काठमाडौं। तिहारको अवसरमा घर, कार्यालय र पसलहरू झिलिमिली बत्तीले सजिएका छन्। केही वर्षअघिसम्म शहरका ठूला भवनमा मात्र सीमित विद्युतीय बत्तीको प्रयोग अहिले ग्रामीण भेगमा पनि व्यापक बनेको छ। पहिले माटोको दियो र टुकीमा निर्भर रहेका गाउँघरमा अहिले विद्युत् सुविधा विस्तार भएसँगै झिलिमिली बत्तीको प्रयोग बढेको हो। यद्यपि, चाडपर्वमा प्रयोग हुने यी बत्तीहरूको बजार भने पूर्णरूपमा आयातमा निर्भर छ। नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अनुसार कुल वार्षिक कारोबारको ८० देखि ८५ प्रतिशत हिस्सा तिहारको समयमा हुने गर्दछ। चालू आर्थिक वर्षको साउनदेखि असोजसम्ममा मात्र नेपालले ५५ करोड ९३ लाख ५७ हजार रुपैयाँ बराबरका ३० लाख ५४ हजार ४९२ थान विद्युतीय बत्ती आयात गरेको छ। यसमध्ये एलईडी बत्तीको हिस्सा ३१ करोड १६ लाख ७३ हजार रुपैयाँ रहेको छ। भन्सार विभागको तथ्यांक अनुसार चीन र भारतबाट सबैभन्दा बढी बत्ती आयात हुने गरेको छ। चीनबाट मात्र २४ करोड ३१ लाख ६९ हजार रुपैयाँभन्दा बढीको बत्ती भित्रिएको छ भने भारतबाट ६ करोड ८२ लाख २७ हजार रुपैयाँ बराबरको आयात भएको छ। यसबाहेक अमेरिका, दक्षिण कोरिया, ताइवान, यूएई, कुवेत, कतार, फ्रान्स, बेलायत र हङकङबाट पनि थोरै परिमाणमा बत्ती आयात हुने गरेको छ। तिहार नजिकिँदै गर्दा सजावटका सामग्रीको आयात ६५ करोड रुपैयाँ नाघेको व्यवसायीहरूको अनुमान छ। बजारमा विशेषगरी वाटरफल, रोप लाइट, स्ट्रिप लाइट र विद्युतीय दियोको माग उच्च छ। नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका निवर्तमान अध्यक्ष रेशम देवकोटाका अनुसार विद्युतीय बत्तीको प्रयोग गाउँसम्म पुगे पनि युवा जनशक्ति विदेशिने क्रम बढेका कारण पछिल्ला वर्षहरूमा यसको खपत वृद्धिदर भने सुस्ताएको छ।
तिहारमा झिलिमिली बत्तीको प्रयोग बढ्दो

Read Complete Original Article
Published originally on नेपालन्युज






