काठमाडौं । कनेक्टिङ फर प्रोस्पेरेटी भन्ने नाराका साथ क्यानडाको टोरन्टोमा आगामी २०२७ अप्रिल २४ र २५ मा हुने १० औँ क्षेत्रीय सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनको तयारीको नेतृत्व अमेरिकाज क्षेत्रीय संयोजक (आरसी) भुवन खरेलको टिमले गरिरहेको छ । सम्मेलनलाई केवल औपचारिक भेला वा नियमित संस्थागत कार्यक्रमका रूपमा नभई विश्वभर छरिएका नेपालीको पुँजी, ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपालको समृद्धिसँग जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने खरेलको तयारी छ । खरेलले अमेरिकाज क्षेत्रसहित विश्वभर रहेका एनआरएनए अभियन्ता, नेपाली समुदाय, व्यवसायी, विज्ञ, युवा तथा दोस्रो पुस्ताका नेपालीलाई सम्मेलनमा सक्रिय सहभागिताका लागि आह्वान गर्नुभएको छ । उहाँका अनुसार सम्मेलनको सफलता सहभागिताको संख्यामा मात्र नभई त्यसबाट उठाइने विषय र त्यसको कार्यान्वयनमा निर्भर हुनेछ । सम्मेलनका लागि मूल तयारी समिति गठन भइसकेको छ । आर्थिक व्यवस्थापन, सूचना प्रविधि, प्रचारप्रसार, अतिथि सत्कार तथा व्यवस्थापन लगायतका क्षेत्रमा छुट्टाछुट्टै जिम्मेवारी बाँडफाँट गरेर तयारी अघि बढाइएको छ । आयोजकले सम्मेलनमा अमेरिकाज क्षेत्रका राष्ट्रिय समन्वय परिषद्, एनआरएनए अभियन्ता, व्यवसायी, विज्ञ तथा नेपाली समुदायको उल्लेख्य सहभागिता गराउने तयारी गरेको छ । खरेलको प्राथमिकतामा सम्मेलनको सबैभन्दा महत्त्वपूर्ण विषय नेपालको आर्थिक समृद्धिसँग प्रवासी नेपालीको प्रत्यक्ष सहभागिता हो । विदेशमा रहेका नेपालीको पुँजी नेपालमा भित्र््याउने, लगानीको वातावरण सुधार गर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने र त्यसबाट रोजगारी सिर्जना गर्ने विषयलाई सम्मेलनको मूल बहसमा ल्याउने तयारी गरिएको छ । सम्मेलनमा करिब १० करोड अमेरिकी डलर बराबरको लगानी तथा सहकार्यको सम्भावनालाई समेत प्राथमिकतामा राखिने भएको छ । गैरआवासीय नेपालीले नेपालमा लगानी गर्न खोज्दा देखिने नीतिगत, प्रशासनिक तथा कानुनी जटिलता पहिचान गर्दै समाधानका लागि सरकार र निजी क्षेत्रसँग संवाद गर्ने तयारी छ । खरेलको दृष्टिमा प्रवासी नेपालीलाई केवल रेमिट्यान्स पठाउने समुदायका रूपमा हेर्ने परम्परागत सोच बदलिनुपर्छ । उनीहरू लगानीकर्ता, उद्यमी, प्राविधिक, विज्ञ र विकास साझेदारका रूपमा नेपालसँग जोडिनुपर्ने उहाँको धारणा छ । त्यसैगरी, नेपालमा गैरआवासीय नेपालीको लगानी विस्तारका लागि जलविद्युत्, कृषि, पर्यटन, प्रविधि तथा अन्य उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखिनेछ । विशेषगरी जलविद्युत् क्षेत्रमा प्रवासी नेपालीको सामूहिक लगानी विस्तार गर्न सकिने सम्भावनाबारे सम्मेलनमा बहस गर्ने तयारी छ । कृषिमा समेत प्रवासी नेपालीको लगानी र प्रविधि भित्र्याउने विषयलाई खरेलले महत्त्व दिनुभएको छ । गुल्मीको आँपचौरमा सुरु गरिएको कफी खेती विस्तार गर्दै उत्पादन, प्रशोधन, ब्राण्डिङ र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने अवधारणालाई सम्मेलनमा थप बहसको विषय बनाउने तयारी छ । स्थानीय उत्पादनलाई प्रवासी नेपालीको बजार सञ्जालसँग जोडेर कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्न सकिने आयोजकको विश्वास छ ।
एनआरएनए : अप्रिलमा अमेरिकाज सम्मेलन हुने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






