काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औं जन्मजयन्तीका अवसरमा वीरेन्द्र पुस्तकालय, कुटुवहाल चाबहिलद्वारा आयोजित खुला कविता प्रतियोगितामा कवि सुमन घिमिरे ‘अग्रिम’ प्रथम हुनुभएको छ । प्रतियोगितामा ईश्वर थापा दोस्रो र देवेन्द्र अधिकारी तेस्रो हुनुभयो । प्रथम, दोस्रो र तेस्रो हुने कविहरूले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नुभयो । कुटुवहाल चाबहिलमा आयोजित प्रतियोगितामा १० जना कविले कविता वाचन गरेका थिए । साहित्यकार गोपी मैनालीको संयोजकत्वमा प्राडा.ज्ञानु पाण्डे र प्रह्लाद पोखरेल सदस्य रहेको निर्णायक समितिले उत्कृष्ट तीन कविता छनोट गरेको थियो । कार्यक्रममा निर्णायक मैनालीले सबै कविका रचना उत्कृष्ट रहेकाले विजेता छनोट गर्न कठिन भएको बताउनुभयो । प्राडा.पाण्डेले पनि सहभागी सबै कविका कविताको प्रशंसा गर्नुभयो । कामनपा वडा नं.७ का अध्यक्ष विमलकुमार होडाले नेपाली साहित्य, कला र संस्कृतिको प्रवर्द्धनमा वडाको सहयोग र सहकार्य निरन्तर रहने बताउनुभयो । पुस्तकालयका अध्यक्ष रूपेश केसी र वेदेश ढुंगानाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । कविता प्रतियोगितापछि स्थानीय गणेश जात्रा तथा भैरव जात्राका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
कविता प्रतियोगितामा सुमन घिमिरे ‘अग्रिम’ प्रथम

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






