चिनियाँ जनमुक्ति सेनासँग निकट सम्बन्ध रहेको एक चिनियाँ विश्वविद्यालयले अमेरिकी निर्यात प्रतिबन्धको सूचीमा रहे पनि गत महिना एनभिडियाका शक्तिशाली एच२०० कृत्रिम बुद्धिमता चिप खरिद गरेको छ। खरिदसम्बन्धी अभिलेखले देखाएअनुसार यस घटनाले चीनको उन्नत प्रविधिमा पहुँच रोक्ने अमेरिकी प्रयासमा रहेका कमजोरी उजागर गरेको छ। एनभिडिया र यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसेन हुआङमाथि चीनमा एआई चिप बिक्रीसम्बन्धी प्रतिबन्ध खुकुलो बनाउन गरेको पैरवीका कारण वासिङ्टनमा दबाब बढिरहेका बेला यो विवरण सार्वजनिक भएको हो। यसैबीच, चिनियाँ गुप्तचर निकायको एउटा जासुसी अभियानमा हुआङलाई निशाना बनाइएको आरोपसम्बन्धी समाचार पनि सार्वजनिक भएको छ। हुआङले चीनमा अमेरिकी चिप बिक्री जारी राख्दा अमेरिकाको प्राविधिक नेतृत्व कायम रहने र चिनियाँ ग्राहकहरू अमेरिकी प्रविधिमै निर्भर रहने तर्क गर्दै आएका छन्। तर केही अमेरिकी सांसदहरूले एनभिडियाका सबैभन्दा शक्तिशाली एआई चिपमा चीनको पहुँचले हतियार डिजाइन, गुप्तचर विश्लेषण र सैन्य आधुनिकीकरणका लागि एआई प्रणाली विकास गर्ने चीनको क्षमतालाई तीव्र बनाउन सक्ने बताएका छन्। अमेरिकी कंग्रेसका डेमोक्र्याट र रिपब्लिकन दुवै दलका सांसदहरूले उन्नत एआई चिपमा चीनको पहुँचमाथि थप कडा नियन्त्रण गर्न आग्रह गरेका छन्। उनीहरूले चिपको पहिचान तथा निगरानी गर्ने व्यवस्था र निर्यातमाथि कंग्रेसको थप निगरानीजस्ता उपाय प्रस्ताव गरेका छन्। चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आरोप लागेका एक व्यक्तिसँग हुआङको सम्पर्क भएको विषयमा जानकारी लिन रिपब्लिकन पार्टीका तीन जना कंग्रेसनल समितिका अध्यक्षहरूले नोभेम्बर १८ मा हुआङसँग छलफल गर्न अनुरोध गरेका छन्। विश्वविद्यालयको वेबसाइटमा अक्टोबर २१ मा प्रकाशित खरिद अभिलेखअनुसार नर्थवेस्टर्न पोलिटेक्निकल विश्वविद्यालयले गत महिना ८ लाख ७४ हजार ७०० युआन (१ लाख २३ हजार अमेरिकी डलर) मा दुईवटा एच२०० चिप खरिद गरेको थियो। रोयटर्सका अनुसार नर्थवेस्टर्न पोलिटेक्निकल विश्वविद्यालय अमेरिकी प्रतिबन्धमा परेको चीनका विश्वविद्यालयहरूको समूह ‘सेभेन सन्स अफ नेसनल डिफेन्स’ को सदस्य हो। यस समूहका विश्वविद्यालयहरूले चीन सरकारका लागि रक्षा क्षेत्रसँग सम्बन्धित अनुसन्धान गर्दै आएका छन्। खरिद अभिलेखअनुसार ती चिप एनभिडियाबाट सीधै नभई सान्सी बोसुआन नेटवर्क टेक्नोलोजी नामक कम्पनीमार्फत विश्वविद्यालयको व्यवस्थापन संकायका लागि खरिद गरिएका थिए। एच२०० एनभिडियाका सबैभन्दा शक्तिशाली चिपमध्ये एक हो। यो उन्नत एआई प्रणालीलाई तालिम दिन र सञ्चालन गर्न प्रयोग गरिन्छ। यस चिपको निर्यातका लागि अमेरिकी सरकारको अनुमति आवश्यक हुन्छ। नर्थवेस्टर्न पोलिटेक्निकलजस्ता प्रतिबन्धित संस्थालाई यस्तो अनुमति सामान्यतया दिइँदैन। खरिद अभिलेखअनुसार नर्थवेस्टर्न पोलिटेक्निकल विश्वविद्यालयले यस वर्ष चिनियाँ कम्पनीहरूसँग पाँचवटा सम्झौता गरी भाडामा कम्प्युटिङ क्षमता लिने व्यवस्था पनि गरेको थियो। ती सम्झौतामार्फत विश्वविद्यालयले एच२०० र एनभिडियाका अन्य शक्तिशाली एआई प्रोसेसर प्रयोग गर्ने पहुँच पाएको थियो। रोयटर्सले यी चिप खरिद र कम्प्युटिङ सेवा भाडामा लिने सम्झौताबारे पहिलोपटक समाचार सार्वजनिक गरेको हो। नर्थवेस्टर्न पोलिटेक्निकल विश्वविद्यालय, एनभिडिया र निर्यात नियन्त्रणको जिम्मेवारी सम्हाल्ने अमेरिकी वाणिज्य मन्त्रालयअन्तर्गतको उद्योग तथा सुरक्षा ब्युरोले यस विषयमा टिप्पणी गर्न गरिएको अनुरोधको जवाफ दिएनन्। रोयटर्सले सान्सी बोसुआन नेटवर्क टेक्नोलोजी कम्पनीको सम्पर्क विवरण पनि पत्ता लगाउन सकेन। चीनको उत्तरपश्चिमी सहर सियानमा रहेको नर्थवेस्टर्न पोलिटेक्निकल विश्वविद्यालयले सैन्य विमान, क्षेप्यास्त्र र भूउपग्रहसँग सम्बन्धित अनुसन्धान गर्दै आएको छ। अमेरिकी वाणिज्य मन्त्रालयले क्षेप्यास्त्र प्रसार गतिविधि र सैन्य अनुसन्धानमा संलग्न रहेको आरोप लगाउँदै सन् २००१ मा यस विश्वविद्यालयलाई ‘इन्टिटी लिस्ट’ भनिने व्यापार प्रतिबन्ध सूचीमा राखेको थियो। सन् २०१९ मा प्रतिबन्ध थप कडा बनाउँदै विश्वविद्यालयलाई अमेरिकी नियन्त्रणमा रहेका प्रविधि निर्यात गर्न दिइने अनुमतिमा अधिकांश अवस्थामा अस्वीकार गर्ने नीति लागू गरिएको थियो। नर्थवेस्टर्न पोलिटेक्निकल विश्वविद्यालयका यी खरिदले सैन्य क्षेत्रसँग सम्बन्धित चिनियाँ संस्थाहरूले घरेलु आपूर्तिकर्तामार्फत अमेरिकी एआई कम्प्युटिङ क्षमता प्राप्त गरिरहेको देखाउँछन्। उनीहरूले चिप सीधै खरिद गर्ने वा त्यस्ता चिप जडित सर्भरको पहुँच भाडामा लिने गरेका छन्। रोयटर्सले यस वर्षका २६ वटा चिनियाँ सरकारी खरिद तथा कम्पनीसम्बन्धी अभिलेखको समीक्षा गर्दा विश्वविद्यालय र अनुसन्धान संस्थाहरूले घरेलु आपूर्तिकर्तामार्फत अमेरिकी प्रतिबन्धमा रहेका एनभिडियाका चिप खरिद गरेको वा त्यस्ता चिप प्रयोग हुने एनभिडिया प्रविधिमा आधारित कम्प्युटिङ सेवा भाडामा लिएको पाएको छ। तीमध्ये केही संस्थाको चीनको रक्षा उद्योग वा सैन्य अनुसन्धानसँग निकट सम्बन्ध रहेको पाइएको छ। The post अमेरिकी प्रतिबन्धका बाबजुद चिनियाँ विश्वविद्यालयले किन्यो एनभिडियाका एच२०० चिप appeared first on Technology Khabar.
अमेरिकी प्रतिबन्धका बाबजुद चिनियाँ विश्वविद्यालयले किन्यो एनभिडियाका एच२०० चिप

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर





