काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन्। प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। शाहले सोमबार नै नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। यसअघि आजै भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहको भ्रमणमा दुई देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ। त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछन्। यसबाट दुवै देशका प्राथमिकताका क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ। भ्रमणकै क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रमसमेत आयोजना हुनेछ। नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन्। त्यसक्रममा उनीहरूका चासो र सरोकार सुन्नुका साथै भारतबाट थप लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत दृष्टिकोण र प्रयासबारे जानकारी गराइनेछ। यस कार्यक्रमले नेपाली र भारतीय व्यवसायीबीच सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मीलगायत सहभागी हुनेछन्। भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम छ।
प्रधानमन्त्री बालेन आज भारतको राजकीय भ्रमणमा जाँदै

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





