सिङ्गापुर । एनभिडियाका चिप चीन पठाएको आरोपमा अनुसन्धान भइरहेको सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेशनलले संदिग्ध जासुसका रूपमा चिनिएकी एलिस हुआङले एक वर्षभन्दा बढी समयअघि नै कम्पनी छाडेको जनाएको छ । मेगास्पिडले दक्षिणपूर्वी एसियामा रहेका आफ्ना डाटा सेन्टरका लागि एनभिडियाका चिप खरिद गरी चीन पठाएर चिनियाँ कम्पनीहरूलाई अमेरिकी निर्यात नियन्त्रण छल्न सघाएको आशङ्का गरिएको छ । कम्पनीकी पूर्वनिर्देशक एलिस हुआङलाई अमेरिकी सञ्चारमाध्यमले कथित चिनियाँ गुप्तचर सम्पत्तिका रूपमा पहिचान गरेका छन् । उनको एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङसँग सम्बन्ध रहेको दाबीसमेत सार्वजनिक भएको छ । “सुश्री एलिस हुआङले सन् २०२५ अगस्ट ३० देखि मेगास्पिड छाडिसक्नुभएको र हाल कम्पनीमा उहाँको कुनै भूमिका छैन,” एएफपीको प्रश्नको जवाफमा कम्पनीले आइतबार भनेको छ । कम्पनीले एलिस हुआङका व्यक्तिगत तथा निजी मामिलाबारे टिप्पणी नगर्ने पनि जनाएको छ । एलिस हुआङ र जेन्सेन हुआङबीच कुनै पारिवारिक सम्बन्ध छैन । बेइजिङले जासुसीसम्बन्धी आरोप अस्वीकार गर्दै आएको छ । जेन्सेन हुआङले नोभेम्बर ८ मा एनभिडियाका कर्मचारीलाई पठाएको पत्रमा विवाहेत्तर सम्बन्ध स्वीकार गरेका थिए । यद्यपि, उनले उक्त सम्बन्धमा संलग्न महिलाको नाम खुलाएको थिएनन् । त्यसको केही दिनपछि हुआङ्ले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए । एनभिडियाको सञ्चालक समितिले यस विषयमा अनुसन्धान गर्ने जनाएको छ । अमेरिकी काङ्ग्रेसका तीन समितिका अध्यक्षले पनि जेन्सेन हुआङलाई नोभेम्बर १८ मा हुने बन्द बैठकमा उपस्थित भई जानकारी दिन आग्रह गरेका छन् । मेगास्पिडले आफूले कानुनसम्मत व्यवसाय सञ्चालन गरिरहेको जनाएको छ । कम्पनीले आफ्नो व्यवसाय, आपूर्ति शृङ्खला र विश्वव्यापी सञ्चालनबारे सञ्चारमाध्यममा आएका दाबीहरू प्रमाणित तथ्यमा आधारित नभएको बताएको छ । कम्पनीले अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी कानुनअन्तर्गतका आफ्ना दायित्व पालना भए–नभएकोबारे विस्तृत आन्तरिक अनुसन्धान गर्न बाह्य कानुनी परामर्शदाता नियुक्त गरेको पनि जनाएको छ । अमेरिकी कानुनले केही उन्नत चिप चीनमा पठाउन प्रतिबन्ध लगाएको छ । सिङ्गापुरका अधिकारीहरूका अनुसार, उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) चिप जडित सर्भर मलेसियामा निर्यात गरिएको र सिङ्गापुरमा गरिएको घोषणाभन्दा फरक गन्तव्यमा पठाइएको आशङ्का छ । मेगास्पिडमाथिको अनुसन्धान जारी रहेको सिङ्गापुर प्रहरी बलले जनाएको छ । अधिकारीहरूले अनुसन्धानका क्रममा गलत जानकारी दिएको आरोपमा एलिस हुआङलाई गत फेब्रुअरीमा सिङ्गापुर पुनः प्रवेश गर्न रोक लगाइएको पनि बताएका छन् । यद्यपि, उनीमाथि जासुसी गरेको आरोपमा अनुसन्धान भने गरिएको थिएन । -एएफपी
एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडेको मेगास्पिडको प्रष्टीकरण

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






