काठमाडौं– इजरायलमा सरकार गठन गर्न आवश्यक समर्थन जुटाउन कठिनाइ भएपछि याशर पार्टीका अध्यक्ष गादी आइसेनकोटले अप्रत्याशित रूपमा गठबन्धन घोषणा गरी एक–दुई दिनभित्रै संसद् नेसेटमा मतदान गराउने रणनीति बनाएका छन् । टाइम्स अफ इजरायलका अनुसार अल्ट्रा–अर्थोडक्स, अरब नेतृत्वका दल र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीसँगको वार्तामा प्रगति नभए पनि आइसेनकोट सरकार गठनको प्रयासमा छन् । सम्भावित साझेदारलाई दलबदल गर्ने समय नदिई मतदान गराउने उनको योजना छ । केही दल तटस्थ बसेमा अल्पमतको सरकार गठन गरी उनी प्रधानमन्त्री बन्न सक्ने आकलन गरिएको छ । आइसेनकोटले लिकुडसँग व्यापक सहभागिताको सरकार गठनबारे छलफल गर्न वार्ता टोलीलाई निर्देशन दिएका थिए । तर बेन्जामिन नेतान्याहुसँग पालैपालो प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै उनले आफू नै एकमात्र प्रधानमन्त्री हुनुपर्ने अडान राखेका छन् । लिकुडले भने अरब दलसँगको सहकार्य अन्त्य गर्न आग्रह गरेको छ । डेमोक्रेटिक पार्टीका अध्यक्ष यायर गोलानले अल्ट्रा–अर्थोडक्स दल सहभागी सरकारको विरोध नगर्ने बताएका छन् । तर नेतान्याहुलाई सत्तामा कायम राख्ने उद्देश्यको एकता सरकारमा सहभागी नहुने उनको भनाइ छ । नेतान्याहुले भने देशको चुनौती सामना गर्न सबै पक्ष समेटिएको राष्ट्रिय एकता सरकार आवश्यक रहेको बताएका छन् । राष्ट्रपति आइज्याक हर्जोगले नोभेम्बर ८ मा आइसेनकोटलाई सरकार गठनका लागि २८ दिनको समय दिएका थिए । १२० सदस्यीय नेसेटमा सरकार बनाउन कम्तीमा ६१ सांसदको समर्थन आवश्यक छ । निर्वाचनमा नेतान्याहुको गठबन्धनले ५३ र आइसेनकोट नेतृत्वको समूहले ४८ सिट जितेका थिए । जोइन्ट द लिस्ट र राम नामका दुई अरब बहुल दलले क्रमशः ११ र आठ सिट जितेका भए पनि आइसेनकोट समूहका नेताहरूले उनीहरूसँग औपचारिक गठबन्धन नगर्ने बताउँदै आएका छन् ।
आइसेनकोटले स्वीकारेनन् इजरायलमा पालैपालो प्रधानमन्त्री बन्ने नेतान्याहुको प्रस्ताव

Read Complete Original Article
Published originally on विश्वखबर






