Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/असोज महिनामा छ अर्बको विद्युत् निर्यात

असोज महिनामा छ अर्बको विद्युत् निर्यात

Share:WhatsAppFacebookX (Twitter)Telegram
असोज महिनामा छ अर्बको विद्युत् निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ झण्डै छ अर्ब अर्थात् पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको प्राधिकरणले जनाएको छ । यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग, भारप्रेषण केन्द्रका अनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार आठ युनिट विद्युत् निर्यात भएको छ । उक्त विद्युत् बिक्रीबाट पाँच अर्ब ९२ करोड ५० लाख बराबरको कारोबार भएको हो । प्राधिकरणका अनुसार असोजमा भारततर्फ विद्युत् निर्यात दुर्ई माध्यमबाट गरिएको थियो । द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार भारतको हरियाणा तथा बिहार राज्यमा विद्युत् बिक्री गरिएको थियो भने बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजार(आइएक्स) को डे-अहेड तथा रियलटाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत् प्रत्येक वर्ष भारत एवं बंगलादेशमा निर्यात गर्दै आएको छ । द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा तथा बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ । गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत् निर्यातबाट चार अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । चालु आर्थिक वर्षको भदौमा यस्तो कारोबार रकम पाँच अर्ब नौ करोड २५ लाख थियो । जसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार रकम ९६ करोड २० लाख रुपैयाँले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताउनुभयो । उहाँका अनुसार असोजमा भारततर्फ निर्यात कुल विद्युत् परिमाणमध्ये करिब दुर्ई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आइएक्समार्फत् बिक्री गरिएको थियो । बंगलादेशतर्फ ४० मेगावाट निर्यात पुनः सुरुनेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षतिपछि निर्यात रोकिएको थियो । बाढीका कारण द्विपक्षीय सम्झौताबमोजिम स्वीकृति प्राप्त जलविद्युत् केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत् निर्यात आंशिकरूपमा प्रभावित भएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । श्रेष्ठले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा परेको असरका बाबजुद अन्य आयोजनाबाट विद्युत् निर्यातलाई निरन्तरता दिन सकिनु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत् व्यापारका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । जसबाट वर्षायाममा उत्पादित अतिरिक्त विद्युत्को बजार व्यवस्थापन तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली-१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको हो । प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षे सम्झौता भएको थियो । सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको छ महिनाको अवधिमा दैनिक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात हुँदै आएको छ । यसैबीच भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यात अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब एक हजार एक सय ७९ मेगावाट पुगेको छ । कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमागत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना-राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ । प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायीरूपमा सञ्चालनमा ल्याएको हो । प्रसारण लाइनको २२० केभीको एउटा सर्किटलाई चार्ज गरी अस्थायीरूपमा सञ्चालनमा ल्याइएको छ । बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, पोखरेबगरस्थित प्रसारण लाइनका चारवटा टावरमा क्षति पुर्‍याएको थियो । तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्णरूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो । प्रसारण लाइन अवरुद्ध भएपछि दाना सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल एक सय ७० मेगावाट विद्युत्् राष्ट्रिय प्रणालीमा प्रवाह हुन सकेको थिएन । लाइन सञ्चालनसँगै उक्त आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पुनः जोडिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्राधिकरणका कर्मचारीको अहोरात्रको प्रयास र निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूसँगको सहकार्यमा इआरएस टावर प्रयोग गरी प्रसारण लाइन अस्थायीरूपमा सञ्चालनमा ल्याउन सफलता मिलेको बताउनुभयो । भौगोलिकरूपमा अत्यन्त जटिल र दुर्गम स्थानमा इआरएस टावर जडान गर्नु चुनौतीपूर्ण भए पनि निरन्तरको प्रयासबाट काम सम्पन्न गर्न सकिएको उहाँले उल्लेख गर्नुभयो । प्राधिकरणको पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काका अनुसार इआरएस टावरमार्फत् प्रसारण लाइन सञ्चालनपछि बाढीले क्षति पुर्‍याएका टावरको स्थायी पुनर्निर्माण प्रक्रिया अगाडि बढाइएको छ । स्थायी टावर निर्माणपछि प्रसारण लाइनको दाना-राहुघाट खण्ड नियमित अवस्थामा सञ्चालनमा आउनेछ । कालीगण्डकी र सहायक नदीमा निर्माण हुने जलविद्युत्् आयोजनाबाट उत्पादित विद्युत् एकीकृत गरी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने उद्देश्यले कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रूपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका-१३ स्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने उक्त प्रसारण लाइनको कुल लम्बाइ करिब एक सय ३० किलोमिटर छ । प्रसारण लाइनले करिब एक हजार दुर्ई सय मेगावाट विद्युत्् प्रवाह गर्न सक्ने क्षमता राख्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे
ताजा खबरJust now

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ। हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दशैंपछि भक्तजनको संख्या बढेको छ । दशैं अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबारदेखि शनिबारसम्म १२ हजार १३० जना भक्तजनले मुक्तिनाथको दर्शन गरेका छन् । प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दशैंको भोलिपल्ट तीन हजार ...

नेपालन्युज
एल क्लासिकोमा रियल विजयी
ताजा खबरJust now

एल क्लासिकोमा रियल विजयी

एमबापेले ४१ र ८७औँ मिनेटमा गोल गरेपछि रियलले शीर्षस्थानको बार्सिलोनासँगको दूरी तीन अंकमा घटाएको छ। ...

कान्तिपुर
कस्तो छ आजको मौसम ?
ताजा खबरJust now

कस्तो छ आजको मौसम ?

काठमाडौं । देशका धेरै भूभागमा आज मौसम सामान्यतया सफा रहनेछ । केही भूभागमा बादल लाग्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार लिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play