ऊर्जा आक्रमण तीव्र, जेलेन्स्कीको अमेरिकी दूतसँग वार्ता

किएभ।रुस र युक्रेनले एकअर्काका ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भालोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसँग वार्ता गरेका छन्। ट्रम्पले भने जेलेन्स्कीमाथि रुससँगको युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका छन्। रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा दशौँ हजार मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् भने तीन जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। जवाफमा युक्रेनले रुसको सेन्ट पिटर्सबर्गमा युद्ध सुरु भएयताकै ठूलो ड्रोन आक्रमण गरेको जनाएको छ। आक्रमणबाट तेल प्रशोधन केन्द्रसहितका संरचनामा आगलागी भएको र एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन्। ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध लगाउन रोकेको र मस्कोसँग डिजेलसम्बन्धी सम्झौता गरेपछि अमेरिका र युक्रेनबीच मतभेद बढेको छ। ट्रम्पले सामाजिक सञ्जालमा शान्ति वार्तामा ठूलो प्रगति भइरहेको दाबी गर्दै जेलेन्स्की युद्ध अन्त्य गर्न इच्छुक नरहेको आरोप लगाएका थिए। युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दा विश्व बजारमा डिजेल आपूर्तिमा असर परेको उनको भनाइ छ। अमेरिकी दूतहरूसँगको वार्तापछि जेलेन्स्कीले युद्ध अन्त्य गर्न युक्रेन रचनात्मक तथा इमानदार ढङ्गले अघि बढ्न तयार रहेको बताए। उनले अमेरिकी र युरोपेली साझेदारबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गरेका छन्। वार्तामा रुसी क्षेप्यास्त्रबाट रक्षा गर्न आवश्यक अमेरिकी प्याट्रियट वायु रक्षा प्रणालीको आपूर्तिबारे पनि छलफल भएको उनले जानकारी दिए। जेलेन्स्कीले अमेरिकाले औपचारिक रूपमा रुसलाई समर्थन गरेमा त्यो ऐतिहासिक गल्ती हुने बताउँदै ट्रम्पले आफ्नो निर्णय परिवर्तन गर्ने आशा व्यक्त गरेका छन्। अमेरिकाले केही समय रोकिएको गुप्तचर सूचना आदानप्रदान पुनः सुरु गरेकोमा भने उनले धन्यवाद दिए। जेलेन्स्कीका अनुसार रुसले ट्रम्पले प्रस्ताव गरेको ‘ऊर्जा युद्धविराम’ ७६ पटक उल्लंघन गरेको छ। जाडो सुरु हुनुअघि युक्रेनी नागरिकलाई ताप र विद्युत् सेवाबाट वञ्चित गर्ने उद्देश्यले रुसले आक्रमण गरिरहेको उनको आरोप छ। यता, रुसको लेनिनग्राद क्षेत्रका प्रमुख अलेक्जान्डर ड्रोज्डेन्कोले हवाई प्रतिरक्षा प्रणालीले १४४ युक्रेनी ड्रोन खसालेको बताएका छन्। रुसी सरकारी सञ्चारमाध्यमले यसलाई युद्ध सुरु भएयताकै ठूलो आक्रमण बताएका छन्। सेन्ट पिटर्सबर्गमा तेल टर्मिनल, तेल भण्डारण केन्द्र र औद्योगिक गोदाममा लागेको आगो निभाइएको थिएन भने सामाजिक सञ्जाल भिकोन्टाक्टे र खुद्रा व्यापार कम्पनी ओजनले पनि आफ्ना संरचनामा असर परेको जनाएका थिए। क्रेमलिनले युक्रेनी आक्रमणले रुसको युद्ध लक्ष्य परिवर्तन नहुने बताएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको बाँकी भूभाग कब्जा गर्ने लक्ष्य दोहोर्याउँदै आएका छन्। रुसले युक्रेनी सहरमा दैनिक ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै आएको छ भने किएभले आफ्ना आक्रमणलाई रुसी हमलाको जवाफ बताउँदै आएको छ। युक्रेनी आक्रमणले यस वर्षको सुरुतिर रुसमा देशव्यापी इन्धन अभावसमेत निम्त्याएको थियो। –रासस /एएफपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु
काठमाडाैँ। यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा गरेको आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ । आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्। यमनी सेनाका दुई अधिकारीका... ...

सेनाले दुई दिनमै गर्यो आरुघाटको बूढीगण्डकीमा बेलिब्रिज जडान
दुई दिनभित्रै 'बेलिब्रिज' जडान कार्य सम्पन्न गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। ...

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
प्रहरीले ५७४ किलो ८७० ग्राम (पाँच क्विन्टलभन्दा बढी) गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। ...

आरुघाटमा दुई दिनमै बेलिब्रिज जडान
काठमाडौं।नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि ‘बेलिब्रिज’ जडान थालेको ...


