काठमाडौं। सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गमा पर्ने कमला नदीको पुल पुसको पहिलो हप्तादेखि सञ्चालनमा आउने भएको छ। हुलाकी सडक निर्देशनालय जनकपुरका प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको रेलिङ निर्माण, बेरिङ पोस्ट र ढलानको काम मङ्सिर महिनाभित्रै सम्पन्न गर्ने गरी तीव्र गतिमा भइरहेको छ। पुसको पहिलो हप्तादेखि पुलमा हल्का सवारी साधन सञ्चालनमा ल्याइनेछ। भारी सवारी साधनको हकमा भने भार परीक्षण सम्पन्न भएपछि मात्र अनुमति दिइने निर्देशनालयले जनाएको छ। नदीको धार परिवर्तन गराउने कार्यलाई पनि निरन्तरता दिइनेछ। आयोजना प्रमुख महतोले नदी कटानको दीर्घकालीन समाधानका लागि अर्बौँ रुपैयाँ लाग्ने अनुमान गरिएको बताए। विसं २०७८ असार १७ गते सञ्चालनमा आउनुअघि नै पुलको पूर्वतर्फका तीनवटा पाया भासिएपछि निर्माण कार्य अवरुद्ध भएको थियो। १५ वर्षदेखि रुग्ण बनेको यो पुलको निर्माणलाई वर्तमान सरकारले प्राथमिकतामा राखेको छ। भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले थप २५ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि निर्माण कार्यले गति लिएको हो। पुल सञ्चालनमा आउने खबरले स्थानीय बासिन्दा उत्साहित भएका छन्। सिरहाका स्थानीय डोमी यादवले पुल सञ्चालनमा आउँदा जनकपुरसम्मको यात्रा सहज हुने बताए। यसअघि सिरहाबाट जनकपुर पुग्न २९ किलोमिटरको साटो ८७ किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। पुल निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याउन प्रधानमन्त्री बालेन्द्र शाह र भौतिक पूर्वाधारमन्त्री लम्सालले निरन्तर चासो देखाएका थिए। साथै, सिरहाका सांसदहरू बब्लु गुप्ता, शिवशङ्कर यादव, शम्भु यादव, तपेश्वरी यादव र पुरुषोत्तम यादवले पनि पुल निर्माणका लागि पहलकदमी लिएका थिए।
कमला पुल पुसको पहिलो हप्तादेखि सञ्चालनमा आउने

Read Complete Original Article
Published originally on नेपालन्युज






