काठमाडौं । भारतको मेदान्त-द मेडिसिटी र नेपालको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालबीचको चिकित्सकीय सहकार्यले एक वर्ष पूरा गरेको छ । सहकार्यको एक वर्ष पूरा भएको अवसरमा काठमाडौंमा ‘क्लिनिको-सर्जिकल एक्सिलेन्स इन कोल्याबोरेसन’ विषयक स्वास्थ्यसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विशेषज्ञ चिकित्सकहरूले मुटुसम्बन्धी उपचार र छातीको शल्यचिकित्सामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको बढ्दो प्रयोगबारे चर्चा गरेका थिए । जसले सीमापार स्वास्थ्य सेवा साझेदारी, चिकित्सा प्रविधि प्रयोग र विशेषज्ञ चिकित्सकबीच ज्ञान आदानप्रदानका नयाँ सम्भावना उजागर गरेको उनीहरूको भनाइ थियो । भारतको पद्मभूषणबाट सम्मानित मेदान्तका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. नरेश त्रेहानले मुटुसम्बन्धी उपचारमा एआईले उच्च जोखिममा रहेका बिरामीको प्रारम्भिक पहिचान, चिकित्सकीय निर्णय प्रक्रिया र शल्यक्रियाको योजना निर्माणमा सहयोग पुर्याउन सक्ने बताउनुभयो । त्यस्तै, मेदान्तको छाती शल्यचिकित्सा, छातीको क्यान्सर शल्यचिकित्सा तथा फोक्सो प्रत्यारोपण संस्थानका अध्यक्ष डा. अरविन्द कुमारले छातीसम्बन्धी रोगको प्रारम्भिक पहिचान र जटिल शल्यक्रिया योजना निर्माणमा एआईको बढ्दो भूमिकाबारे प्रकाश पार्नुभयो । कार्यक्रममा किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापा, मुटु शल्यचिकित्सा विभागका प्रमुख डा. रमेश कोइराला तथा छाती र रक्तनलीसम्बन्धी शल्यचिकित्सा विशेषज्ञ डा. सम्पूर्णमान तुलाधरको सहभागिता थियो । सन् २०२६ मा न्युजविकले भारतको उत्कृष्ट अस्पतालका रूपमा सूचीकृत गरेको मेदान्तले अन्तर्राष्ट्रिय बिरामीका लागि पारदर्शी उपचार शुल्क र विशेष सहायता सेवाबारे पनि कार्यक्रममा जानकारी गराइएको थियो । विशेषगरी नेपालबाट उपचारका लागि भारत जाने बिरामीलाई लक्षित गरी उल्लेखित सेवा उपलब्ध गराउँदै आएको बताइएको छ । मेदान्त ब्राण्डअन्तर्गत सञ्चालन हुने ग्लोबल हेल्थ लिमिटेडले सन् २०२६ सेप्टेम्बर ३० सम्म तीन हजार आठ सय ११ शैय्याको क्षमतासहित भारतका विभिन्न स्थानमा छवटा अस्पताल सञ्चालन गरिरहेको छ । जसले गुवाहाटीसहित थप छवटा अस्पताल निर्माण गर्ने योजना अघि बढाएको छ । ३० भन्दा बढी चिकित्सा विशेषज्ञताका क्षेत्रमा सेवा प्रदान गर्दै आएको मेदान्तमा दुर्ई हजार पाँच सयभन्दा बढी चिकित्सक कार्यरत रहेको मेदान्तले जनाएको छ ।
मेदान्त र किस्ट हस्पिटल सहकार्यको एक वर्ष

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






