झापा।चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मासिक महसुल घटाएको छ। निम्न वर्गीय उपभोक्तालाई राहत पुर्याउन उक्त शुल्क कम गरिएको हो। मेचीनगर नगरपालिकाको वडा नं ११, १२ र १३ मा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको संस्थाले १० हजार लिटरसम्म पानी उपयोग गर्दै आएका उपभोक्ताले अब मासिक १७५ मात्र तिर्नु पर्नेछ। यसअघि ती उपभोक्ताले मासिक २०० महसुल भुक्तानी गर्दै आएका थिए। शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएको हुँदा निम्न वर्गीय परिवारको पहुँचलाई सहज तुल्याउने उद्देश्य राखेर संस्थाले साधारणसभाबाट मासिक महसुल घटाउने प्रस्ताव पारित गरेको समितिका अध्यक्ष राजन चिमौरियाले बताए। उनका अनुसार १० हजारभन्दा माथि २० हजार लिटरसम्म खानेपानी उपयोग गर्ने उपभोक्ताले अब प्रतिहजार लिटरमा मासिक महसुल ३० तिर्नुपर्नेछ। यसअघि सोही मात्रामा पानी उपयोग गर्दै आएकाले ३२ रुपैंयाँ तिर्दै आएका थिए। मासिक २० हजारदेखि ३० हजार लिटर पानी खपत गर्ने उपभोक्ताले यसअघि प्रतिहजार लिटरको ४२ रुपैंयाँ तिर्दै आएकोमा अब ४० रुपैंयाँ मात्र तिर्नुपर्ने भएको छ। यसैगरी, ३१ हजारदेखि अधिक पानी खपत गर्नेले प्रतिहजार लिटरको मासिक ६५ रुपैंयाँ तिर्नु परिरहेकोमा अब ६० रुपैंयाँ तिर्दा हुने भएको छ। साधारणसभाबाट पारित भएको पानीको महसुल घटाउने यो प्रस्ताव यही मंसिर महिनादेखि लागू हुने अध्यक्ष चिमौरियाले जानकारी दिए। संस्थामा दुई हजार ७०० सदस्यहरु आबद्ध छन्।
घट्यो खानेपानी महसुल

Read Complete Original Article
Published originally on नेपालन्युज






