काठमाडौं। धादिङको गजुरी गाउँपालिका: ८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ। ३८ वर्षीय सूर्यबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मंसिर १२ गते बिहान ९ः१५ बजे ढुंगाना आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए। स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले घटनास्थलको अनुसन्धान गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतकको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो भने दाहिने हातको नाडीको हड्डी भाँचिएको अवस्थामा शव फेला परेको थियो। अनुसन्धानका क्रममा थिङले मंसिर ११ गते राति ढुंगानालाई कुटपिट गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। घटनापछि थिङलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। थिङविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार अदालतबाट थप अनुसन्धानका लागि पाँच दिनको म्याद थपिएको छ। प्रहरीका अनुसार थिङको विगतमा पनि आपराधिक पृष्ठभूमि रहेको पाइएको छ। उनीविरुद्ध २०७२ सालमा सार्वजनिक अपराध, २०७८ सालमा हातहतियार तथा खरखजाना सम्बन्धी कसुर र २०८१ सालमा कीर्तिपुरमा सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






