एनभिडियाले आफ्ना चिप जडित सर्भर मलेसिया, सिंगापुर, थाइल्यान्ड र इन्डोनेसियामा नपठाउन उत्पादन साझेदारहरूलाई निर्देशन दिएको फाइनान्सियल टाइम्सले बिहीबार जनाएको छ। अमेरिकाले गत साता लागू गरेको नयाँ प्रतिबन्धपछि एनभिडियाले यस्तो कदम चालेको हो। नयाँ नियमअनुसार दक्षिणपूर्वी एसियाका केही देशमा अत्याधुनिक चिप पठाउन निर्यात अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। चिनियाँ कम्पनीहरूले अत्याधुनिक कृत्रिम बुद्धिमतासम्बन्धी चिप प्राप्त गर्न प्रयोग गरिरहेको ठानिएका आपूर्ति मार्ग बन्द गर्ने अमेरिकी प्रयासको यो एउटा हिस्सा हो। फाइनान्सियल टाइम्सका अनुसार एनभिडियाका चिपलाई सर्भरमा जडान गर्ने डेल र सुपरमाइक्रोजस्ता उत्पादन साझेदारहरूले ती चार देशका ग्राहकलाई एनभिडियाले उनीहरूका अर्डर पठाउन अनुमति नदिने जानकारी दिएका छन्। अमेरिकाको नयाँ निर्यात नियन्त्रणसम्बन्धी नियमअनुसार पालना गर्नुपर्ने व्यवस्थाबारे एनभिडिया र उसका साझेदारहरूले काम गरिरहेका बेला यो रोक अस्थायी मात्रै हो वा होइन भन्ने स्पष्ट नभएको अखबारले जनाएको छ। यस विषयमा जानकारी राख्ने तीन व्यक्तिलाई उद्धृत गर्दै अखबारले यस्तो विवरण दिएको हो। एनभिडिया, डेल र सुपरमाइक्रोले नियमित कार्यालय समयबाहिर पठाइएका टिप्पणीका अनुरोधको तत्काल जवाफ दिएका छैनन्। अमेरिकी वाणिज्य मन्त्रालयले नयाँ नियम सार्वजनिक गरेको केही दिनअघि एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले पदबाट राजीनामा दिएका थिए। उनीमाथि सिंगापुरस्थित क्लाउड कम्पनी मेगास्पिडमा पहिले काम गरिसकेकी र चिनियाँ जासुस भएको आशंका गरिएकी महिलासँग सम्बन्ध रहेको रिपोर्ट सार्वजनिक भएको थियो। त्यसपछि एनभिडियाको सञ्चालक समितिले नोभेम्बर २३ मा हुआङलाई पुनः सीईओ नियुक्त गरेको थियो। एनभिडियाको साझेदार कम्पनी मेगास्पिडले आफ्ना डेटा सेन्टरमा रहेको कम्प्युटिङ क्षमता भाडामा उपलब्ध गराउँदै आएको छ। अत्याधुनिक कृत्रिम बुद्धिमतासम्बन्धी चिप अवैध रूपमा चीन पुर्याइएको हुन सक्ने आशंकामा यो कम्पनीमाथि निगरानी बढाइएको छ। The post एनभिडियाले रोक्यो दक्षिणपूर्वी एसियाका चार देशमा सर्भर आपूर्ति appeared first on Technology Khabar.
एनभिडियाले रोक्यो दक्षिणपूर्वी एसियाका चार देशमा सर्भर आपूर्ति

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






