काठमाडौं । प्रसिद्ध साहित्यकार घटराज भट्टराईको ८५औं जन्मजयन्ती सन्दर्भ पारेर उहाँद्वारा रचित कविताहरू विभिन्न विद्यालयका बालबालिकाहरूले कण्ठ पारी वाचन गरे । घटराज मेमोरियल स्कुल कपनमा आयोजित उक्त कार्यक्रमको आयोजक घटराज भट्टराई स्मारक कोष रहेको थियो । कार्यक्रमको सभापतित्व उहाँकी धर्मपत्नी तथा कोषकी अध्यक्ष प्रभा भट्टराईले गर्नुभएको थियो भने साहित्यकार कोषराज न्यौपाने कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराई रहनुभएको थियो । घटराज भट्टराईकी सुपुत्री तथा कोषकी सदस्यसचिव साधना भट्टराई दाहालले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा घटराज भट्टराईका भाइ तथा उक्त कोषका उपाध्यक्ष प्रा.प्रयागराज भट्टराई तथा विशिष्ट अतिथि शम्भु भट्टराईले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा बालकलाकारहरूले नृत्य तथा गीत प्रस्तुत गरेका थिए । परिवार तथा नाताकुटुम्बलगायत अतिथिहरूको ठूलो उपस्थिति रहेको उक्त कार्यक्रममा घटराज भट्टराईका सुपुत्र उक्त कोषका कोषाध्यक्ष तथा विद्यालयका संस्थापक प्रधानअध्यापक डा.राजेशराज भट्टराईले उक्त कार्यक्रम तथा घटराज भट्टराईको योगदानबारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा घटराज मेमोरियल स्कुललगायत सो क्षेत्रका गत एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । जसअनुसार घटराज मेमोरियल स्कुलका युनिक कडेल र कृतिका सुनार, सरस्वती एकेडेमिकका कृतिक भट्टराई, बौद्ध चिल्ड्रेन हेभन बोर्डिङ स्कुलकी आरिया ढकाल तथा ज्ञानमाला इङ्लिस स्कुलका अभिनव लिम्बुले पाँच-पाँच हजार रुपैयाँ नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । विद्यालयकी संस्थापक सहायक प्रधानाध्यापक विमला घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा गायक माधव दाहालले गीत प्रस्तुत गर्नुभएको थियो भने घटराज भट्टराईको ८५औं जन्मजयन्ती सन्दर्भमा उहाँद्वारा लिखित पद्य कविताहरू कण्ठस्थ पारेर सुनाउनुपर्ने उक्त प्रतियोगितात्मक कार्यक्रमको निर्णायकमा साहित्यकार रञ्जु दाहाल रहनुभएको थियो । विभिन्न ३९ वटा विद्यालयका विद्यार्थीहरूले भाग लिएको उक्त कवितावाचन कार्यक्रममा स्वर्णीमवाटिकाकी सम्पदा घिमिरे प्रथम, एजेज ग्रेडेड सेकेण्डरी स्कुलकी रश्मि सुनार द्वितीय र जुगल नवगुरकुल स्कुलकी कृषा घिमिरे तृतीय भएका थिए । यसैगरी रिलाइन्स इन्टरनेसनलकी युनिस्का भण्डारी, हिमशिला बोर्डिङ स्कुलकी आरभी पराजुली, रिलाइन्स कोएडकी ओजस्विनी राज्यलक्ष्मी, चार्ल्स डार्बिन स्कुलका सिमोन्सराज पोखरेल, काठमाडौं विद्यालयकी स्वीकृति कोइराला, जनकल्याण माविकी श्रेया विमली र टाइमलाइन स्कुलकी मनसा लुइँटेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । पुरस्कृत हुने विद्यार्थीहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूबाट पुरस्कार प्रदान गरिएको थियो ।
घटराज जयन्तीमा कण्ठस्थ कविता वाचन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






