काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका लागि मौसम तथा जलवायु तथ्याङ्कको उपलब्धता मात्र पर्याप्त नभई त्यसलाई वित्तीय निर्णयसँग जोड्नुपर्ने बताएका छन्। टर्कीको आन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत मंगलबार युएनएफसीसीसी प्याभिलियनमा आयोजित सिस्टम्याटिक अब्जर्भेसन्स फाइनान्सिङ फ्यासिलिटी (एसओएफएफ) को उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्। एसओएफएफ मौसम तथा जलवायु तथ्याङ्कको अन्तर घटाउन संयुक्त राष्ट्रसंघको समर्थनमा स्थापित कोष हो। सम्बोधनका क्रममा अर्थमन्त्री वाग्लेले गत अगस्ट २६ मा नेपालको उच्च हिमाली क्षेत्रमा भोटेकोशी–त्रिशूली करिडोरमाथि भएको चट्टानी पहिरो र त्यसबाट आएको लेदोसहितको बाढीको उदाहरण दिँदै नेपालसँग उपलब्ध पूर्वसूचना तथा वित्तीय उपकरणले घटनाको वास्तविक जोखिम पहिचान गर्न नसकेको बताए। “त्यसो भए एक जना अर्थमन्त्री यो मञ्चमा किन छ? यस वर्ष अगस्ट २६ को बिहान नेपालको उच्च हिमाली क्षेत्रमा भोटेकोशी–त्रिशूली करिडोरमाथिको चट्टानी भित्तो भत्कियो र लेदोसहितको बाढीमा परिणत भयो। त्यस बिहान नेपालसँग भएका हरेक उपकरण, अर्थात् हाम्रो ऋण सुविधाको ट्रिगर, हामीले किन्न सक्ने कुनै पनि बीमाका ट्रिगर र हाम्रो पूर्वसूचना शृङ्खलाका मापन यन्त्र, सबैले वर्षा र नदीको सतह पढ्थे। पानी परेन,” उनले भने। नेपाल तथ्याङ्कविहीन देश नभएको स्पष्ट गर्दै उनले समस्या तथ्याङ्कको अभावभन्दा पनि उपलब्ध तथ्याङ्क र निर्णय प्रक्रियाबीचको अन्तरमा रहेको बताए। “नेपाल तथ्याङ्क नभएको देश होइन। मैले औँल्याउन चाहेको अन्तर देश र उसको तथ्याङ्कबीचको होइन, तथ्याङ्क र निर्णयबीचको हो,” उनले भने। उनका अनुसार मौसम तथा जलवायु अवलोकनबाट प्राप्त तथ्याङ्क हरेक वित्तीय उपकरणको आधार हो। तथ्याङ्क नहुँदा जोखिमअनुसार वित्तीय उपकरण सक्रिय हुने अवस्था नबन्ने र त्यसको परिणाम महँगो ऋणमा निर्भर हुनुपर्ने अवस्था आउने उनले बताए। “अवलोकन नै हरेक वित्तीय उपकरणको धितो हो। तथ्याङ्क छैन भने ट्रिगर छैन। ट्रिगर छैन भने प्यारामेट्रिक बीमा छैन। बीमा छैन भने पूर्वव्यवस्थित वित्त छैन। छ त केवल ऋणका रूपमा आउने वित्त। महँगो ऋण,” वाग्लेले भने। जलवायुजन्य जोखिमका लागि नेपाल आफैँ एउटा प्रयोगशाला बनिसकेको उल्लेख गर्दै उनले अब नेपालले त्यसबाट सिकेर वैज्ञानिक तथा पूर्वानुमानमा आधारित जोखिम व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने बताए। “यस प्रकारको जोखिमका लागि नेपाल पहिले नै प्रयोगशाला भइसकेको छ। प्रश्न यो हो कि नेपाल वैज्ञानिक पनि बन्नेछ कि छैन,” उनले भने। जलवायु परिवर्तनका कारण जोखिम बढ्दै जाँदा त्यसको सबैभन्दा ठूलो असर सामना गर्नुपर्ने देशहरूसँग पर्याप्त तथ्याङ्क, पूर्वसूचना र वित्तीय सुरक्षा उपकरणको अभाव रहेको उनले बताए। “तातो हुँदै गएको विश्व अन्धकारमा उडिरहेको छ, र त्यसको भार सबैभन्दा कम थेग्न सक्ने देशहरू नै सबैभन्दा बढी अन्धकारमा उडिरहेका छन्,” उनले भने। अर्थमन्त्री वाग्लेले मौसम तथा जलवायु अवलोकन प्रणालीको आधारभूत संरचनामा लगानी बढाउनुपर्नेमा जोड दिए। त्यसमाथि वित्तीय तथा जोखिम व्यवस्थापनका संयन्त्र विकास गर्दै जलवायु जोखिमबाट हुने क्षति न्यूनीकरण गर्नुपर्ने उनको भनाइ छ। “आधार तहमा लगानी गरौँ। त्यसमाथि हामी मिलेर निर्माण गरौँ, ताकि यो मञ्चमा आउने अर्को अर्थमन्त्रीसँग वर्षा मात्र होइन, पहाडलाई पनि पढ्ने ट्रिगर होस्,” उनले भने। नेपालले सन् २०२६ मा भोगेको जलवायुजन्य विपद्बाट सिकेका पाठलाई विश्वव्यापी जलवायु वित्त र जोखिम व्यवस्थापन प्रणालीमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले त्यस्ता घटना अन्य देशले दोहोर्याएर भोग्न नपरोस् भन्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। “नेपालले सन् २०२६ मा सिकेका पाठलाई सार्थक बनाऔँ, ताकि कुनै पनि देशले ती पाठ फेरि सिक्नु नपरोस्,” उनले भने।
तथ्याङ्क र निर्णयबीचको अन्तर घटाउनुपर्नेमा अर्थमन्त्री वाग्लेको जोड

Read Complete Original Article
Published originally on टक्सार






