सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न खेलमा सुदूरपश्चिम प्रदेशले मिश्रित नतिजा हासिल गरेको छ । महिला क्रिकेटमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गर्दा पुरुष फुटबलमा भने एपिएफ क्लबसँग बराबरी खेलेपछि प्रतियोगिताबाट बाहिरिएको छ । यसैबीच शारीरिक सुगठनमा सुदूरपश्चिमका सुनिल चन्दले रजत पदक जित्नुभएको छ भने महिला बास्केटबलमा कर्णाली प्रदेश फाइनलमा पुगेको छ । महिला क्रिकेटतर्फ लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिमले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सुदूरपश्चिम, गण्डकी, मधेस र कोशी प्रदेशले समान दुई-दुई अंक प्राप्त गरे पनि रनरेटका आधारमा सुदूरपश्चिम अन्तिम चारमा पुग्न सफल भएको हो । यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका थिए । पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा पाँच विकेट गुमाएर ११७ रन बनाएको थियो । उसका लागि सिमाना केसीले ४० र सम्झना पौडेलले अविजित ३८ रन बनाउनुभयो । जवाफमा सुदूरपश्चिमले अनु कडायतको उत्कृष्ट ब्याटिङको मद्दतमा लक्ष्य पूरा गर्दै जित निकालेको हो । ३३ बलको सामना गर्नुभएकी अनुले दुई छक्का र सात चौकासहित महत्त्वपूर्ण रन बनाउनुभयो । मनिषा बोहराले पनि २५ रनको योगदान दिनुभयो । यसैगरी, शारीरिक सुगठनतर्फ कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक जित्नुभएको छ । पश्चिम रुकुमको चौरजहारीमा भएको ६० किलो तौल समूहको प्रतिस्पर्धामा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाउनुभएको हो । कञ्चनपुर शारीरिक सुगठन संघका जिल्ला अध्यक्षसमेत रहनुभएका चन्दले यसअघि राष्ट्रिय प्रतियोगितामा कांस्य पदक जित्नुभएको थियो । महेन्द्रनगरमा रोयल व्यायामशाला सञ्चालन गर्दै आउनुभएका चन्द लामो समयदेखि शारीरिक सुगठनमा सक्रिय हुनुहुन्छ । दशौं राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठनका विभिन्न तौल समूहमा सुदूरपश्चिमबाट ११ खेलाडी सहभागी छन् । प्रतियोगितामा कञ्चनपुरका तीन खेलाडीले सहभागिता जनाएका छन् । पुरुष फुटबलमा भने सुदूरपश्चिमको यात्रा लिग चरणमै टुंगिएको छ । शनिबार कर्णाली प्रदेश रंगशालामा भएको खेलमा विभागीय टोली एपिएफ क्लबसँग दुई-दुई गोलको बराबरी खेलेपछि सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको हो । खेलको सातौँ मिनेटमा श्याम वादीले गोल गर्दै सुदूरपश्चिमलाई अग्रता दिलाउनुभएको थियो । तर, एपिएफका गणेश पुलामीले १६औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो । २६औँ मिनेटमा अनिश क्षेत्रीले गोल गरेपछि एपिएफले पहिलो हाफमै दुई-एकको अग्रता बनाएको थियो । दोस्रो हाफमा सुदूरपश्चिमले पुनरागमन गर्दै ७२औँ मिनेटमा सन्दिप सिंहमार्फत् बराबरी गोल गर्यो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो । खेलमा एपिएफका सुमन श्रेष्ठ र सुदूरपश्चिमका विष्णु चौधरीले पहेँलो कार्ड पाउनुभएको थियो । दुई खेल खेलेको एपिएफ सेमिफाइनलमा प्रवेश गर्दा समान खेल खेलेको सुदूरपश्चिम बाहिरिएको छ । यता, महिला बास्केटबलतर्फ कर्णाली प्रदेश फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको ३×३ विधाको प्रतिस्पर्धामा कर्णालीले एपिएफ क्लबलाई ११-१० अंकले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । फाइनल प्रवेशसँगै कर्णालीले कम्तीमा एउटा पदक सुनिश्चित गरेको छ । लन टेनिस महिला डबल्सतर्फ नेपाल आर्मीकी शिवाली गुरुङ र स्वस्तिका विष्टले स्वर्ण पदक जित्नुभएको छ । शनिबार भएको फाइनलमा उहाँहरूले बागमती प्रदेशका प्रज्ना मानन्धर र प्रकृति श्रेष्ठलाई ६–०, ६–१ को सेटमा पराजित गर्नुभएको हो । पुरुष सिंगलतर्फ गण्डकीका प्रदिप खड्काले आर्मीका प्रणभ खनाललाई पराजित गर्नुभयो भने गण्डकीकै करणबहादुर थापाले बागमतीका निशान श्रेष्ठलाई हराउनुभयो । यसैगरी, पुरुष क्रिकेटतर्फ गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । कालिञ्चोक मैदानमा शनिबार भएको खेलमा एनआरएनएले दिएको १२६ रनको लक्ष्य गण्डकीले १४.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । एनआरएनएले १९.२ ओभरमा सबै विकेट गुमाएर १२५ रन बनाएको थियो । उसका लागि पवन खरेलले सर्वाधिक ३२, नवीन तामाङले २६ र आदित्य महताले २३ रन बनाउनुभयो । गण्डकीका लागि ईश्वर क्षेत्रीले ३२ तथा अविजित वंश क्षेत्रीले २९ रनको योगदान गर्नुभयो । पहिलो खेलमा मधेस प्रदेशसँग पराजित भएको गण्डकीले एनआरएनएविरुद्धको जितसँगै प्रतियोगितामा दुई अंक जोडेको छ ।
दशौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिमको मिश्रित प्रदर्शन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






