दशैंको फेरिँदो शैली

काठमाडौं।दशैं नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्परासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने महत्वपूर्ण पर्व हो। मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुख–दुःख साटासाट गर्ने चलनले यस पर्वलाई पूजाआजामा मात्र सीमित राखेको छैन। विशेष गरी माइती र मावलीबीचको सम्बन्ध प्रगाढ बनाउने, टाढिएका आफन्तलाई नजिक ल्याउने र नयाँ पुस्तालाई पारिवारिक संस्कारसँग जोड्ने माध्यमका रूपमा दशैंको विशेष महत्व छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालमा दशैं विभिन्न समुदायले आ–आफ्नै परम्परा र शैलीमा मनाउँछन्। असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र शक्तिको आराधनासँग जोडिएको यस पर्वले आपसी सद्भाव, सम्मान र सामाजिक एकताको सन्देश समेत दिन्छ। समयक्रममा सहरीकरण, बसाइँसराइ, वैदेशिक रोजगारी र प्रविधिको विस्तारले दशैं मनाउने शैलीमा परिवर्तन ल्याए पनि पारिवारिक आत्मीयता र सम्बन्धको महत्व भने उत्तिकै छ। धार्मिक मान्यताअनुसार देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले रावणमाथि विजय हासिल गरेको प्रसङ्गसँग दशैं जोडिएको छ। घटस्थापनाबाट सुरु हुने नवरात्रका धार्मिक अनुष्ठान र विजयादशमीमा टीका तथा जमरा ग्रहण गर्ने परम्पराले यसको धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गर्छ। घटस्थापनाका दिन जौलगायत अन्नका बीउ छरेर जमरा उमार्ने चलनले कृषि जीवन, प्रकृति र उर्वरतासँगको सम्बन्धलाई पनि अभिव्यक्त गर्छ। त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका पूर्व प्रमुख डा. सोमप्रसाद खतिवडाले दशैं नेपाली समाजको पहिचानसँग जोडिएको राष्ट्रिय पर्व भएको बताए। उनका अनुसार चाडपर्वका आफ्नै सांस्कृतिक र वैज्ञानिक पक्ष हुन्छन्। समयसँगै मनोरञ्जनका साधन र मनाउने शैली फेरिए पनि परम्पराले समाजलाई जोड्ने काम गरिरहेको उनले बताए। “नेपाली भनेर चिन्ने आधारमध्ये चाडबाड पनि हो। दशैं नेपालीको पहिचानसँग जोडिएको छ। राज्यका तर्फबाट यस पर्वमा ठूलो लगानी हुन्छ। शक्तिपीठमा पूजा तथा बलि दिने र गुठीबाट अनुदान प्रदान गर्ने परम्परा पनि यससँग सम्बन्धित छन्”, उनले भने, “नेपाली समाजमा बडादशैंको विशेष महत्व छ। विगतमा पनि यसको विशेष महत्व थियो। अहिले मनोरञ्जनका माध्यम र साधन थपिएका छन्। मनाउने वर्ग छ, नमनाउने वर्गले पनि यो वा त्यो रूपमा मनाएको छ।” दशैंको अर्को महत्वपूर्ण पक्ष कृषि संस्कृतिसँग यसको सम्बन्ध हो। परम्परागत नेपाली समाजमा खेतीपातीको काम सकेपछि चाडपर्व मनाउने चलन थियो। अन्न उत्पादन, सामूहिक श्रम र प्रकृतिप्रतिको निर्भरताले मानिसको जीवनशैली निर्धारण गर्ने समयमा दशैंले परिवार र समुदायलाई एकै ठाउँमा ल्याउँथ्यो। अहिले कृषि जीवनको स्वरूप फेरिए पनि जमरा राख्ने र विजयादशमीमा त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने परम्पराले पुरानो सांस्कृतिक स्मृतिलाई निरन्तरता दिएको छ। भाषाविद् तथा साहित्यकार डा. बलदेव अधिकारीले दशैंले विशेष गरी माइती, मावली र अन्य नातेदारबीचको सम्बन्धलाई जीवन्त राख्ने बताए। विगतमा रोजगारीका लागि लाहुर गएकाहरू पनि दशैं मनाउन घर फर्कने गरेको स्मरण गर्दै उनले विभिन्न समुदायमा टीका लगाउने चलन र आशीर्वाद दिने परम्परा फरक भए पनि पारिवारिक सम्बन्धको महत्व समान रहेको बताए। “दशैं सबै जातिको पर्व हो। यसले माइती र मावलीको सम्बन्धलाई प्रगाढ बनाउँछ। पहिले लामो समय तयारी गरेर सरसामान जुटाई दशैं मनाइन्थ्यो। आफन्तकहाँ जाने, टीका लगाउने र आशीर्वाद लिने चलनले कुटुम्ब सम्बन्धलाई निरन्तरता दिन्थ्यो”, उनले भने। उनका अनुसार पहिले बरखी बार्ने परिवारका सदस्य बाहेक अन्य छोराछोरी समेत मामाघर गएर टीका लगाउने गर्थे।अहिले भने नातागोतामा जुठो वा सुतक परेका विषयलाई लिएर कतिपयले चाडपर्व मनाउनै छाड्ने गरेको तथा आर्थिक क्षमता हुँदाहुँदै पनि आफन्तकहाँ जाने र टीका लगाउने परम्परालाई झन्झट मान्ने प्रवृत्ति देखिएको छ। दक्षिणा र खर्चको प्रतिस्पर्धाले चाडपर्वको आत्मीय पक्ष कमजोर हुन सक्ने उनको चिन्ता छ। “पहिले दशैंका लागि लामो समयदेखि तयारी गरिन्थ्यो। अहिले पैसा भए रोजै मासु खाने र दक्षिणामा प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढेको छ। दशैंको वास्तविक महत्व खर्च र प्रदर्शनमा होइन, सम्बन्ध र परम्परामा छ”, उनले भने। डा. अधिकारीका विचारमा सहरीकरण र बसाइँसराइका कारण परिवारका सदस्य विभिन्न स्थानमा छरिनु, कोही विदेशमा रहनु र कोही गाउँमै बस्नुले पारिवारिक भेटघाटको स्वरूप बदलिएको छ। दशैंको ऐतिहासिक तथा सांस्कृतिक महत्व नयाँ पुस्तालाई बुझाउन शिक्षा प्रणालीमा यस विषयलाई समेट्नु पर्ने उनले सुझाव दिए। परम्परागत नेपाली समाजमा दशैं सामूहिक सहभागिताको पर्व पनि थियो। गाउँघरमा पिङ हाल्ने, छरछिमेकसँग भेटघाट गर्ने, सामूहिक मनोरञ्जन गर्ने र स्थानीय मेलामा सहभागी हुने अभ्यासले सामाजिक सम्बन्धलाई बलियो बनाउँथ्यो। परिवारका ज्येष्ठ सदस्यको सम्मान, बालबालिकाप्रतिको स्नेह र आफन्तबीच सहयोग आदानप्रदान गर्ने परम्पराले समुदायमा अपनत्वको भावना विकास गर्थ्यो। तर अहिले संयुक्त परिवारको स्थानमा एकल परिवारको विस्तार, रोजगारी तथा अध्ययनका लागि विदेश जाने प्रवृत्ति र सीमित बिदाका कारण दशैं मनाउने समय र तरिका बदलिएको छ। पहिले लामो समय आफन्तसँग बसेर मनाइने पर्व अहिले कतिपय परिवारमा छोटो भेटघाटमा सीमित हुन थालेको छ। यद्यपि, विदेशमा रहेका आफन्तसँग भिडियो कलमार्फत सम्पर्क गर्ने र सामाजिक सञ्जालबाट शुभकामना आदानप्रदान गर्ने चलनले भौगोलिक दूरीका बाबजुद सम्बन्ध कायम राख्न सहयोग पुर्याएको छ। राष्ट्रिय जनसाहित्यिक संघ नेपालका महासचिव डा. कृष्ण सुवेदी ‘भारद्वाज मित्र’ले संस्कृतिका सकारात्मक पक्षलाई संरक्षण गर्दै समयअनुकूल सुधार गर्नु आवश्यक रहेको बताए। उनका अनुसार चाडपर्वलाई अनावश्यक खर्च, ऋणको बोझ र देखावटी प्रतिस्पर्धाको माध्यम बनाउनुको सट्टा आत्मीयता, सहयोग र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने अवसरका रूपमा विकास गर्नुपर्छ। प्रगतिशील लेखक संघका कोषाध्यक्ष समेत रहेका डा. सुवेदीले सांस्कृतिक विविधतालाई विभाजनको आधार नभई आपसी सम्मान र साझा समृद्धिको स्रोतका रूपमा लिनुपर्ने बताए। संस्कृतिका नाममा हुने विभेद र अमानवीय अभ्यास हटाउँदै समानता, सहअस्तित्व, स्वतन्त्रता र सामाजिक न्यायका मूल्यलाई बलियो बनाउनु पर्नेमा उनले जोड दिए। दशैंको स्वरूपमा उपभोक्तावादी जीवनशैलीको प्रभाव पनि देखिएको छ। नयाँ लुगा, मीठा परिकार र उपहार आदानप्रदान परम्परागत रूपमा चाडपर्वका हिस्सा भए पनि महँगो किनमेल र अरूको देखासिकीले कतिपय परिवारमा आर्थिक दबाब सिर्जना गरेको छ। चाडपर्वको खुसी खर्चको आकारमा नभई सम्बन्धको न्यानोपन, सहयोग र पारिवारिक सन्तुष्टिमा निर्भर हुन्छ भन्ने चेतना आवश्यक छ। त्यस्तै, पशुबलि, जुवातास, मदिराको अत्यधिक प्रयोग र अनावश्यक खर्च जस्ता विषयमा समाजमा विभिन्न बहस हुने गरेका छन्। धार्मिक आस्था र सांस्कृतिक परम्पराको सम्मान गर्दै जिम्मेवार व्यवहार अपनाउनु तथा चाडपर्वलाई सामाजिक हितसँग जोड्नु आवश्यक छ। घरको सरसफाइ, परिकार तयारी र पाहुनाको सत्कारमा महिलामाथि मात्रै बढी जिम्मेवारी पर्ने अवस्थालाई पनि परिवर्तन गर्नुपर्छ। परिवारका सबै सदस्यको सहभागिता र घरायसी कामको न्यायोचित बाँडफाँटले पर्वलाई अझ समावेशी र उल्लासमय बनाउन सक्छ। दशैंको सांस्कृतिक महत्व जोगाउन यसको अर्थ र परम्पराबारे नयाँ पुस्तालाई जानकारी गराउनु आवश्यक छ। टीका र जमराको महत्व, देवी आराधनाको परम्परा, मान्यजनको सम्मान र माइती–मावलीसँगको सम्बन्धको मूल्यबारे परिवारमै संवाद गर्न सकिन्छ। स्थानीय कला, लोकगीत, मौलिक परिकार, पिङ र सामुदायिक भेटघाटलाई निरन्तरता दिँदा सांस्कृतिक मौलिकता संरक्षण गर्न सहयोग पुग्छ। दशैंले सिकाउने आत्मीयता, पारिवारिक एकता, आपसी सम्मान र सहयोगका मूल्य कुनै एउटा समुदायमा मात्र सीमित छैनन्। आर्थिक रूपमा कमजोर परिवार, ज्येष्ठ नागरिक र एक्लो जीवन बिताइरहेका व्यक्तिलाई सहयोग गर्ने अभ्यासले पर्वको सामाजिक महत्वलाई अझ गहिरो बनाउन सक्छ। आफ्ना परम्पराको संरक्षणसँगै अन्य समुदायका चाडपर्व र विश्वासप्रति सम्मान व्यक्त गर्न सके सामाजिक सद्भाव र राष्ट्रिय एकता पनि बलियो बन्न सक्छ। यसरी दशैंलाई धार्मिक अनुष्ठान र औपचारिक भेटघाटमा मात्र सीमित नराखी पारिवारिक सम्बन्ध सुदृढ गर्ने, सांस्कृतिक पहिचान जोगाउने र सामाजिक सद्भाव बढाउने अवसरका रूपमा लिन आवश्यक छ। माइती, मावली र आफन्तबीचको आत्मीयता कायम राख्दै परम्पराका सकारात्मक पक्षलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके दशैंको मौलिकता र सामाजिक महत्व पुस्तौंसम्म जीवन्त रहन सक्छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

राजदेवी मन्दिरमा भक्तजनको भीड : साँझ ८ बजेदेखि बलि प्रदान गरिने
दशैंको आज आठौं दिन शक्तिपीठहरुमा श्रद्धालुभक्तजनहरुको भीड लागेको छ । यसै क्रममा जनकपुरधामस्थित राजदेवी मन्दिरमा हिजो राती १२ बजेदेखि नै प्रसाद चढाउने र खोँइच भर्ने महिलाहरुको भीड थामिनसक्नु छ । ...

झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगे केपी ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगेका छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता समेत हरेका खनालको स्वास्थ्यमा... ...

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै
‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने योजना अझै छलफलका क्रममा रहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएका छन् । इराकको राजधानी बग्दादमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को... ...

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने
नारायणगढ (चितवन) । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । अस्पतालका निर्देशक प्रा.डा. गोपेन्द्र देवले बडादसैँको विशेष दिनका रुपमा लिइने अष्टमीदेखि एकादशीसम्मका चार दिन पनि बिरामीले सेवा पाउन सकुन् भनी सेवा ...


