काठमाडौं । नेपाल बैंकर्स संघको वार्षिक उत्सवका अवसरमा संघका निवर्तमान अध्यक्ष सन्तोष कोइरालाले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेललगायत सम्पूर्ण अतिथिलाई स्वागत गर्दै नवनिर्वाचित अध्यक्ष सुरेन्द्रराज रेग्मी, उपाध्यक्ष रामचन्द्र खनाल तथा नवनिर्वाचित सदस्यलाई बधाई ज्ञापन गर्दै आफ्नो कार्यकालमा सहयोग पुर्याउने सम्पूर्ण प्रमुख कार्यकारी अधिकृतहरूलाई धन्यवाद दिनुभएको छ । बैंकर्स संघद्वारा बैंकिङ क्षेत्रमा विशिष्ट योगदान प्रदान गर्ने व्यक्तित्वका रूपमा सम्मानित संघका पूर्वअध्यक्ष उपेन्द्र पौड्यालले चार दशकको बैंकिङ यात्रा सम्झँदै उक्त उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताउनुभयो । उहाँले नेतृत्वको वास्तविक मापन पद र संस्था नभई आफ्नो पुस्ताले अर्को पुस्तालाई के हस्तान्तरण गर्छ भन्ने कुराले हुने भएकाले अहिलेको कठिन आर्थिक चरणलाई बढ्दो निष्क्रिय कर्जा र सुस्त आर्थिक गतिविधि सिक्ने र सुधार गर्ने अवसरका रूपमा लिन आग्रह गर्नुभयो । साथै नीतिगत र भूराजनीतिक अनिश्चितताबीच पनि वृद्धि र विवेकशीलता, नवप्रवर्तन र सुशासनबीच सन्तुलन कायम राख्न सकेका संस्था नै दिगोरूपमा सफल हुने उहाँको भनाइ थियो । संघले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्याउनुभएका संघका पूर्वअध्यक्ष पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेलले अवार्ड प्रदान गर्नुभएको थियो । संघका अनुसार सम्मानित व्यक्ति पौड्यालले संघको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्याउनुभएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेलले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै नवनियुक्त पदाधिकारीलाई शुभकामना दिनुभयो । उहाँले आफ्नो कार्यकालमा मौद्रिक नीति संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतामा जोड दिइएको उल्लेख गर्दै सेयर बजार, विदेशी विनिमय, सुधार र सुपरीवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने बताउनुभयो । साथै बैंकहरूलाई मौद्रिक नीतिअनुसारका उत्पादन ल्याउन, कृषि तथा साना-मझौला उद्योगमा लगानी बढाउन, उद्यमीलाई प्रोत्साहन गर्न र शीर्ष तहभन्दा तल्लो तहका साना व्यवसायी तथा सर्वसाधारणमा केन्द्रित हुन निर्देशनसमेत दिनुभयो । बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रति जनविश्वास अझ बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषि तथा साना-मझौला उद्योगमा लगानी विस्तार, वित्तीय स्थिरता कायम राख्ने र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै अघि बढ्ने उहाँको भनाइ थियो । साथै उहाँले बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन संवादमार्फत् सबै सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैंकिङ क्षेत्रप्रति जनविश्वास बलियो बनाउने प्रतिबद्धता

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






