Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गाउँदेखि सहरसम्म रौनक

गाउँदेखि सहरसम्म रौनक

Share:WhatsAppFacebookX (Twitter)Telegram
गाउँदेखि सहरसम्म रौनक

कमेरो र रातोमाटोले सिँगारिएका घर, गाउँमा ठडिएका लिंगे पिङ, घर फर्किनेको लर्को र शक्तिपीठमा भक्तजनको भीड। दसैँले नेपाली जनजीवनलाई उत्सवमय बनाएको छ। दसैँ नेपालीको घरआँगनमा भित्रिसकेको छ। आश्विन शुक्ल पक्षको महाअष्टमीसँगै दसैँको उल्लास गाउँदेखि सहरसम्म फैलिएको छ। घरको सरसफाइ र रङरोगनदेखि पिङ हाल्ने, किनमेल गर्ने र परदेशबाट घर फर्किने चटारोसम्मले दसैँको आगमनलाई थप उत्सवमय बनाएको छ। दसैँमा घर सिँगार्ने परम्परा अझै पनि गाउँघरमा जीवन्त छ। कतिपय घर कमेरो र रातोमाटोले पोतिएका छन्। भित्तामा फेरिएको रङसँगै घरको रूप मात्र बदलिएको छैन, पर्वको उमङ्ग पनि झल्किएको छ। आधुनिक रङको प्रयोग बढ्दै गए पनि परम्परागत तरिकाले घर पोत्ने चलनले दसैँसँग जोडिएको सांस्कृतिक पहिचानलाई जोगाइरहेको छ। गाउँका चौतारा, खुला चौर र बस्तीछेउमा लिंगे पिङ ठडिएका छन्। दसैँमा एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने जनविश्वाससँग जोडिएको पिङ खेल्ने परम्परा अहिले पनि उत्तिकै लोकप्रिय छ। पिङमा मच्चिँदै गरेका बालबालिका, पालो कुरिरहेका युवा र रमाइलो हेरेर बसिरहेका वृद्धवृद्धाले गाउँको दसैँलाई जीवन्त बनाएका छन्। पिङ केवल मनोरञ्जनको साधन होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको साझा संस्कृति पनि हो। दसैँको अर्को महत्त्वपूर्ण दृश्य हो- घर फर्किनेको लर्को। रोजगारी, अध्ययन र विभिन्न पेसाका कारण घरपरिवारबाट टाढा रहेका नेपालीहरू चाड मनाउन आफ्नो थातथलो फर्किरहेका छन्। लामो समयपछि परिवारसँग भेट्ने उत्साह उनीहरूको यात्रामा देखिन्छ। भारतसँग जोडिएका विभिन्न नाकामा समेत दसैँ मनाउन नेपाल भित्रिने नेपालीको चहलपहल बढेको छ। वर्षभरि टाढा रहेका आफन्तसँग भेट्ने र परिवारसँगै चाड मनाउने चाहनाले दसैँको यात्रालाई विशेष बनाएको छ। उता, नवरात्रको अवसरमा देशभरका शक्तिपीठमा श्रद्धालु भक्तजनको चहलपहल बढेको छ। महाअष्टमीका दिन देवी दुर्गाको विशेष पूजा–आराधना गर्न मन्दिर पुग्नेहरूको उपस्थिति उल्लेख्य हुने गरेको छ। पूजा सामग्री बोकेर मन्दिर जाने भक्तजन, दर्शनका लागि पालो कुरिरहेका श्रद्धालु र पूजापाठमा व्यस्त परिवारका दृश्यले दसैँको धार्मिक तथा आध्यात्मिक पक्षलाई उजागर गर्छन्। दसैँ केवल टीका र जमरामा सीमित पर्व होइन। यो घर फर्किने बहाना हो, परिवारसँग पुनर्मिलनको अवसर हो र पुस्तौँदेखि चलिआएका संस्कार तथा परम्परालाई सम्झिने समय पनि हो। घरको आँगनमा फेरिएको रङ, पिङमा सुनिने हाँसो, बाटोमा देखिने यात्रुको भीड र शक्तिपीठमा गुञ्जिने आराधनाले एउटै सन्देश दिन्छन्- दसैँले नेपाली समाजलाई उत्सवको एउटै सूत्रमा बाँधेको छ। महाअष्टमीसँगै दसैँको रौनक उत्कर्षतर्फ अघि बढिरहेको छ। गाउँदेखि सहरसम्म, घरआँगनदेखि मन्दिरसम्म र स्वदेशदेखि परदेशबाट फर्किने यात्रासम्म दसैँको उल्लास फैलिएको छ। यतिबेला नेपाली जनजीवनमा पर्वको रङ चढिसकेको छ। तस्बिरमा देखिने यी दृश्यहरू दसैँका झाँकी मात्र होइनन्, नेपाली समाजको संस्कृति, आत्मीयता र सामूहिक खुसीका जीवन्त कथा हुन्। लमजुङको एक गाउँमा रातोमाटोले घर पोत्दै महिला। महोत्तरी सदरमुकाम जलेश्वरमा स्थापना गरिएको दुर्गामातालगायत देवीदेवताको दर्शन गर्दै भक्तजन। भक्तपुरको मध्यपुरथिमिमा पिङ खेलेर रमाउँदै बालबालिका। दसैँको महाअष्टमीका दिन काठमाडौँको मैतीदेवी मन्दिरमा दुर्गा भवानीको पूजा आराधना गर्न लामबद्ध भक्तजन। भारतमा रोजगारी गरी चाडपर्व मनाउन कैलालीको त्रिनगर सीमा नाकाबाट घर फर्किदै नेपालीहरू। दशैँको महाअष्टमीका दिन काठमाडौँस्थित भद्रकाली मन्दिरको प्रवेशद्वारमा सवारीसाधनको पूजाआजा गर्दै सर्वसाधारण। महाअष्टमीका दिन आइतबार काठमाडौँस्थित भद्रकाली मन्दिर परिसरमा पूजाआजा तथा दर्शन गर्न आएका भक्तजन। दसैँ आगमनसँगै रातोमाटो र कमेरोले घर रंगाउँदै बागलुङ नगरपालिका–३, गहतेकी महिला।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमको विशेष क्यान
ताजा खबरJust now

एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमको विशेष क्यान

कम्पनीले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यमका रूपमा स्पेसल एडिसन क्यान बजारमा ल्याएको जनाएको छ । ...

कान्तिपुर
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु
ताजा खबरJust now

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो।   सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ... ...

नेपालखबर
श्रीमानलाई मिर्गौला दिएकी बिन्दु आफैँ उपचारको पर्खाइमा, प्रत्यारोपणका लागि ४ लाख जुटाउन मुस्किल
ताजा खबरJust now

श्रीमानलाई मिर्गौला दिएकी बिन्दु आफैँ उपचारको पर्खाइमा, प्रत्यारोपणका लागि ४ लाख जुटाउन मुस्किल

हेटौँडा । श्रीमानको जीवन बचाउन आफ्नो एउटा मिर्गौला दान गर्नुभएकी ६० वर्षीया बिन्दु श्रेष्ठ अहिले आफ्नै जीवन बचाउन सहयोगी हातको प्रतीक्षामा हुनुहुन्छ । श्रीमानको मिर्गौला फेल भएपछि आफ्नो मिर्गौला दिएर उहाँको जीवन बचाउनुभएकी बिन्दु अहिले आफैँ मिर्गौला फेल भएपछि उपचारका लागि आर्थिक सहयोग जुटाउन नसकेर जीवनसँग संघर्ष गरिरहनुभएको छ । काठमाडौंको शतुङ्गलस्थित गौथली चोकनजिकै नयाँ बस्तीमा बस्दै आउनुभएकी बिन्दुको आर्थिक अवस्था ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play