटल बैंकिङ, संस्थागत सुशासन, अनुपालना तथा प्रशासनिक व्यवस्थापनमा अनुभव हासिल गरेका सुवेदीले नेको इन्स्योरेन्सको सञ्चालक सदस्य तथा फन्ड म्यानेजमेन्ट कम्पनीको सञ्चालक समितिको अध्यक्षका रूपमा समेत काम गरिसकेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापासँग नेपाल राष्ट्र बैंकमा झन्डै तीन दशक काम गरेको अनुभव छ। उनी यसअघि राष्ट्र बैंकको कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उनले वित्तीय संस्था सुपरिवेक्षण, बैंक सुपरिवेक्षण, नियमन तथा कर्पोरेट योजना विभागलगायतमा विभिन्न जिम्मेवारी सम्हालेका थिए। थापाले राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक तथा लगानी समितिको संयोजक र निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक तथा लगानी समितिको संयोजकका रूपमा पनि काम गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल गरेका छन्। भारतको सिंघानिया विश्वविद्यालयबाट बैंकिङ क्षेत्रमा संस्थागत सुशासनले जोखिम व्यवस्थापनमा पार्ने प्रभावसम्बन्धी विषयमा विद्यावारिधि गरेका उनको उक्त उपाधि त्रिभुवन विश्वविद्यालयबाट समकक्षता मूल्यांकनको प्रक्रियामा रहेको छ। त्यसैगरी निक्षेप तथा कर्जा सुरक्षण कोषका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भण्डारीसँग पनि नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेको अनुभव छ। उनले सन् २०१८ देखि २०२५ सम्म राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए। यस क्रममा उनले मौद्रिक व्यवस्थापन, वित्तीय संस्था सुपरिवेक्षण, मानव संसाधन व्यवस्थापन, आर्थिक अनुसन्धान तथा गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागमा काम गरेका थिए। भण्डारी सन् २०२५ डिसेम्बरदेखि २०२६ मेसम्म नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य थिए। उनले यसअघि सन् २०१९ देखि २०२० सम्म निक्षेप तथा कर्जा सुरक्षण कोषकै सञ्चालक समिति सदस्यका रूपमा पनि काम गरेका थिए। उनले बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डबाट अन्तर्राष्ट्रिय अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दा उनले सर्वोत्कृष्ट स्थान हासिल गरेका थिए। तीनै नियुक्तिले नेपालको पुँजीबजार, बीमा तथा निक्षेप सुरक्षणसम्बन्धी संस्थाको नेतृत्वमा बैंकिङ तथा वित्तीय क्षेत्रको अनुभव भएका व्यक्तिहरूलाई जिम्मेवारी दिएको हो ।
नेप्से, बीमा प्राधिकरण र निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्वमा नयाँ नियुक्ति

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






