काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औं दिनमा प्रवेश गरेको छ । असोज ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ ललितपुरको ग्वार्कोमा अवस्थित गुण सिनेमामा प्रदर्शनको ५१औं दिन मानाएको हो । बक्सअफिसमा औसत देखिएको ‘बाः एक योद्धा’लाई पब्लिक रिभ्यू राम्रो मिल्दा यसपछिका कतिपय सिनेमा हलबाट बाहिरिसक्दा पनि यो भने केही हलमा अझै प्रदर्शनरत छ । हरि लम्सालको निर्देशनमा बनेको ‘बाः एक योद्धा’ले पछिल्लो समयसम्म तीन करोड ५६ लाख आठ हजार १८१ रुपैयाँ ग्रसकलेक्सन गरेको बक्सअफिस रिपोर्ट छ । हरि लम्सालको डेब्यू निर्देशनमा बनेको चलचित्र नै ५१औं दिन मनाउन सफल भएको हो । पारिवारिक भावना, बुबाको त्याग र संघर्षलाई मुख्य विषय बनाएको यो चलचित्रले सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने समर्पण तथा वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने चुनौतीलाई कथामा प्रस्तुत गरेको छ । चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा लगायतका कलाकारको अभिनय छ । हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै छ । चलचित्रका निर्माता वसन्त लम्साल हुनुहुन्छ भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहनुभएको छ । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह-निर्माताका रूपमा हुनुहुन्छ ।
५१औं दिनमा ‘बाः एक योद्धा’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






