Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

डिजिटल प्लेटफर्ममा नयाँ फिल्म र सिरिजको बहार

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिजिटल प्लेटफर्ममा नयाँ फिल्म र सिरिजको बहार
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नोभेम्बर महिनाको अन्त्यसँगै ओटिटी प्लेटफर्महरूमा दर्शकका लागि विविध विधाका फिल्म तथा सिरिज सार्वजनिक भएका छन् । सस्पेन्स थ्रिलर, सुपरहिरो एक्सन, राजनीतिक दाउपेच, साइन्स फिक्सन र एनिमेदेखि आध्यात्मिक तथा रोमान्टिक कथासम्मका सामग्रीले डिजिटल बजारलाई यो साता थप रोमाञ्चक बनाएका छन् । नेटफ्लिक्स, प्राइम भिडियो, जियोहटस्टार र सोनी लिभलगायत प्लेटफर्ममा आएका यी नयाँ सामग्रीले फरक रुचि भएका दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । नोभेम्बरको अन्तिम साता ओटिटी दर्शकका लागि विधागत विविधताले भरिएको देखिन्छ । पुराना रहस्यको पर्दाफासदेखि राजनीतिक षड्यन्त्र, अन्तरिक्षको रोमाञ्च, सुपरहिरोको संघर्ष र प्रेमिल यात्रासम्मका कथाले दर्शकलाई आफ्नो रुचि अनुसार सामग्री छनोट गर्ने अवसर दिएका छन् । यो साता सबैभन्दा बढी प्रतीक्षा गरिएको सामग्रीमध्ये लोकप्रिय क्राइम थ्रिलर फ्रेन्चाइजीको तेस्रो तथा अन्तिम अध्याय ‘दृश्यम ३’ रहेको छ । नोभेम्बर २७ देखि नेटफ्लिक्समा उपलब्ध यस चलचित्रमा विजय सलगाँवकर आफ्नो परिवारलाई जोगाउन फेरि एकपटक बुद्धि र रणनीतिको सहारा लिनुहुन्छ । अनुसन्धान टोलीको हातमा नयाँ प्रमाण परेपछि पुराना रहस्यहरू खुल्ने खतरा बढ्दै जान्छ । अजय देवगन, तब्बु र श्रिया सरनसँगै जयदीप अहलावतको प्रवेशले चलचित्रको कथालाई थप रहस्यमय बनाएको छ । फ्रेन्चाइजीको अन्तिम अध्याय भएकाले यसले दर्शकको उत्सुकता बढाएको छ । राजनीतिक कथावस्तु मन पराउने दर्शकका लागि ‘चिरैया’ अर्को आकर्षण बनेको छ । नोभेम्बर २७ मा जियोहटस्टारमा सार्वजनिक भएको यो सिरिज नवीन चौधरीका दुई उपन्यासमा आधारित छ भने यसको लेखन रितेश शाहले गर्नुभएको हो । कलेजको छात्र राजनीतिबाट सुरु हुने कथाले क्रमशः राज्यको सत्ता संघर्ष र मुख्यमन्त्रीको कुर्सी हल्लाउने षड्यन्त्रसम्मको यात्रा तय गर्छ । विद्यार्थी नेता मयूर भारद्वाज र आदिल जफर खानबीचको चुनावी प्रतिस्पर्धाले राजनीतिक महत्त्वाकांक्षा, शक्ति र रणनीतिको जटिल खेललाई उजागर गर्छ । सिरिजमा गगन अरोरा, अंकित सिवाच र अञ्जलि तत्रारीलगायत कलाकारको अभिनय छ । सस्पेन्स र सम्बन्धको जटिलता समेटिएको ‘द हन्टिङ वाइभ्स’ को दोस्रो सिजन पनि नोभेम्बर २६ देखि नेटफ्लिक्समा उपलब्ध भएको छ । पहिलो सिजनको रहस्यलाई निरन्तरता दिने यसपटकको कथामा सोफी र मार्गो एकअर्काका प्रतिद्वन्द्वी बनेका छन् । सहरमा नयाँ शत्रुको आगमन र विगतका दबिएका रहस्य बाहिरिन थालेपछि उनीहरूबीचको सम्बन्ध थप जटिल बन्छ । सत्ता, विश्वासघात र व्यक्तिगत स्वार्थको द्वन्द्वले दुवैलाई फेरि सहकार्य गर्न बाध्य बनाउने परिस्थिति सिर्जना गर्छ । सुपरहिरो विधाका पारखीका लागि ‘स्पाइडरम्यान : ब्राण्ड न्यू डे’ विशेष आकर्षण बन्नसक्छ । नोभेम्बर २६ मा नेटफ्लिक्समा सार्वजनिक भएको यस चलचित्रको कथामा डक्टर स्ट्रेन्जको मन्त्रपछि संसारले पिटर पार्करलाई बिर्सिसकेको चार वर्ष बितिसकेको छ । एक्लो जीवन बिताइरहेका पिटरमा अनौठा तथा पीडादायी शक्तिहरू देखा पर्न थाल्छन् । यसको कारण पत्ता लगाउने क्रममा उहाँ ब्रुस ब्यानरसम्म पुग्नुहुन्छ । तर, जिन ग्रेसँग सम्बन्धित ठूलो खतरा सामना गर्न उहाँलाई पनिसरसँग सहकार्य गर्नुपर्ने हुन्छ । टम हल्याण्ड, मार्क रफ्यालो, सेडी सिंक र जोन बर्नथलको अभिनय रहेको यस चलचित्रले सुपरहिरो कथामा नयाँ मोड प्रस्तुत गरेको छ । जियोहटष्टारमा नोभेम्बर २६ मा सार्वजनिक भएको ‘सुपरगर्ल’ पनि यो साताको चर्चित चलचित्रमध्ये एक हो । चर्चित कमिक शृंखला ‘वुमन अफ टुमरो’मा आधारित यस चलचित्रमा मिली एल्ककले कारा जोर–एल अर्थात् सुपरगर्लको भूमिका निर्वाह गर्नुभएको छ । आफ्नो कुकुर क्रिप्टोसँग ब्रह्माण्ड यात्रामा निस्किनुभएकी काराको भेट रुथी मेरी नोलसँग हुन्छ । रुथीको परिवारको विनाश र क्रिप्टोमाथि भएको आक्रमणको बदला लिन उहाँहरू क्रेम अफ द येलो हिल्सविरुद्ध एउटै अभियानमा अघि बढ्नुहुन्छ । अन्तरिक्ष यात्रा, प्रतिशोध र सुपरहिरो एक्सनको संयोजन चलचित्रको मुख्य आकर्षण हो । साइन्स फिक्सनका दर्शकका लागि प्राइम भिडियोमा नोभेम्बर २५ देखि उपलब्ध ‘ब्लेड रनर २०९९’ अर्को प्रतीक्षित सामग्री बनेको छ । भविष्यको लस एञ्जलसमा आधारित यस सिरिजमा मिसेल योह र हन्टर सेफर मुख्य भूमिकामा हुनुहुन्छ । फरार युवतीबाट ब्लेड रनर बन्नुभएकी कोरा र जीवनको अन्तिम समय नजिकिँदै गर्नुभएकी रेप्लिकेन्ट ओल्भेन एक बेपत्ता व्यक्तिको खोजीमा निस्कनुहुन्छ । खोजीका क्रममा उहाँहरूले सहरको मात्र नभई समग्र अस्तित्वकै लागि खतरा बन्नसक्ने रहस्य पत्ता लगाउनुहुन्छ । भविष्यको प्रविधि, मानवीय अस्तित्व र कृत्रिम जीवनको प्रश्नलाई कथाले रोचक ढंगले प्रस्तुत गरेको छ । एनिमे प्रेमीका लागि नेटफ्लिक्समा नोभेम्बर २६ मा सार्वजनिक भएको ‘द डार्क सन’ नयाँ विकल्प बनेको छ । कासुमी यासुदाको मंगामा आधारित यस सिरिजले सूर्यको प्रकाश हराएको एउटा काल्पनिक संसारको कथा भन्छ । अक्सिजनको अभावबाट बच्न मानिसहरू आफूलाई बोटबिरुवामा रूपान्तरण गर्ने ‘ट्रान्सफ्लोरेसन’ प्रक्रियाबाट गुज्रिनुपर्ने बाध्यतामा छन् । फरक अवधारणा र रहस्यमय संसार समेटिएको यस सिरिजका १२ वटै एपिसोड जापानीसँगै हिन्दी, तमिल, तेलुगु र अंग्रेजी भाषामा उपलब्ध छन् । आध्यात्मिक र पारिवारिक कथामा रुचि राख्ने दर्शकका लागि सोनी लिभमा नोभेम्बर २७ देखि ‘नीम करोली बाबा’ सार्वजनिक भएको छ । विशाल चतुर्वेदी निर्देशित यस चलचित्रले नीम करोली बाबाको जीवन र उहाँका शिक्षाबाट प्रेरणा लिएको छ । बक्स अफिसमा राम्रो प्रदर्शन गरेको यस चलचित्रले आस्था, भक्ति, निःस्वार्थ सेवा र मानसिक शान्तिजस्ता विषयलाई केन्द्रमा राखेको छ । मनोरञ्जनसँगै आध्यात्मिक सन्देश खोज्ने दर्शकका लागि यो चलचित्र उपयुक्त विकल्प हुनसक्छ । यसैबीच, हल्का मनोरञ्जन र प्रेमकथा मन पराउने दर्शकका लागि प्राइम भिडियोमा नोभेम्बर २३ देखि ‘क्रिसमस फ्लाइट’ उपलब्ध भएको छ । हिमपातका कारण उडान रद्द भएपछि दुई कट्टर प्रतिस्पर्धी पब्लिसिङ एडिटर रायन र हन्ना एउटै भाडाको कारमा न्यूयोर्कतर्फ यात्रा गर्न बाध्य हुन्छनुहुन्छ । यात्राका क्रममा उहाँहरूबीच हुने रमाइलो नोकझोंक, असमझदारी र क्रमशः विकसित हुँदैजाने आत्मीयताले कथालाई रोचक बनाउँछ । क्रिस्टोफर ब्रिनी र मिसेल र्‍यान्डोल्फ मुख्य भूमिकामा रहेको यस रोमान्टिक कमेडीले प्रेम र हास्यको मिश्रण प्रस्तुत गर्छ । समग्रमा, नोभेम्बरको अन्तिम साता ओटिटी दर्शकका लागि विधागत विविधताले भरिएको देखिन्छ । पुराना रहस्यको पर्दाफासदेखि राजनीतिक षड्यन्त्र, अन्तरिक्षको रोमाञ्च, सुपरहिरोको संघर्ष र प्रेमिल यात्रासम्मका कथाले दर्शकलाई आफ्नो रुचि अनुसार सामग्री छनोट गर्ने अवसर दिएका छन् । मनोरञ्जनको माध्यमका रूपमा ओटीटी प्लेटफर्मको बढ्दो प्रभावसँगै एकै सातामा यति धेरै विधाका सामग्री सार्वजनिक हुनुले डिजिटल मनोरञ्जन बजार थप प्रतिस्पर्धी र विविध बन्दै गएको संकेतसमेत गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सिद्धार्थ र भिसाबीच सम्झौता
Latest NewsJust now

सिद्धार्थ र भिसाबीच सम्झौता

काडमाडौं । सिद्धार्थ बैंक र डिजिटल भुक्तानी क्षेत्रमा विश्वव्यापी अग्रणी संस्था भिसाबीच सिद्धार्थ बैंकको भिसा कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवाको सुदृढीकरण गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौताले सिद्धार्थ बैंकका ग्राहकका लागि कार्ड सेवा तथा भुक्तानी स्वीकार्यता विस्तारसँगै नयाँ सेवाको विकास गरी उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न दीर्घकालीन रणनीतिक सहकार्यको आधार तयार गरेको बैंकले जनाएको छ । सिद्धार्थ ...

हिमालय टाइम्स
शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन
Latest NewsJust now

शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन

मंसिर । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले ढोरपाटन उपत्यका क्षेत्रमा विद्युत् विस्तार गरी पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौर, बोबाङ हुँदै ढोरपाटनसम्म लाइन पुर्‍याएको हो । बुर्तिबाङ बजारदेखि ३५ किलोमिटर लाइन तानेर विद्युत् पुर्‍याएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख दिलिप मरासिनीले जानकारी दिनुभयो । ढोरपाटनमा उपत्यकासँगै नवी, भुजी, ...

हिमालय टाइम्स
शरीरमा प्रोटिनको कमी पूरा गर्न सहयोग गर्छन् यी फलफूल
Latest NewsJust now

शरीरमा प्रोटिनको कमी पूरा गर्न सहयोग गर्छन् यी फलफूल

काठमाडौं । प्रोटिन भन्नेबित्तिकै हाम्रो दिमागमा दाल, अण्डा, मासु र दूधजस्ता खानेकुरा आउँछन् । तर, केही फलफूलमा पनि प्रोटिन पाइन्छ भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ । फलफूल प्रोटिनको मुख्य स्रोत नभए पनि यिनलाई नियमित आहारमा समावेश गर्दा शरीरले आवश्यक पोषक तत्त्व प्राप्त गर्नसक्छ । विशेषगरी दैनिक खानामा थप पोषण र केही मात्रामा प्रोटिन समावेश गर्न चाहनेहरूका लागि अम्बा, एभोकाडो, कटहर ...

हिमालय टाइम्स
इटहरीमा प्रस्तुत हँदै आतिफ अस्लम
Latest NewsJust now

इटहरीमा प्रस्तुत हँदै आतिफ अस्लम

इटहरी । पाकिस्तानी चर्चित गायक आतिफ अस्लम पूर्वी नेपालको इटहरीमा प्रस्तुत हुनुहुने भएको छ । आगामी पुस ४ गते सुनसरीको इटहरी रंगशालामा आयोजना हुने ‘इस्टर्न इकोज’ कन्सर्टमा उहाँले आफ्ना पुराना तथा नयाँ गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने हुनुभएको हो । आतिफका लोकप्रिय गीत ‘वो लम्हे, वो बाते’, ‘पेहेली नजर मे’, ‘तु जाने ना’ र ‘तेरे होने लगा हुँ’लगायत गीत कन्सर्टको मुख्य आकर्षण ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement