धरान । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धरान रंगशालामा शनिबार राती सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई दुई-शून्य गोलले पराजित गर्दै एपिएफले पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखाएको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाउनुभयो । खेलको अतिरिक्त समयको ३०औँ मिनेटमा अनिता केसीले दोस्रो गोल थपेपछि एपिएफको जित सुनिश्चित भएको थियो । पहिलो संस्करणमै उपाधि जितेको एपिएफले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता नेपाल पुलिस क्लबले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ । आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले पुरस्कारबारे जानकारी दिनुभएको हो । डी-१९ क्लब धरान-१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा गत कात्तिक २८ गतेदेखि धरान रंगशालामा रात्रिकालीनरूपमा सञ्चालन भएको प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोलीको सहभागिता थियो ।
एपिएफलाई प्रथम धरान महिला गोल्डकपको उपाधि

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






