काठमाडौँ: बजारमा पाँच रुपैयाँ दरका सिक्काको आपूर्ति सहज बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले १५ करोड थान नयाँ सिक्का उत्पादन गर्ने प्रक्रिया अघि बढाएको छ। केन्द्रीय बैङ्कले यसका लागि अन्तर्राष्ट्रिय कम्पनीहरूबाट बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार सिक्काको डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रिया सुरु गरिएको हो। यसका लागि सिंगल स्टेज टु एनभलप प्रणाली अपनाइएको छ। बोलपत्र प्रक्रियामा यसअघि पूर्वयोग्यता पूरा गरी सूचीकृत भएका कम्पनीहरू मात्र सहभागी हुन पाउनेछन्। इच्छुक कम्पनीले डिसेम्बर २८ सम्म थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टकमरी महाशाखाबाट बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न सक्नेछन्। कागजातका लागि २० हजार रुपियाँ वा सो बराबरको विदेशी मुद्रा शुल्क तोकिएको छ। राष्ट्र बैंकले डिसेम्बर ११ मा पूर्वबोलपत्र बैठक आयोजना गर्ने जनाएको छ। योग्य कम्पनीले डिसेम्बर २९ को दिउँसो १२ बजेसम्म बोलपत्र पेस गरिसक्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ। बोलपत्र पेस गर्ने कम्पनीले न्यूनतम एक लाख २७ हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रुपियाँ बैंक जमानतका रूपमा राख्नुपर्नेछ। सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कालोसूचीमा परेका कम्पनीहरू यस प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
पाँच रुपैयाँका १५ करोड नयाँ सिक्का छाप्दै राष्ट्र बैंक

Read Complete Original Article
Published originally on नेपालन्युज






