काठमाडौंलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छ : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली, मन्दिर, सम्पदा र संस्कृति सहरको पहिचान मात्र नभई यहाँको मौलिक जीवनशैलीसमेत भएको बताएकी छन् । उनले काठमाडौंलाई दौडिएर मात्र नभई यहाँको संस्कृति, परम्परा र जनजीवनलाई गहिरोसँग महसुस गरेर अपनत्व लिनुपर्नेमा जोड दिएकी हुन् ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको १० किलोमिटर लामो ‘हेरिटेज रन’ का अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।

उनका अनुसार काठमाडौंका मन्दिर, ऐतिहासिक गल्ली, भजन–कीर्तन, परम्परागत खानपान र बिहानीपखको मौलिक वातावरणले सहरलाई जीवन्त बनाएको छ । पैदल हिँड्दा वा दौडिँदा सहरको वास्तविक पहिचानसँग नजिक हुन सकिने उनको भनाइ छ ।

‘हेरिटेज रन केवल दौड प्रतियोगिता होइन, काठमाडौंको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर हो,’ डंगोलले भनिन्, ‘हाम्रो उद्देश्य दौडिनु मात्र नभई काठमाडौंलाई महसुस गर्नु र यसप्रति अपनत्व बढाउनु हो ।’

वसन्तपुर क्षेत्रबाट सुरु भएको हेरिटेज रनमा विभिन्न उमेर समूहका धावकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा हजुरबुवा–हजुरआमादेखि नातिनातिनासम्मका तीन पुस्ताले उत्साहपूर्वक सहभागिता जनाएका थिए । ७५ वर्षका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकासम्मले १० किलोमिटरको दूरी पार गरेका थिए ।

महानगरपालिकाका अनुसार अनलाइन दर्ता खुला गरिएको २४ घण्टाभित्रै निर्धारित सहभागिता कोटा पूरा भएपछि दर्ता बन्द गर्नुपरेको थियो । नागरिकको यस्तो उत्साहजनक सहभागिताले आगामी दिनमा थप रचनात्मक कार्यक्रम सञ्चालन गर्न प्रेरणा मिलेको डंगोलले बताइन् ।

महानगरपालिकाले हेरिटेज रनलाई आगामी कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’ को प्रवद्र्धनात्मक कार्यक्रमका रूपमा समेत अघि बढाएको छ । खेलकुद, साहित्य, कला र सम्पदालाई चलचित्रमार्फत एकाकार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको डंगोलले जानकारी दिइन् ।

काठमाडौं महानगरपालिकाले आयोजना गर्न लागेको काठमाडौं फिल्म फेस्टिभलमा नेपाली तथा अन्तर्राष्ट्रिय गरी ४० वटा चलचित्र निःशुल्क प्रदर्शन गरिने भएको छ ।

महोत्सवको पहिलो दिन वसन्तपुर डबलीमा खुला आकाशमुनि विशेष स्क्रिनिङमार्फत उद्घाटन कार्यक्रम आयोजना गरिनेछ । दोस्रो र तेस्रो दिन भने ऐतिहासिक राष्ट्रिय सभागृह तथा जय नेपाल सिनेमा हलमा चलचित्र प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ ।

राष्ट्रिय सभागृहमा विशेषगरी ७० र ८० को दशकका मौलिक नेपाली चलचित्रहरू निःशुल्क प्रदर्शन गरिनेछ । त्यस्तै, जय नेपाल सिनेमा हलमा अन्तर्राष्ट्रिय चलचित्रसहित विभिन्न विधाका चलचित्र प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।

महोत्सवमा सहभागी हुन इच्छुक दर्शकले महानगरपालिकाको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत निःशुल्क अनलाइन टिकट बुक गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

डंगोलले चलचित्रप्रेमी, कलाकार तथा आम नागरिकलाई परिवार र साथीभाइसँगै महोत्सवमा सहभागी हुन आग्रह गरेकी छन् ।

‘काठमाडौंलाई हेरौँ, सुनौँ, महसुस गरौँ र यसको सम्पदासँग जोडिऔँ,’ उनले भनिन् ।

महानगरपालिकाले हेरिटेज रन र फिल्म फेस्टिभलजस्ता कार्यक्रममार्फत काठमाडौंको मौलिक पहिचान, ऐतिहासिक सम्पदा र सांस्कृतिक जीवनशैलीलाई प्रवद्र्धन गर्दै नागरिकलाई आफ्नो सहरसँग थप नजिक बनाउने लक्ष्य लिएको जनाएको छ ।

Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको पूर्व सन्ध्यामा पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने जनाएको हो । प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ सम्म हुनेछ । प्रतियोगितामा दुवै संस्करण खेलेका आठ ...

कृषिमन्त्रीका ६ महिना : उखु किसानलाई १२ अर्ब भुक्तानीदेखि गाँजा खेती प्रतिवेदनसम्म
उखु किसानको भुक्तानी, डीडीसीको सुधार र नार्कमा प्रविधिको सुरुवात जस्ता विषय तत्कालका उपलब्धि देखिए पनि दीर्घकालीन महत्त्वका थुप्रै कामहरू अझै ‘प्रस्ताव’, ‘मस्यौदा’ र ‘सहमति’ कै चरणमा छन् । ...

मत दिएपछि ट्रम्पले इरानमाथि आक्रमणबारे गरे दोहोरो अर्थलाग्ने कुरा
८ कात्तिक, काठमाडौं । अमेरिकाले आज इरानमाथि आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिकाले इरानले कहिल्यै परमाणु हतियार बनाउन नसकोस् भन्ने सुनिश्चित गर्न चाहेको उनले स्पष्ट पारेका छन्। फ्लोरिडाको वेस्ट पाम बिचमा प्रथम महिला मेलानिया ट्रम्पसँगै मध्यावधि निर्वाचनका लागि मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्। इरान सम्झौता गर्न चाहन्छ,… ...

ग्लोबल क्लाइमेट गभर्मेन्सका लागि पूर्वराजदूत ओलीले बेइजिङमा राखे ६ प्रस्ताव
८ कात्तिक, काठमाडौं । चीनका लागि नेपालका पूर्वराजदूत तथा जलवायुविद् प्राध्यापक डा. कृष्णप्रसाद ओलीले जलवायु प्रतिबद्धता र कार्यान्वयनबीचको खाडल पुर्न विश्वव्यापी जलवायु कार्यान्वयन परिषद् गठनदेखि हिमालय क्षेत्रमा पूर्वचेतावनी सञ्जाल निर्माणसम्मका प्रस्ताव अघि सारेका छन् । जलवायुविद् प्राध्यापक ओलीले विश्वव्यापी जलवायु शासन (ग्लोबल क्लाइमेट गभर्मेन्स) लाई प्रभावकारी बनाउन छवटा प्रमुख प्रस्ताव अघि सारेका छन्। चीनको बेइजिङमा… ...