Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एमालेको राष्ट्रिय भेला : महाधिवेशनभन्दा ठूलो प्रतिनिधित्व रहने, सहभागीले स्थानीय निर्वाचन केन्द्रित सुझाव अनिवार्य दिनु पर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको राष्ट्रिय भेला : महाधिवेशनभन्दा ठूलो प्रतिनिधित्व रहने, सहभागीले स्थानीय निर्वाचन केन्द्रित सुझाव अनिवार्य दिनु पर्ने
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक ३० गते । नेकपा (एमाले) ले मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने जनाएको छ । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रिय भेलाको तयारी, उद्देश्य, सहभागिता, कार्यतालिका तथा व्यवस्थापनसम्बन्धी विस्तृत जानकारी दिइएको छ । एमालेले राष्ट्रिय भेलालाई पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ गर्ने, आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित तयारी गर्ने र मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे पार्टीको दृष्टिकोण स्पष्ट पार्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ । भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको छ । काठमाडौंको माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलाको उद्घाटन समारोहमा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्था, पार्टीको दृष्टिकोण, आगामी कार्यदिशा तथा पार्टीका प्रमुख कार्यभारबारे सम्बोधन गर्नुहुने एमालेले जनाएको छ । राजनीतिक अवस्था जटिल बन्दै गएको एमालेको निष्कर्ष एमालेले २०८२ भदौमा भएका आगजनी, तोडफोड र लुटपाटका घटना, फागुनमा सम्पन्न निर्वाचनको परिणाम तथा निर्वाचनपछि गठन भएको सरकारका कामकारबाहीले मुलुकको राजनीतिक र लोकतान्त्रिक वातावरण थप जटिल बनाउँदै लगेको निष्कर्ष निकालेको छ । प्रेस विज्ञप्तिमा लोकतन्त्रका आधारभूत मूल्य–मान्यता, विधिको शासन र नागरिक अधिकारमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रका आधारभूत मूल्य–मान्यता, विधिको शासन र नागरिक अधिकारमाथि उठिरहेका प्रश्न तथा सरकारका अलोकतान्त्रिक र जनविरोधी कार्यशैलीले जनमानसमा असन्तुष्टि, अन्योल, निराशा र आक्रोश बढाउँदै लगेको छ । मुलुकमा राजनीतिक दिशाहीनता र भविष्यप्रतिको अनिश्चितता गहिरिँदै गएको छ ।” यही राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर राष्ट्रिय भेला आयोजना गर्न लागिएको एमालेले जनाएको छ । पार्टीले भेलामार्फत मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै आगामी राजनीतिक तथा सङ्गठनात्मक कार्यदिशा स्पष्ट पार्ने तयारी गरेको छ । स्थानीय निर्वाचनको तयारी भेलाको प्रमुख उद्देश्य एमालेले राष्ट्रिय भेलाको प्रमुख उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु रहेको स्पष्ट पारेको छ । पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले २०८३ असोज ५ देखि ८ गतेसम्म गरेका निर्णय तथा पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भेलाको मुख्य ध्येय रहेको विज्ञप्तिमा उल्लेख छ । भेलाले पार्टीका नेता तथा कार्यकर्ताबीच राजनीतिक बुझाइ, निर्णय र दृष्टिकोणमा एकरूपता कायम गर्दै वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ गर्ने एमालेको योजना छ । विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकद्वारा पारित आजका दुई प्रमुख कार्यभार र गर्नुपर्ने पन्ध्र कामलाई एकजुट भई कार्यान्वयन गरी सफल बनाउनेगरी जनतासमक्ष प्रभावकारी रूपमा सम्प्रेषण गर्नु राष्ट्रिय भेलाको मुख्य ध्येय हो ।” त्यस्तै, मुलुकमा पछिल्लो समय देखिएको कुशासन र निराशालाई चिर्दै जनतामा नयाँ आशा र ऊर्जा सञ्चार गर्ने उद्देश्यसमेत भेलाले राखेको एमालेले जनाएको छ । महाधिवेशनभन्दा ठूलो प्रतिनिधित्व रहने एमालेको दाबी एमालेले पार्टीको इतिहासमै पहिलोपटक केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र सङ्घीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एउटै थलोमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागेको जनाएको छ । भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासमा रहेका पार्टी कमिटीका प्रतिनिधि र पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् । त्यसैगरी, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवं अध्यक्ष तथा उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, विभिन्न उपसमितिमा रहेका नेता तथा कार्यकर्ता र व्यवस्थापनमा खटिने स्वयंसेवकहरूको सहभागिता रहनेछ । एमालेले प्रतिनिधित्वका हिसाबले पार्टीका सबै क्षेत्रलाई समेटिएको दाबी गर्दै भेलाको आकार र सहभागितालाई विशेष महत्व दिएको छ ।विज्ञप्तिमा भनिएको छ, “सङ्ख्याको हिसाबले राष्ट्रिय भेला महाधिवेशनभन्दा ठूलो र प्रतिनिधित्वको हिसाबले सबै क्षेत्र समेटिएको छ ।” ओली, विद्यादेवी भण्डारी र शीर्ष नेताहरूको सम्बोधन राष्ट्रिय भेलाको उद्घाटनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष राजनीतिक तथा वैचारिक सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । उहाँले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको दृष्टिकोण, आगामी कार्यदिशा, दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामबारे मार्गदर्शन गर्नुहुनेछ । त्यसैगरी, पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका समसामयिक विषय र पार्टीका कार्यभारका सम्बन्धमा विशेष सम्बोधन गर्नुहुने एमालेले जनाएको छ । भेलामा पार्टीका विभिन्न शीर्ष नेताहरूबाट महत्वपूर्ण कार्यपत्र तथा प्रस्तुति रहनेछन् । पार्टीका उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभाराबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नुहुनेछ । त्यस्तै, महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । यी प्रस्तुतिमार्फत पार्टीको आन्तरिक अवस्थाको समीक्षा, सङ्गठनात्मक सुधार र आगामी निर्वाचनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने एमालेले जनाएको छ । सहभागीलाई स्थानीय निर्वाचन केन्द्रित सुझाव अनिवार्य एमालेले राष्ट्रिय भेलामा सहभागी हुने सबैले स्थानीय तह निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरेको छ । स्थानीय तहको निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीका विभिन्न तहका नेता तथा जनप्रतिनिधिबाट सुझाव सङ्कलन गरी आगामी कार्ययोजनामा समेट्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । यसबाट स्थानीय तहको राजनीतिक अवस्था, सङ्गठनको स्थिति, जनप्रतिनिधिको कार्यसम्पादन र निर्वाचनको तयारीबारे पार्टीले थप जानकारी प्राप्त गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय भेलामा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो आवासको व्यवस्था आफैँ गर्नुपर्ने राष्ट्रिय भेलामा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो आवासको व्यवस्था आफैँ गर्नुपर्नेछ । आफैँ व्यवस्था गर्न असमर्थ हुने सहभागीका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीहरूले आवश्यक समन्वय तथा व्यवस्थापन गर्ने एमालेले जनाएको छ । भेला सञ्चालनका लागि आवश्यक सभाहल तथा आन्तरिक सुरक्षा व्यवस्था व्यवस्थित गरिएको विज्ञप्तिमा उल्लेख छ । सहायक रथी (अवकाशप्राप्त) विनोद पाण्डेको नेतृत्वमा १०० जना स्वयंसेवक परिचालन गरी भेला स्थल र सहभागीहरूको सुरक्षा व्यवस्थापन गरिनेछ । त्यसैगरी, सहभागीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य सेवाका लागि सभाहलको मूलगेट अगाडि हेल्थ डेस्क स्थापना गरिनेछ । कार्यक्रमस्थलमा सवारीसाधन पार्किङका लागि पर्याप्त स्थान नभएकाले सहभागीहरूको सवारी पार्किङको व्यवस्था पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको छ । सहभागी परिचयपत्र वितरणका लागि प्रदेशस्तरमा सञ्चार तथा समन्वयको जिम्मेवारीमा रहेका राष्ट्रिय भेला व्यवस्थापनमा खटिएका प्रतिनिधिमार्फत व्यवस्था मिलाइएको एमालेले जनाएको छ । सञ्चारकर्मीका लागि मिडिया सेन्टर स्थापना राष्ट्रिय भेलाको समाचार सङ्कलन तथा सम्प्रेषणका लागि एमालेले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई उपस्थितिका लागि आमन्त्रण गरेको छ । उद्घाटन समारोहमा सञ्चारकर्मीलाई समाचार सङ्कलन, श्रव्यदृश्य सामग्री खिच्न तथा सम्प्रेषणका लागि सभाहलसम्म पहुँच उपलब्ध गराइनेछ । त्यसपछिका सत्रमा हुने गतिविधिबारे जानकारी गराउन मिडिया सेन्टर स्थापना गरी केन्द्रीय प्रचार तथा प्रकाशन विभागले नियमित मिडिया ब्रिफिङ गर्ने व्यवस्था मिलाइएको छ । बन्दसत्रका महत्वपूर्ण विषय तथा निर्णयसम्बन्धी समाचार सम्प्रेषणका लागि प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपालको विद्यमान सञ्जालमार्फत सञ्चारकर्मीलाई जोडिने विज्ञप्तिमा उल्लेख छ । एमालेले राष्ट्रिय भेलालाई पार्टीको आगामी राजनीतिक तथा सङ्गठनात्मक यात्राका लागि महत्वपूर्ण अवसरका रूपमा लिँदै यसको सफलताका लागि सञ्चार क्षेत्रको सहयोग अपेक्षा गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कहाँ पुग्यो एमालेको राष्ट्रिय भेलाको तयारी ?
PoliticsJust now

कहाँ पुग्यो एमालेको राष्ट्रिय भेलाको तयारी ?

काठमाडौं । नेकपा एमालेले यही मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा भेलाको तयारी पूरा भएको विभागका प्रमुख नीरज आचार्यले जानकारी दिए । पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई थप एकताबद्ध बनाउने […] ...

लोकपथ
छठघाटका रक्षकको हत्या र पूजास्थल तोडफोडको दोषीलाई कारबाही गर्न राष्ट्रिय एकता दलको माग
PoliticsJust now

छठघाटका रक्षकको हत्या र पूजास्थल तोडफोडको दोषीलाई कारबाही गर्न राष्ट्रिय एकता दलको माग

धनुषामा छठघाटको सुरक्षामा खटिएका एक वृद्धको निर्मम हत्या तथा सुनसरीमा छठ पूजास्थलमा भएको तोडफोडको घटनाप्रति गम्भीर आपत्ति ...

हाम्राकुरा
स्थानीय तह निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्ता भेला हुँदै
PoliticsJust now

स्थानीय तह निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्ता भेला हुँदै

काठमाण्डु– नेकपा (एमाले)ले यही मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा भेलाको तयारी पूरा भएको विभागका प्रमुख नीरज आचार्यले जानकारी दिए । पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई थप एकताबद्ध बनाउने र […] ...

काठमाण्डुपाटी
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
PoliticsJust now

पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल

काठमाडौँ, कात्तिक ३० गते । नेकपा (एमाले) ले यही मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीको प्रचा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play