अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच प्रश्नोत्तर भएपछि…

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो । समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको सत्रमा भारतीय विदेशमन्त्री डा. जयशंकर प्रमुख वक्ता र अर्थमन्त्री डा. वाग्ले अतिथि वक्ताका रुपमा थिए । अर्थमन्त्री वाग्लेले शीतयुद्धको अन्त्यपछि विश्वले व्यापार र आर्थिक क्षेत्रमा बहुपक्षीयतालाई प्राथमिकता दिएको स्मरण गर्दै पछिल्ला वर्षमा त्यसको आधार कमजोर बन्दै गएको उल्लेख गरे । उनले व्यापारिक गुटहरूको विस्तार र विश्वव्यापी विखण्डन बढिरहेको अवस्थामा विपद् प्रतिकार्य, पोषण, ऊर्जा तथा स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय र क्षेत्रीय सहकार्यलाई संस्थागत गर्न सकिने सम्भावनाबारे जिज्ञासा राखे । डा वाग्लेले अन्तरराष्ट्रिय सहकार्यका विभिन्न प्रयासलाई औपचारिक संस्थागत संरचनाले बलियो बनाउनुपर्ने हो वा साझेदार मुलुकबीचको समझदारीका आधारमा अघि बढाउनु उपयुक्त हुने हो भन्ने प्रश्नसमेत गरे । “के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?” अर्थमन्त्री वाग्लेले प्रश्न गर्दै बहुध्रुवीय विश्व व्यवस्थालाई क्षेत्रीय तथा उपक्षेत्रीय सहकार्यले कसरी सहयोग पुर्याउन सक्छ भन्ने विषयमा जयशंकरको धारणा मागे । जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले पछिल्ला दुई दशकमा देशहरू औपचारिक प्रतिबद्धताभन्दा व्यावहारिक सहकार्यतर्फ आकर्षित हुँदै गएको बताए । उनका अनुसार औपचारिक संस्थागत संरचना निर्माण गर्ने क्रममा आपसी वार्ता, प्रशासनिक प्रक्रिया, आर्थिक दायित्व र नियम निर्धारणमै धेरै समय खर्च हुने हुँदा कतिपय अवस्थामा मूल उद्देश्य नै ओझेलमा पर्ने गरेको छ । औपचारिक संरचना आवश्यक पर्ने क्षेत्रमा त्यस्तो व्यवस्था उपयुक्त हुने उल्लेख गर्दै उनले सबै सहकार्यलाई संस्थागत संरचनामा बाँध्न आवश्यक नरहेको धारणा राखे । अन्तरराष्ट्रिय सौर्य गठबन्धनलाई औपचारिक सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले सहकार्यको स्वरूप विषय, साझेदार र प्रतिबद्धताको स्तरअनुसार फरक हुन सक्ने बताए । जयशंकरले ब्रिक्सको उदाहरण दिँदै उक्त समूहको आफ्नै सचिवालय र सबै सदस्यले हस्ताक्षर गरेको लिखित बडापत्र नरहेको उल्लेख गरे । उनले ब्रिक्स र सांघाई सहयोग सङ्गठनको संरचनाबीच रहेको भिन्नतालाई औँल्याउँदै सहकार्यका सबै संयन्त्रको स्वरूप एउटै ढाँचामा अघि बढ्न नसक्ने स्पष्ट पारे । “तपाईंले मलाई प्रवृत्तिबारे सोध्नुभयो भने, म भन्छु, प्रवृत्ति स्पष्ट रूपमा बढी तदर्थ र बढी समान विचारधाराका समूहहरूतर्फ गइरहेको छ,” भारतीय मन्त्री जयशंकरले भने । भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा द्विपक्षीयभन्दा फरक प्रकृतिका त्रिपक्षीय, चतुर्पक्षीय तथा समान विचारधारा भएका मुलुकका करिब ५० वटा समूह निर्माण गरेको प्रसङ्ग उल्लेख गर्दै उनले कम प्रशासनिक भार र परिणाममुखी सहकार्यप्रति देशहरूको रुचि बढिरहेको बताए । यसअघि अर्थमन्त्री वाग्लेले नेपालले भारतबाट प्राप्त गरेको विपद् प्रतिकार्य सहयोगको प्रशंसा गरेका थिए । उनले सन् २०१५ को भूकम्प र हालै रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद्का बेला भारतले विपद् आएको केही घण्टाभित्रै सहयोग उपलब्ध गराएको स्मरण गर्दै नेपाल त्यसप्रति कृतज्ञ रहेको बताए । विश्वव्यापी तनाव, आर्थिक विखण्डन र ठूला शक्तिहरूको बदलिँदो भूमिकाका बीच अन्तर्राष्ट्रिय सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित उक्त संवादले बहुपक्षीयता, क्षेत्रीय साझेदारी र परिणाममुखी कूटनीतिबारे दुई नेताबीच विचार आदानप्रदानको अवसर प्रदान गरेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

फ्रान्सेली अर्थतन्त्रमा ‘ठुलो संकट’ निम्तिने संकेत
पेरिस । फ्रान्सेली सरकारले यसअघि नै राजनीतिक अस्थिरताको सामना गरिरहेको थियो । सन् २०२४ जुनमा राष्ट्रिय सभाको विघटन भएयता हरेक वर्ष बजेट पारित गर्न समस्या हुँदै आएको छ । यसैबिच पश्चिम... ...

आणविक सम्झौतामा म्याक्रोनको भनाइप्रति इरानको आपत्ति
तेहरान।इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको आणविक कार्यक्रमसम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै आफ्नो भनाइमा एकरूपता कायम राख्न आग्रह गरेका छन्। उनले म्याक्रोनको पछिल्लो भनाइ सन् २०१५ को आणविक सम्झौताप्रतिको तत्कालीन अडानसँग बाझिएको बताएका छन्। सामाजिक सञ्जाल एक्समा अराघचीले सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक सम्झौताबाट बाहिरिनुअघि म्याक्रोनले अमेरिकी कङ्ग्रेसमा फ्रान्स सम्झौताबाट पछि नहट्ने बताएको स्मरण गराए। ...

इरानको आणविक कार्यक्रमबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति
• इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति म्याक्रोनको आणविक कार्यक्रमसम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै एकरूपता कायम राख्न आग्रह गरेका छन्। • उनले म्याक्रोनको पछिल्लो भनाइ २०१५ को आणविक सम्झौतासँग बाझिएको र इरानमा कुनै पनि आणविक गतिविधिको विरोध गर्ने दाबीप्रति प्रश्न उठाएका छन्। • अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको आर्थिक स्रोतमा दबाब बढाउने नीति जारी रहने बताएका छन्। ...

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने
काठमाडौं । पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० ...


