Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/असोजमा पाँच अर्ब ९२ करोडको विद्युत् निर्यात

असोजमा पाँच अर्ब ९२ करोडको विद्युत् निर्यात

Share:WhatsAppFacebookX (Twitter)Telegram
असोजमा पाँच अर्ब ९२ करोडको विद्युत् निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ रु पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोज महिनामा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताए । उनका अनुसार असोज महिनामा भारततर्फ निर्यात गरिएको कुल विद्युत् परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आइएक्समार्फत बिक्री गरिएको थियो । यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग ९भार प्रेषण केन्द्र० को तथ्याङ्कअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ । उक्त विद्युत् बिक्रीबाट रु पाँच अर्ब ९२ करोड ५० लाख बराबरको कारोबार भएको हो । असोज महिनामा भारततर्फ विद्युत् निर्यात दुई माध्यमबाट गरिएको थियो । द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार भारतको हरियाणा तथा विहार राज्यमा विद्युत् बिक्री गरिएको थियो भने बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे—अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत् प्रत्येक वर्ष भारत एवम् बङ्गलादेशमा निर्यात गर्दै आएको छ । द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा तथा विहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ । गत वर्ष २०८२ को असोज महिनामा भारततर्फ विद्युत् निर्यातबाट रु चार अर्ब ९६ करोड ३० लाख बराबरको कारोबार भएको थियो । चालु आर्थिक वर्षको भदौमा यस्तो कारोबार रकम रु पाँच अर्ब नौ करोड २५ लाख रहेको थियो । यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार रकम रु ९६ करोड २० लाखले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढेको छ । चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत निर्यातबाट कुल रु १६ अर्ब १५ करोड १३ लाख बराबरको कारोबार भएको छ । बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात गत शुक्रबार, कात्तिक ६ गते साँझदेखि पुनः सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बङ्गलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो । बाढीका कारण द्विपक्षीय सम्झौताबमोजिम स्वीकृति प्राप्त जलविद्युत् केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत् निर्यात आंशिक रूपमा प्रभावित भएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको हो । नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँच वर्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको ६ महिनाको अवधिमा दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात हुँदै आएको छ । यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यात अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब एक हजार १७९ मेगावाट पुगेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

ढल्केवर ट्रमा सेन्टरको टेन्डर प्रक्रिया अघि बढ्यो
ताजा खबरJust now

ढल्केवर ट्रमा सेन्टरको टेन्डर प्रक्रिया अघि बढ्यो

धनुषा।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएका छन्। आइतबार ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिइन् । उनले प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान हुने र त्यसपछि निर्माणको काम अघि बढ्ने बताइन्। “ट्रमा सेन्टर बन्छ ...

नेपालन्युज
ज्यामरुककोटको पुरानो खुडामा कुँदिएका आठ नाम, के होला यसको रहस्य?
ताजा खबरJust now

ज्यामरुककोटको पुरानो खुडामा कुँदिएका आठ नाम, के होला यसको रहस्य?

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ मा ऐतिहासिक ज्यामरुककोट अवस्थित छ । यहीँ खड्गभवानीको कोत पनि छ । यस कोतको इतिहास तत्कालीन पर्वत राज्यसँग जोडिएको छ । यहाँ राजा भर्तिबम मल्लसँग सम्बन्धित अनेकौँ कथा सुनिन्छन् । कोतमा पुराना हतियारहरू पनि छन् । तीमध्ये एउटा खुडाले विशेष ध्यान आकर्षित गर्छ । यो खुडा वि.सं. २००३ मा चढाइएको खुँडामा अंकित मितिले स्पष्ट हुन्छ ...

हिमालय टाइम्स
रुघाखोकीका बिरामी बढे
ताजा खबरJust now

रुघाखोकीका बिरामी बढे

हुम्ला समाचारदाताहुम्ला कात्तिक ८ गते । जिल्लाभरका स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने कडा खाले रुघाखोकीका बिरामीहरु बढेका छन् । मौसममा परिवर्तन आएसँगै चिसो बढ्दै जाँदा मौसमी फ... ...

गोरखापत्र
नेकपाको जागरण अभियानले विगतका निराशाजनक नतिजा उल्टाउला ?
ताजा खबरJust now

नेकपाको जागरण अभियानले विगतका निराशाजनक नतिजा उल्टाउला ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मजबुत संगठन निर्माण तथा पार्टी रूपान्तरण सम्बन्धी ठुल्ठुला राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै आएको छ । तर, हरेक चुनावमा यो पार्टी निरन्तर कमजोर देखिएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play