आईजीपी कार्कीमाथि राजीनामाको दबाब परेको भन्ने समाचारप्रति प्रहरीको आपत्ति, भ्रामक सूचना फैलाउनेमाथि कारबाही गर्ने चेतावनी

काठमाडौं, कात्तिक १२ । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजनीतिक दबाब परेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाउँदै अपुष्ट र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। प्रहरीले संगठनको प्रतिष्ठा र व्यावसायिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना फैलाउनेमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजनीतिक दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणी प्रकाशित तथा प्रसारित भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीले पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम र नकारात्मकता सिर्जना हुने, सुरक्षा जोखिम बढ्ने तथा नागरिक सेवामा समर्पित संस्थाप्रतिको विश्वास र संगठनात्मक छविमा असर पर्न सक्ने उल्लेख गरेको छ। विज्ञप्तिमा सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको सत्यता सुनिश्चित गर्न आग्रह गरिएको छ। साथै, पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्दै जिम्मेवार सूचना सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरिएको छ। नेपाल प्रहरीले सार्वजनिक सुरक्षा, शान्ति अमनचयन कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। प्रचलित कानुनबमोजिम जिम्मेवारी पूरा गर्दै संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्ने गतिविधिलाई गम्भीर रूपमा लिइएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार सुरक्षा संगठनलाई कमजोर बनाउने वा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच राखेका केही सीमित व्यक्तिहरूको चालबाजी हुन सक्ने विषयलाई समेत ध्यानमा राखिएको छ। त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले जनाउनु भएकाे छ । नेपाल प्रहरीले कुनै पनि प्रकारको भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, प्रमाणित, आधिकारिक तथा तथ्यमा आधारित सूचनालाई प्राथमिकता दिन र अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न सबैमा आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

बिग्रियो प्रधानमन्त्री र गृहमन्त्रीको सम्बन्ध, यस्तो छ मुख्य कारण
काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङबीच दरार आएको खुलासा भएको छ । प्रधानमन्त्री बालेन निकट एक नेताले यस्तो खुलासा गरेका हुन । जनताटाइम्स डटकमसँगको अनौपचारिक कुराकानीका क्रममा प्रधानमन्त्री निकट स्रोतले बताएअनुसार गृहमन्त्री सुधनले अत्यन्तै आपत्तिजनक काम गर्न प्रस्ताव गरेको भन्दै प्रधानमन्त्री शाह बिच्किनुभएको हो । ‘गृहमन्त्री कसैको इसारामा प्रस्ताव लिएर आएपछि प्रधानमन्त्री रिसाउनु भयो, यस्तो ...

कांग्रेस वरिष्ठ उपसभापति शर्मा भन्छन् - कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने बताएका छन् । ...

साेमपालकाे नाममा एनपीएलकाे पाँचौ अर्धशतक
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पाँचौ अर्धशतक हिर्काउने खेलाडीमा कर्णाली याक्सका कप्तान साेमपाल कामी बनेका छन्। उनले आज विराटनगर किङ्सकाविरूद्ध २७ बलमा अर्धशतक पूरा गरे। जसमा २ छ्क्का र ४ चाैका सामेल रहेका छन्। यसअघि आजै कर्णालीकैविरूद्ध विराटनगरका किङ्सका लाेकेश बमले ३२ बलमा अर्धशतक हिर्काएका थिए। जारी एनपीएलमा लाेकेश अर्धशतक हिर्काउने चाैथाे खेलाडी बने प्रतियोगिताकाे तेस्रो अर्धशतक जनकपुर बाेल्ट्सका ...

