विराटनगर । मोरङको पथरीशनिश्चरेमा फुटबलको रौनक बढ्ने भएको छ । स्थानीय खेलकुदको विकास र फुटबल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रथम ऐतिहासिक कालापानी मिनी गोल्डकप-२०८३ आगामी मंसिर १२ गतेदेखि सुरु हुने भएको छ । कालापानी युनाइटेड क्लबको आयोजनामा हुने प्रतियोगितामा मोरङ, सुनसरी, झापा र आसपासका क्षेत्रका आठ फुटबल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा मंसिर १२ गते जलथल फुटबल क्लब र चिल्ड्रेन हार्ट फुटबल एकेडेमी, सुनसरीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको दोस्रो दिन मंसिर १३ गते मोतीराम स्पोर्टिङ क्लब, विराटनगर र चात्या सा फुटबल क्लब, दमक आमनेसामने हुनेछन् । त्यस्तै, मंसिर १४ गते धरान-११ फुटबल क्लब, सुनसरीले बेलबारी फुटबल क्लब, मोरङसँग प्रतिस्पर्धा गर्नेछ । मंसिर १५ गते आयोजक कालापानी युनाइटेड क्लब र तालतलैया फुटबल क्लब, सुनसरीबीच अन्तिम खेल हुनेछ । समूह चरणका यी प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । पथरीशनिश्चरे नगरपालिका-२ स्थित कालापानी खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । स्थानीयस्तरमा फुटबल गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको प्रतियोगिताको फाइनल खेल मंसिर १९ गते हुनेछ ।
कालापानी मिनी गोल्डकप मंसिर १२ देखि, आठ टोलीबीच उपाधि भिडन्त

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






