काठमाडौं । कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि भन्ने नाराका साथ हुन गइरहेको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३ अर्थात ‘एग्री मेक’को सपोर्टिङ पार्टनरमा ग्लोबल आइएमई बैंक र ओविफर्ट थपिएका छन । आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा दुवै संस्थाले सहकार्य गर्ने भएका हुन् । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)ले सामाजिक सञ्जालमार्फत दुवै संस्थालाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै प्रदर्शनीको स्पोर्टिङ पार्टनरका रूपमा स्वागत गरेको छ । नामियाले ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिँदै प्रदर्शनीमा सहयोग र सहकार्यका लागि ग्लोबल आइएमई बैंकप्रति पनि आभार व्यक्त गरेको छ । त्यस्तै, ओविफर्टलाई पनि धन्यवाद दिँदै नामियाले कृषि क्षेत्रको विकास, आधुनिकीकरण तथा उन्नत प्रविधिसहित जैविक मल प्रवर्द्धनमा कम्पनीले पुर्याउँदै आएको योगदानको उच्च कदर गरेको जनाएको छ । प्रदर्शनीमा २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधि प्रदर्शन गरिने र प्रदर्शनीको तयारी तीव्र रूपमा भइरहेको नामियाका अध्यक्ष कृष्ण शर्माले बताउनुभएको छ । उहाँका अनुसार प्रदर्शनीमा करिब ७० प्रदर्शकको सहभागिता रहनेछ भने एकसय ५० भन्दा बढी स्टलमार्फत आधुनिक कृषि यन्त्र तथा प्रविधि प्रदर्शन गरिनेछ । स्वदेशी कृषि यन्त्र तथा उपकरण उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब ३० वटा स्टल स्वदेशी उत्पादक तथा संस्थालाई निःशुल्क उपलब्ध गराइएको छ भने प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ । आयोजकका अनुसार प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, बाली भित्र्याएपछिको व्यवस्थापन, कृषि उपज प्रशोधन तथा बजारीकरण, शीतभण्डार, प्राङ्गारिक मल, जैविक मल, थोपा सिँचाइ, नर्सरी र बीउबिजनसँग सम्बन्धित आधुनिक यन्त्र, उपकरण तथा प्रविधि राखिनेछन् । स्वदेशी तथा विदेशी बीउबिजन उत्पादक, कृषि सामग्री बिक्रेता तथा कृषि र पशुपन्छीसम्बन्धी सेवाप्रदायक संस्थाको समेत सहभागिता रहनेछ । प्रदर्शनीमा किसान, कृषि उद्यमी, व्यवसायी, सहकारी, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी संस्था र नीति निर्माताले कृषि यान्त्रीकरणसम्बन्धी प्रविधि प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर पाउनेछन् । प्रदर्शनीको आयोजना कृषि विभाग अन्तर्गतको राष्ट्रिय कृषि इञ्जिनियरिङ तथा यान्त्रिकरण प्रवर्द्धन केन्द्र नामियाले संयुक्त रूपमा गर्नेछन् । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) सहआयोजक रहेका छन् भने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम प्रदर्शनीको प्रवर्द्धक रहेको छ । प्रदर्शनीको मुख्य प्रायोजक एसकेटी नेपाल प्रालि रहेको छ । युरोपेली संघ (इयु) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको संयुक्त आर्थिक सहयोगमा जर्मन विकास सहयोग संस्था (जिआइजेड)द्वारा सञ्चालित ग्रेप-२ परियोजना एसोसिएट पार्टनरका रूपमा रहेको छ ।
‘एग्री मेक’को थप सपोर्टिङ पार्टनरमा ग्लोबल र ओविफर्ट

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






