काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा चितवनले प्रस्तुत गरेको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर १ बल बाँकी छँदै पूरा गर्यो । सुदूरपश्चिमको जितमा श्रीलंकाली खेलाडी थरिन्दु रत्नायके मुख्य नायक बने । १ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको ब्याटिङ धर्मराए पनि रत्नायकेले एक छेउ सम्हाल्दै धैर्यपूर्ण ब्याटिङ गरे । उनले ४२ बलमा ७ चौका प्रहार गर्दै अविजित ५३ रनको योगदान दिए भने थरिन्दुले नै विजयी चौका प्रहार गरेका थिए । ब्याटिङअघि बलिङतर्फ पनि उनले २ विकेट लिएका थिए । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले १३ बलमा १ चौका र २ छक्कासहित आक्रामक २३ रन जोडे । कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन तथा आरिफ शेख र इसान पाण्डेले समान १०-१० रनको योगदान दिए । खेलको अन्तिम ओभरमा जितका लागि २ बलमा २ रन आवश्यक रहेको अवस्थामा क्रिजमा आएका दीपक बोहराले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई रोमान्चक जित दिलाए । चितवनका लागि बलिङमा रञ्जित कुमारले २ विकेट लिए भने कमल सिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाहुद्दिन खानले १-१ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डाविड मलानले उत्कृष्ट पारी खेल्दै ५१ बलमा ९ चौका र २ छक्काको मद्दतमा अविजित ७१ रन बनाए । सलाउद्दिन खानले १६ बलमा १८ रन र कमल सिंह ऐरीले १० रन जोडे पनि टोलीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका बलर स्कट कुगलेइनले ३ विकेट लिए भने थरिन्दु रत्नायकेले २ विकेट चटकाए । हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र इसान पाण्डेले १-१ विकेट बाँडे । नेपाल प्रिमियर लिग (एनपीएल) का तीनै संस्करणको फाइनलमा पुग्ने सुदूरपश्चिम रोयल्स एक्लो टोली हो । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायर जितेर फाइनल यात्रा पक्का गरेको हो । अब सुदूरपश्चिमले उपाधिका लागि आउने शनिबार लुम्बिनी लायन्सको सामना गर्नेछ ।
एनपीएल-३ दोस्रो क्वालिफायर : थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

Read Complete Original Article
Published originally on विश्वखबर






