तपाईंले दिएको १७ अर्ब बालेन सरकारले कसरी खर्चिदै छ ?

काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीले देशको मन हल्लाएपछि देश–विदेशबाट सहयोगको ओइरो लाग्यो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब रुपैयाँभन्दा बढी जम्मा भए । तर, यति ठूलो रकम जम्मा हुँदा पनि पीडितले कति राहत पाए त ? पैसा कहाँ खर्च भइरहेको छ ? अनि पुनर्निर्माणका लागि यो रकम पर्याप्त छ त ? यी प्रश्न अहिले स्वाभाविक रूपमा उठिरहेका छन् । हालसम्म कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको खातामा एक अर्ब रुपैयाँ निकासा भएको छ । त्यसमध्ये ३७ करोड रुपैयाँ विभिन्न जिल्लामा पठाइएको अधिकारीहरूले बताएका छन् । अर्थात्, कोषमा जम्मा भएको रकमको ठूलो हिस्सा अझै खर्च हुन बाँकी रहेको देखिन्छ । तर, यसको अर्थ बाँकी रकम प्रयोगविहीन छ भन्ने होइन । राहत वितरण, उद्धार, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र दीर्घकालीन पुनरुत्थानका लागि खर्चको प्रक्रिया अघि बढाउनुपर्ने अवस्था छ । मुख्य प्रश्न भनेको रकम कहिले, कुन आधारमा र कति प्रभावकारी ढङ्गले वास्तविक पीडितसम्म पुग्छ भन्ने हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार कोषबाट प्राप्त रकममध्ये ३७ करोड रुपैयाँ विभिन्न जिल्लामा पठाइसकिएको छ । यसमा राहत वितरण, सडकको ट्र्याक खोल्ने र अन्य अत्यावश्यक कामका लागि भएको खर्च समावेश छ । प्राधिकरणले १४ वटा प्रभावित स्थानीय तहमा मात्रै १३ करोड रुपैयाँ पठाएको जनाएको छ । उक्त रकमको ठूलो हिस्सा घरबार गुमाएका परिवारलाई घरभाडा उपलब्ध गराउन प्रयोग भइरहेको अधिकारीहरूको भनाइ छ । त्यसैगरी सरकारले परिवारको सदस्य सङ्ख्याका आधारमा मासिक घरभाडा उपलब्ध गराउने व्यवस्था गरेको छ । जहाँ पाँच सदस्य भएको परिवारलाई मासिक १५ हजार रुपैयाँ, छ सदस्य भएको परिवारलाई मासिक १७ हजार रुपैयाँ र सात सदस्य भएको परिवारलाई मासिक १९ हजार रुपैयाँ उपलब्ध गराएको छ । यसका अतिरिक्त उद्धारमा आवश्यक सामग्री खरिद र प्रभावित क्षेत्रमा सडकको पहुँच पुनःस्थापना गर्न पनि रकम खर्च भइरहेको छ । त्यसो भए हेलिकप्टर उडाएर मात्रै १३–१४ अर्ब खर्च भएको कुरा के हो ?विपद्पछि उद्धारका लागि हेलिकप्टर परिचालन गर्दा ठूलो रकम खर्च भएको चर्चा चल्यो । सञ्चारमाध्यममा हेलिकप्टर खर्चका विषयमा आएका विवरणले दाताहरूमा समेत अन्योल सिर्जना ग¥यो । तर प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीका अनुसार हेलिकप्टर परिचालनमा १३–१४ अर्ब रुपैयाँ खर्च भएको भन्ने बुझाइ सही होइन । उनका अनुसार सरकारले हेलिकप्टर परिचालनमा अधिकतम २० करोड रुपैयाँ खर्च गर्न सकिने सीमा तोकेको थियो र वास्तविक खर्च उक्त सीमाभन्दा पनि निकै कम छ । हेलिकप्टर परिचालनको अन्तिम बिल र भुक्तानी विवरण सार्वजनिक भएपछि मात्रै वास्तविक खर्चको यकिन हिसाब स्पष्ट हुन्छ । प्राधिकरणका अनुसार हेलिकप्टरको भुक्तानी प्रक्रिया सुरु भएको छ । नेपाली सेनाका हेलिकप्टरको भुक्तानी प्रक्रिया भने फरक छ । यो विषयमा सार्वजनिक विश्वास कायम राख्न सरकारले हेलिकप्टर परिचालनको कुल उडान सङ्ख्या, सेवा प्रदायक, प्रतिउडान खर्च, प्राप्त बिल र भुक्तानीको अवस्था सार्वजनिक गर्नु उपयुक्त हुन्छ । अब कुरा गरौं कोषको पैसा कहाँ खर्च हुँदैछ त भनेर ?अधिकारीहरूका अनुसार जम्मा भएको रकम मुख्यतः तीन क्षेत्रमा परिचालन गर्ने योजना छ । पहिलो पीडित परिवारलाई राहतः बाढीमा परी बेपत्ता भएकाहरूको कानुनी रूपमा मृत्यु पुष्टि भएपछि सम्बन्धित परिवारलाई राहत उपलब्ध गराइनेछ । सरकारी व्यवस्थाअनुसार मृतकको परिवारलाई दुई लाख रुपैयाँ र एउटै परिवारमा थप मृत्यु भएमा प्रत्येक अतिरिक्त मृतकका लागि एक लाख रुपैयाँ थप उपलब्ध गराउने व्यवस्था रहेको गृहसचिव शर्माले बताएका छन् । दोस्रो अन्य प्रभावित जिल्लामा सहायताः विपद् राहत भोटेकोशी–त्रिशूली करिडोरमा मात्रै सीमित रहने छैन । हालैका वर्षा र बाढीपहिरोबाट प्रभावित गण्डकी प्रदेशका जिल्लादेखि इलाम र पाँचथरसम्मका क्षेत्रमा आवश्यकताका आधारमा राहत तथा पुनर्निर्माणका लागि रकम परिचालन गर्ने योजना छ । तेस्रो दीर्घकालीन पुनर्निर्माणः भत्किएका सडक, पुल, जलविद्युत् आयोजना, घर तथा सार्वजनिक संरचनाको पुनर्निर्माणमा ठूलो रकम आवश्यक पर्नेछ । तत्काल राहतपछि बाँकी रकम पुनरुत्थान र पुनर्निर्माणमा परिचालन गर्ने सरकारको योजना छ ।हालसम्म एक हजार ४५५ जनाको शव फेला परेको र पाँच हजार २८५ जना अझै बेपत्ता रहेको उल्लेख छ । ४५ दिनदेखि बेपत्ता रहेकालाई मृत मान्ने नयाँ व्यवस्थापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर राहत वितरण अघि बढाउने तयारी रहेको अधिकारीहरूले बताएका छन् । यसको अर्थ, राहत वितरणमा ढिलाइ हुनुको एउटा कारण पीडितको पहिचान र कानुनी प्रक्रिया पनि हो । तर प्रक्रिया पूरा हुनासाथ सहायता छिटो उपलब्ध गराउने र प्रभावित परिवारलाई अनावश्यक प्रशासनिक झन्झटबाट जोगाउने जिम्मेवारी सरकारकै हो । त्यसो भए १७ अर्ब पूर्ण निमार्णका लागि पर्याप्त छ त ? यहीँबाट विपद् पुनर्निर्माणको वास्तविक चुनौती देखिन्छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्रारम्भिक क्षति तथा आवश्यकता आकलनअनुसार भोटेकोशी बाढीपछिको पुनर्निर्माण र पुनरुत्थानका लागि मात्र करिब ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । प्रत्यक्ष भौतिक क्षति तथा आर्थिक नोक्सानी करिब ४ खर्ब ८ अर्ब रुपैयाँ आकलन गरिएको छ । अर्थात्, कोषमा १७ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भए पनि बाढीपछिको समग्र पुनर्निर्माणका लागि आवश्यक रकमको सानो हिस्सा मात्रै उपलब्ध छ । सरकारी आकलनअनुसार कुल आवश्यकतामध्ये करिब ४ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ पूर्वाधार क्षेत्रमा मात्रै चाहिन्छ । त्यस्तै ऊर्जा क्षेत्रको पुनःस्थापनाका लागि करिब ३ खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ । सडक र पुलको पुनर्निर्माणमा मात्रै करिब ७३ अर्ब ३४ करोड रुपैयाँ लाग्ने आकलन गरिएको छ । यसले के देखाउँछ भने राहत कोषमा जम्मा भएको रकम पीडितलाई तत्काल सहायता दिन महत्वपूर्ण भए पनि समग्र पुनर्निर्माणको खर्च धान्न पर्याप्त छैन । त्यसैले सरकारलाई आन्तरिक स्रोत, बजेट, विकास साझेदार र अन्य वित्तीय व्यवस्थापनबाट थप रकम जुटाउनुपर्ने हुन्छ । समग्रमा प्रधानमन्त्रीका राहत कोषहरूमा १७ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा हुनु विपद्मा परेका नागरिकप्रति नेपाली समाजले देखाएको ऐक्यबद्धताको उदाहरण हो । तर, सहयोग जुटाउनु पहिलो चरण मात्रै हो । त्यसलाई आवश्यकतामा परेका परिवारसम्म समयमै पु¥याउनु, क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्नु र प्रत्येक रुपैयाँको हिसाब सार्वजनिक गर्नु सरकारको वास्तविक परीक्षा हो । अहिलेसम्म सार्वजनिक विवरणअनुसार एक अर्ब रुपैयाँ निकासा भएको छ, ३७ करोड रुपैयाँ विभिन्न जिल्लामा पठाइएको छ र प्रभावित परिवारका लागि घरभाडासहितका राहत कार्यक्रम सञ्चालन भइरहेका छन् । तर ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढीको पुनर्निर्माण आवश्यकता हेर्दा आगामी दिनमा अझ ठूलो वित्तीय चुनौती देखिन्छ । त्यसैले अहिलेको मूल प्रश्न ‘कोषमा कति पैसा जम्मा भयो भन्नै ?’ मात्रै होइन । कति पीडितले राहत पाए, कति रकम कहाँ खर्च भयो र पुनर्निर्माणको काम कहिले पूरा हुन्छ ? भन्ने महत्वपूर्ण हो । त्यसैले सहयोग गर्ने प्रत्येक नागरिकले आफ्नो योगदानको सदुपयोग भएको देख्न पाउनुपर्छ । विपद्को घाउ निको पार्न रकम परिचालन जति आवश्यक छ, त्यसको पारदर्शी हिसाबकिताब पनि उत्तिकै आवश्यक छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

प्राकृतिक स्रोतको उपयोगबाट करोडौं आम्दानी
कास्की।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी संकलन शुल्कलगायत प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा तीन करोड ८६ लाख ५१ हजार ९०८ संकलन गरेको छ। कार्यालयले जडीबुटी, काठ दाउरा आदिको संकलन तथा उपयोगबाट हुने उक्त आम्दानी गरेको हो। आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार कार्यालयले आव २०८१/८२ मा पाँच करोड ७७ लाख १६ हजार ७८१ रुपैंयाँ र आव २०८०/८१ मा तीन करोड ९० ...
_jngkj3r13m_7PHWnhfPpk.jpg)
साउदीमा ड्रोन आक्रमणबाट नेपालीको मृत्युप्रति कांग्रेसको ध्यानाकर्षण : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन सरकारसँग माग
काठमाडौँ । साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले सो घटनाप्रति... ...
![[अर्काइभ] यस्तो थियो २६ वर्षअघि राजा वीरेन्द्रले वाचन गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/birendra-s-kps-kpr-21102026060317-watermarked.jpg)
[अर्काइभ] यस्तो थियो २६ वर्षअघि राजा वीरेन्द्रले वाचन गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम
माओवादी सशस्त्र आन्दोलन मुलुकको सबैभन्दा ठूलो चुनौती भइरहेका बेला २०५७ जेठ ६ मा राजा वीरेन्द्रले सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा वाचन गरेका थिए । शान्ति सुरक्षा, सुशासन र माओवादी गतिविधि नियन्त्रणलाई प्राथमिकता दिइएको उक्त कार्यक्रममा वैदेशिक लगानी, जलस्रोत विकास, शिक्षा र स्वास्थ्यका विषय पनि समेटिएका थिए । ...

अटो दुर्घटनामा एकको मृत्यु, दुई घाइते
अनिल पराजुलीहेटौँडा, कात्तिक ५ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिका –५, श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।... ...


