काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनाएको हो। पोखराका लागि कप्तान कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ९९ रन बनाए। शतक बनाउन मात्र १ रनले चुकेका उनले ५१ बलमा ८ चौका र ८ छक्का प्रहार गरे। त्यस्तै, युवराज साम्राले पनि आक्रामक ब्याटिङ गर्दै ८९ रनको योगदान दिए। उनले ५५ बलको सामना गरेका थिए। दुवै ब्याटरको उत्कृष्ट प्रदर्शनमा पोखराले विशाल योगफल तयार पारेको हो। काठमाडौंका लागि करण केसीले २ विकेट लिए भने जहान्द खानले १ विकेट हात पारे। लिग चरणको अन्तिम खेलमा काठमाडौं यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ भने पोखरा भने प्लेअफको दौडबाट बाहिरिसकेको छ। अब २२५ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रने काठमाडौंले कस्तो प्रदर्शन गर्छ, त्यो हेर्न बाँकी छ।
पोखराले बनायो एनपीएलको इतिहासमै सर्वाधिक रन

Read Complete Original Article
Published originally on नेपालन्युज






