स्याङ्जा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकका अपेक्षा पूरा हुने गरी काम गर्न वर्तमान सरकारलाई सुझाव दिएका छन् । झण्डै दुई तिहाइको समर्थन प्राप्त सरकारप्रति नागरिकको अपेक्षा धेरै रहेकाले जनहितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनले बताएका हुन् । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ ले आइतबार वालिङमा आयोजना गरेको पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले नागरिकसँग प्रत्यक्ष जोडिएका मुद्दालाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे । उनले सरकारले जनताको पक्षमा काम गरेमा कांग्रेसले प्रतिपक्षमा बसेर पनि सकारात्मक सहयोग गर्ने स्पष्ट पारे । ‘नागरिकसँग जोडिएका मुद्दाका विषयमा सरकारले कदम चाल्न सकोस्, हामी बाहिरै बसेर सहयोग गर्न तयार छौँ,’ उनले भने । पौडेलले शासन विधिअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै संविधानभन्दा माथि कोही पनि नरहेको बताए । संविधानको प्रभावकारी कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो । यसैबीच महामन्त्री पौडेलले पार्टी सभापति गगनकुमार थापामाथि लगाइएको आरोपको छानबिन गर्न माग गरेका छन् । उनले उक्त आरोपलाई मिथ्या भन्दै सत्यतथ्य छानबिन गरेर विषय टुंग्याउनुपर्ने बताए । पार्टीको जिम्मेवारीमा रहेका र नरहेका सबै नेता तथा कार्यकर्ताले समान जिम्मेवारीबोधका साथ संगठनलाई बलियो बनाउन लाग्नुपर्ने उनले निर्देशन दिए । कार्यक्रममा पौडेलले स्याङ्जा क्षेत्र नम्बर २ (क) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, कल्पना तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले पार्टी संगठन विस्तारमा जोड दिएका थिए ।
जनताका मुद्दामा सरकारलाई सहयोग गर्न कांग्रेस तयार छ : महामन्त्री पौडेल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






