काठमाडौं । ओमानको तट नजिक भारतीय झण्डा भएको मालवाहक जहाजमाथि भएको आक्रमणको भारत सरकारले निन्दा गरेको छ । भारतीय विदेश मन्त्रालयले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै व्यावसायिक जहाज र नागरिक पूर्वाधारलाई निशाना बनाउने कार्य तत्काल रोक्न आग्रह गरेको छ । विदेश मन्त्रालयका अनुसार सोमबार साँझ ओमानको लिमाह नजिकै व्यावसायिक जहाज ‘एमएसभी अल युसुफी’ माथि आक्रमण भएको थियो । जहाजमा १४ जना भारतीय नागरिक सवार थिए । आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य १३ जनाको सकुशल उद्धार गरिएको छ । भारतीय विदेश मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । मन्त्रालयका अनुसार मस्कटस्थित भारतीय दूतावासले घटनाको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको छ । उद्धार गरिएका १३ भारतीय नागरिक र मृतकको शव सुरक्षित रूपमा स्वदेश फर्काउन ओमानका अधिकारीहरूसँग समन्वय भइरहेको छ । विदेश मन्त्रालयले उक्त क्षेत्रमा व्यावसायिक जहाजमाथि भइरहेका निरन्तर आक्रमणलाई गम्भीर चिन्ताको विषय भनेको छ । साथै, क्षेत्रीय तनाव तत्काल कम गर्न र कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न पनि आग्रह गरेको छ । क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न नागरिक पूर्वाधार तथा व्यावसायिक जहाजमाथिका आक्रमण रोक्नुपर्ने भारतको भनाइ छ । अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्री मार्गबाट जहाजको आवागमन र व्यापार निर्वाध रूपमा सञ्चालन हुने वातावरण बनाउन पनि मन्त्रालयले आग्रह गरेको छ । यसैबीच, भारतका केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालले पनि भारतीय नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै भारतीय मन्त्रालय र ओमानस्थित दूतावास स्थानीय अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।
ओमानको तट नजिक भारतीय जहाजमाथि आक्रमण, एक जनाको मृत्यु

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






